|

सिन्धुपाल्चोक : नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले सिफारिस गरेको सामानुपातिकतर्फका प्रदेशसभा सदस्यमा सिन्धुपाल्चोकबाट एमालेकी ईन्द्रमाया गुरुङ मात्र परेकी छन्। 

३ नम्बर प्रदेशमा सिन्धुपाल्चोकबाट समानुपातिकमा सिफारिस भएकी गुरुङ एक्ली सांसद हुन्। 

३ नम्बर प्रदेशसभामा एमालेबाट बेलीमैया घले, जुनेली श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ, ईन्द्रमाया गुरुङ, सीता लामा, आशमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली, पार्वती सिलवाल र मैना अछामी गरी १६ जना सिफारिस गरेको छ।

कांग्रेसबाट मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोँछे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा र कल्पना नेपाली १४ जना सिफारिस गरेको छ। यस्तै, माओवादी केन्द्रबाट दिनेश महर्जन, आङदेण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाल गरी ८ जनाको नाम सिफारिस गरेको छ। ३ नम्बर प्रदेशमा प्रदेशसभामा वाम गठबन्धनको २४ सिट र कांग्रेसको १४ सिट भएको छ।

प्रत्यक्ष प्रदेशसभामा एमाले दुई स्थानमा विजयी हुँदा माओवादीले एक सिट जितेको थियो। एक सिट कांग्रेसले जितेको थियो। यस्तै, प्रतिनिधिसभाका प्रत्यक्षतर्फ माओवादीले एक र एमालेले एक सिट जितेका थिए। समानुपातिकको भने दलहरूले टुंगो लगाएका छैनन्।

यस्तो छ ईन्द्रमायाको पृष्ठभूमि
वि. सं. २०२९ जेठ २४ गते हेलम्बु गाउँपालिका– ५ गोल्फु भञ्ज्याङ (साविक महाँकाल गाविस)मा हर्कमाया गुरुङ रस्व. टलकबहादुर गुरुङको कोखबाट उनी जन्मिएकी हुन्।

सामान्य परिवारमा जन्मिएकी गुरुङले एक्सन एड नेपालबाट प्रौढ कक्षा सुरु गरी श्री सरस्वती मावि ग्याल्थुममा कक्षा ७ बाट औपचारिक शिक्षा अध्ययन, जिरी प्राविधिक शिक्षालयबाट स्वास्थ्यसम्बन्धी तीन वर्षे अनमी कोर्ष पूरा गरेको र २०५१ सालमा श्री ईन्द्रेश्वरी मावि मेलम्चीबाट एसएलसी पास गरेकी छन् भने सोही विद्यालयबाट र स्नातक ईन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीबाट उत्तीर्ण गरेकी छन्। औपचारिक अध्ययनको रूपमा भने उनले बीएडसम्म अध्ययन गरेकी छन्।

राजनीतिक पृष्ठभूमि 
२०४३ सालदेखि सिन्धुपाल्चोकको महाँकाल– ६ गोल्फु भञ्ज्याङ (हाल हेलम्बु गाउँपालिका– ५) मा हिमालय महिला ज्योति पुस्तकालय खोली त्यसको सचिव पदमा रही काम गर्दै गर्दा महिलाहरूको समस्यालाई उजागर गर्दै बेचबिखनमा परेका महिलाहरूको समस्यालाई उठान गर्दै पञ्चायती व्यवस्थामा शासकहरूले महिलाहरूप्रति ज्यादती गरेको विरुद्धमा आवाज बुलन्द गर्नेमा उनको महत्त्वपूर्ण देन छ। 

०४५ सालमा अनेरास्ववियुको संगठनमा आवद्ध रही प्रारम्भिक कमिटी सदस्यबाट इलाका सदस्य र जिल्ला कमिटीको सहसचिव पदमा रही काम गरेको, जिरी प्राविधिक शिक्षालयमा स्ववियु उपाध्यक्ष पदमा रही काम गरेकोसमेत उनीसँग अनुभव छ। उनले ०४७ कार्तिक २७ गते पार्टीको संगठित सदस्यता प्राप्त गरेकी हुन्। 

त्यसैगरी अखिल नेपाल महिला संघको गाउँ कमिटीदेखि क्षेत्रीय कमिटीको जिम्मेवारीमा रहँदै अनेमसंघको जिल्ला सचिव पदमा रही काम गरेकी थिइन्। हाल पार्टीका विभिन्न जिम्मेवारी बहन गर्दै नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको सचिवालय सदस्य र सामाजिक सेवा विभागको प्रमुखको जिम्मेवारीमा रहेकी छन्। 

सेवा र संलग्नता
उनले ०५१ सालमा सेभ द चिल्ड्रेनअन्तर्गत चौतारामा बाल बचाऊ कोषमा एक वर्ष, केयर नेपालमा विभिन्न जिल्ला (मुस्ताङ, स्याङ्जा, जनकपुर)मा छ वर्ष काम गरेकी थिइन्। 

२०४६/०४७ सालदेखि नै सिन्धुपाल्चोक मेलम्चीमा रहेको महिला आत्मनिर्भरता केन्द्रमा आवद्ध रही सामाजिक कार्य गर्दै आएकी उनले ०६० देखि ०६६ सम्म महिला आत्मनिर्भरता केन्द्रको अध्यक्ष भई दुई कार्यकाल काम गरेकी थिइन्।

०६० सालदेखि नै एट्विनसँग समन्वय तथा साझेदारी गर्दै महिला अदालतको अभियान, महिला हिंसाविरुद्धको अभियान, मानव बेचबिखनविरुद्धको अभियानमा क्रियाशील हुँदै सोही संस्थाकै कार्यकारी सदस्यदेखि लिएर महासचिव र उपाध्यक्ष पदमा रही विभिन्न सामाजिक कामहरू गरेकी थिइन्। 

महिला तथा बालबालिका कार्यालयसँगको सहयोगमा विभिन्न समूह, सहकारीमा आवद्ध हुँदै मानव बेचबिखनविरुद्धको जिल्ला कार्यसमितिको सदस्य, जिल्ला बाल इजलासको सामाजिक विशेषज्ञको रूपमा सामाजिक कार्यकर्ता भई सेवा गरेको समेत उनीसँग अनुभव छ। 

नेसनल प्यारालिगल कार्यक्रमको जिल्ला स्रोत व्यक्तिको रूपमा तीन वर्ष, मेलम्ची खानेपानी प्रभावित क्षेत्रको समस्यालाई लिई स्थानीय वासिन्दाको हक हितका लागि सामाजिक सञ्जाल समितिमा रही सामाजिक मुद्धाहरू उठान गरेको र हाल श्री ईन्द्रावती महिला विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको रूपमा जिम्मेवारी बहन गरिरहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.