|

विराटनगर : तथ्यांकलाई विश्लेषण गर्ने हो भने ७ प्रदेशमध्ये कृषि, पर्यटन, शिक्षा, उद्योग, जलस्रोत, जातीय र सांस्कृतिक विविधता, सामाजिक बनोट र पर्यावरणीय हिसाबले प्रदेश नम्बर १ सबैभन्दा अगाडि छ।

यहाँको शिक्षाको स्तर उच्च छ। पर्यटनको अपार सम्भावना छ र कृषिको आधुनिकीकरण गर्ने हो भने झापा, मोरङ र सुनसरीले मात्रै यो प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्छ। यस वर्ष मात्रै १ नम्बर प्रदेशमा १२ लाख ४० हजार मेट्रिक टन धान फलेको छ।

प्राकृतिक स्रोत साधनका हिसाबले सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो स्थान झापाको कचनकवल पनि यही प्रदेशमा पर्दछ। धार्मिक हिसाबले १ नम्बर प्रदेशमा पाथीभरा, उत्तर–पश्चिममा रहेको हलेंसी महादेव र चुरे–तराइ क्षेत्रमा रहेको बराहक्षेत्र, पिण्डेश्वरीलगायतका हिन्दु धर्मावलम्बीको तीर्थस्थल छन्।

मधेस, पहाड र हिमालसम्म सडक सञ्जाल पुगेको यस प्रदेशमा उत्तर दक्षिणका ठूला व्यापारिक नाकाका कारण अझै व्यापक बनेको छ। चीनको नाका किमाथांका, ओलांचुङ्गोला तथा दक्षिणमा पशुपतिनगर, काँकडभिट्टा, जोगवनी तथा भण्टाबारी नाका चर्चित नाका हुन्। उत्तरका नाका चालू अवस्थामा नभए पनि दक्षिणका नाका अहिले चालू छन्। चालू अवस्थामा रहेका यी नाकाबाट अहिले पनि दैनिक १२ करोड रुपैयाँ बराबरको राजस्व उठिरहेको छ।

त्यति मात्रै होइन १ नम्बर प्रदेशबाट त्रिदेशीय व्यापारका लागि भुटानसँग पनि पर्याप्त व्यापारको सम्भावना छ। त्यसका लागि सबैभन्दा छोटो दूरीको बाटो पनि काँकडभिट्टा नाका उपयुक्त छ। 

१ नम्बर प्रदेशमा मोरङको विराटनगर, झापाको भद्रपुर, ताप्लेजुङको सुकेटार, भोजपुरको टक्सार, संखुवासभामा तुम्लिङटार, खोटाङमा लामिडाँडा, खाँडीडाँडा र खामखर्क, सोलुखुम्बुमा नाम्चेसहित १३ वटा विमानस्थल छन्। काठमाडौं र विराटनगरबाट यी सबै ठाउँमा हवाइ उडान भइरहेको छ। विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने तयारी भइरहेको छ।

यसका साथै पूर्व–पश्चिम राजमार्ग, वीपी कोइराला राजमार्ग र निर्माणाधीन मध्य पहाडी राजमार्ग राजधानी पुग्नका लागि सडक हुन्। चर्चामा रहेको कोसी नदीको हाइड्याम र निर्माणको सुरसार भइरहेको अरुण तेस्रो जलविद्युत आयोजनाले प्रदेश नम्बर १ लाई पानी र विजुलीमा झन् सशक्त बनाउने देखिन्छ। त्यसका साथै पूर्वमा उत्पादित अलैंचीले विश्व बजारमा स्थान बनाएको छ। इलाममा उत्पादित चिया पनि विदेश निर्यात भइरहेको छ। धनकुटाको तरकारी र सुन्लताले धेरैको ध्यान खिचेको छ।

नेपालकै पहिलो उद्योग विराटनगर जुटमिल स्थापना भएको प्रदेश नम्बर १ को मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै सानाठूला ५ सय भन्दा बढी उद्योग छ। मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याउने प्रमुख १० उद्योगहरु पनि प्रदेश १ मै छन्। यहाँ ८ सय ५० देखि ९ सय उद्योग र कलकारखाना छन्। प्रदेश नम्बर १ मा पूर्वाञ्चल विश्वविद्यालय र तीन वटा मेडिकल कलेज सञ्चालनमा छन्। कावेली करिडोर अन्तर्गत इलाम, पाँचथर र ताप्लेजुङमा मात्रै १० वटा जलविद्युत आयोजना चालु अवस्थामा छ। ८६.९७ मेगावाट कुल क्षमताका यी १० वटै जलविद्युत आयोजनाबाट हाल ३१ मेगावाट विद्युत उत्पादन भइरहेको छ। मोरङ–सुनसरी सिञ्चाई आयोजनाको दुईवटा टर्बाइनबाट छुट्टै ३.२ मेगावाट विद्युत उत्पादन हुन्छ।

पहाड हिमालका ११ वटा र तराइ मधेसका ३ वटा जिल्ला समेटिएको प्रदेश नं. १ सांस्कृतिक विविधताको थलो पनि हो। ऐतिहासिक रुपमा माझकिरात, पल्लो किराँत र कोच क्षेत्रलाई समेटिएको यो प्रदेशको भूगोलमा सबै जाति र धार्मिक समुदायको बसोबास छ। ऐतिहासिक जातजाति तथा २२ से २४ राज्यको इतिहास रहेको १ नम्बर प्रदेशका साना तिना ऐतिहासिक गढी तथा दरबारहरु मनग्ये छन्।

प्रदेशमा भौगोलिक, हावापानी, सभ्यता, संस्कृति पनि विविधता छ। यहाँ प्राकृतिक स्रोतका रुपमा सप्तकोशी जलाधार क्षेत्र र यसबाट २० हजार मेगावाटको विद्युत उत्पादन क्षमता, विश्वको सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरमाथिका ५ हिमालहरु मकालु, लोत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल छ।

सगरमाथा राष्ट्रिय निकुञ्ज, कन्चनजंघा संरक्षण क्षेत्र र कोसीटप्पु वन्यजन्तु आरक्ष छ। धनकुटाको त्रिवेणीबाट सुरु भएर चिनको तिब्बतसम्म पुगेको एसियाकै लामो अविच्छेदित पर्वत र यही पर्वत श्रृङ्खलामा गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्र तथा जैविक विविधताले भरिपूर्ण वन जंगल पर्छ। तथ्यांक अनुसार नेपालको कुल निर्यात व्यापारको ४१.४ प्रतिशत हिस्सा पूर्वाञ्चल क्षेत्रको छ।

क्षेत्रीय कृषि निर्देशनालयका सूचना अधिकृत राजेन्द्र उप्रेतीले कृषि क्षेत्रको आधुनीकीकरण गर्ने हो भने यहाँको उत्पादनले १ नम्बर प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने बताए। पर्यटन व्यवसायी भविश श्रेष्ठले पूर्वको पर्यटनले पोखरा पुग्नुपर्ने या काठमाडौं मात्रै पर्यटनको केन्द्र भन्ने विषय ओझेलमा पर्दै गएको दाबी गरे। ‘पूर्वमा पर्यटनको राम्रो सम्भावना छ, यहाँ पर्याप्त पर्यटकीय क्षेत्र छन्, राष्ट्रिय निकुञ्ज छन्, सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण र मकालु हिमाल पनि यही प्रदेशमा छ,’ श्रेष्ठले भने, ‘जाँगर चलाएर काम गर्ने हो भने संसारलाई नेपालको १ नम्बर प्रदेशले ध्यान आकर्षण गर्नसक्छ।’

यस्तै उर्जा क्षेत्रका जानकार राकेश सुरानाका अनुसार यहाँबाट मात्रै ८ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमताका जलाशय तथा जलस्रोत रहेका छन्। ‘तमोर करिडोर, अरुण, बरुण नदी तथा साना ठूला नदीहरु पर्याप्त छन्,’ सुरानाले भने, ‘यहाँको उत्पादनले भारत र बंगलादेश झिलिमिली बनाउन सक्छौं, विद्युत्को विक्रीबाट हामी समृद्ध बन्नसक्छौं।’

यता उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले त्रिदेशीय नाकाको विकास र विस्तार गर्ने हो भने पूर्वमा उद्योगधन्दा अझै फस्टाउने र राष्ट्रको आम्दानीलाई अझै बढाउनसक्ने दाबी गरे। ‘किमाथांका विराटनगर र जोगबनी नाकाको विस्तार गर्ने र कोलकत्तासँग जोड्ने हो भने यो प्रदेशको कायापलट हुनसक्छ,’ उपाध्यायले भने, ‘नेपालकै सबैभन्दा उत्कृष्ट र समृद्ध प्रदेश अहिले पनि छ र पछि अझै धेरै विकास गर्न सकिन्छ।’

पूर्वमा पर्यटकीय क्षेत्रको विकासका लागि प्रयास भइरहेका छन्। धरानमा प्याराग्लाइडिङ सुरु भएको छ भने तमोर तथा कोशीमा र्‍याफ्टिङ पनि सुरु भएको छ। यस्तै इलामको माइ पोखरी, संखुवासभाको सभापोखरी, भोजपुरको साल्पा पोखरी जस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् भने तराइमा रहका धेरै सिमसार क्षेत्रले पर्यावरणको सुरक्षामा अझै सशक्त बनाएका छन्। यसर्थ सबै हिसाबले १ नम्बर प्रदेश समृद्ध रहेको निश्कर्षमा पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.