|

अछाम : मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते भएका अछामका पत्रकार तपेन्द्र धामीको उपचारका लागि विभिन्न व्यक्ति र संघसंस्थाले सहयोग गरेका छन्। सोमबार उनको उपचारका लागि १५ हजार रुपैयाँ सहयोग जुटेको छ। ओम जनजागरण नेपाल कैलाली शाखाले १० हजार र धनगढीस्थित ऐश्वर्या बहुमुखी क्याम्पसका स्ववियु सभापति कमल बमले ५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

मंसिर २३ गते अछामको विनायकमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका पत्रकार महासंघ अछामका सहसचिव धामीको नेपालगञ्जस्थित वेस्टर्न हस्पिटलमा उपचार भइरहेको छ। आर्थिक अभावका कारण उपचार खर्च नपुगेपछि परिवारले सहयोगको अपिल गरेको थियो। े

धामीको उपचारका लागि नेपाल पत्रकार महासंघले 'पत्रकार धामी बचाउ अभियान'समेत सञ्चालन गरेको छ। उक्त अभियानमा पत्रकार महासंघको केन्द्रीय समितिले १५ हजार र जिल्लाबाट १५ हजार गरी ३० हजार रुपैयाँ र पञ्चदेवल विनायक नगरपालिकाबाट ४० हजार रुपैयाँ सहयोग जुटेको पत्रकार महासंघ अछामका कार्यवाहक अध्यक्ष खम्म खत्रीले जानकारी दिए।

दुर्घटनामा दुईवटै खुट्टा र एउटा हात भाँचिएका पत्रकार धामीको अपरेसनका लागि ४ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालको भनाइ छ। घाइते पत्रकार धामीका परिवारका अनुसार उपचारमा अहिलेसम्म साढे २ लाख रुपैयाँ खर्च भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.