|

हुम्ला : गएको वैशाख २६ गते सदरमुकाम सिमकोटबाट हराएका १३ वर्षीय विजय रावलको अहिलेसम्म पत्ता नलागेपछि अभिभावक चिन्तित भएका छन्। खार्पुनाथ गाउँपालिका २ राया गाउँका जैधन रावलका छोरा विजय विद्यालय पोशाक किन्न सदरमुकाम आएपछि सम्पर्कविहीन भएका हुन्।

बाबु जैधनले सिमकोट गाउँपालिका ५ का कपिल रावल र चंखेली गाउँपालिका २ का शक्ति बोहराले आफ्नो छोरालाई ललाइफकाइ वैशाख २७ गते तारा एअरको जहाजबाट नेपालगञ्ज पुर्‍याएको थाहा भएको बताएका छन्।

वैशाख २५ गते सिमकोटस्थित तल्लो बजारमा रहेको आफ्नो किराना पसल फुटाएर एक लाख ५० हजार रुपैयाँ चोरी गरी छोरालाई समेत ललाइफकाइ लगेको आरोपमा जैधनले कपिल रावल र शक्ति बोहराविरुद्ध प्रहरीमा चोरी मुद्दाको उजुरीसमेत दिएका छन्।

घटनामा संलग्न उनीहरुलाई पक्राउ गरी आफ्नो चोरी भएको धन भराइ पाउँ भनी जैधनले प्रहरीमा निवेदन दिएका छन्। उनले प्रहरीले आरोपीलाई पक्राउ गरेर घटनाको अनुसन्धान नगरेको आरोप पनि लगाए। पैसासहित हराएका छोरा खोज्नको लागि महिनौं दिन सदरमुकाम सिमकोटमा धाए पनि फेला पार्न नसकेको रावलले गुनासो गरे।

हुम्लाका प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले भने बालक हराएको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए। हराएको बालकलाई आरोपित पक्ष र पीडित पक्ष दुवैले खोजी गर्ने गरी प्रहरीमा लिखित सहमति भएको उनले बताए। प्रहरी युनिटहरुमा वेपत्ता बालकको हुलिया पठाइ खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

वैशाखदेखि स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव परेकोले खोजी गर्न ढिलाइ भएको उनको भनाइ छ। बालकलाई कसैले बेचविखन नगरेको, कतै आफन्तकोमा बसेको हुनसक्ने इन्सपेक्टर सिंहको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.