|

दाङ : सल्यानको कालीमाटी गाउँपालिकाका वासिन्दाले हालसम्म बिजुली देख्न पाएका छैनन्। विद्युत सेवा नहुँदा त्यहाँका मानिसहरू अन्धकारमा बस्न बाध्य छन्। 

सातवटा वडा रहेको कालीमाटीमा विद्युतको पहुँच नपुग्दा स्थानीयहरूले सास्ती भोगिरहेका छन्। विद्युत अभावमा गाउँपालिका झनै प्रभावित देखिएको छ। स्थानीय सरकारको रूपमा रहेको गाउँपालिका कार्यालयले नागरिकलाई सेवा प्रवाह गर्ने क्रममा विद्युत सेवा नहुँदा  दैनिक कार्यसम्पादनमा समेत बाधा पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी बताउँछन्। उनले विद्युत नहुँदा उत्पन्न हुने समस्या आफूहरूले झेल्नुपरिरहेको बताए। 

‘विद्युत नहुँदा कार्यालयमा सञ्चालन हुने हरेक काममा समस्या उत्पन्न हुने गरेको छ’, उनले भने, ‘विद्युत अभावकै कारण हाम्रो गाउँपालिका टेलिफोन, इन्टरनेट तथा बैंक सेवाबाट वञ्चित हुनुपरेको छ।’ 

कतिपयले वैकल्पिक ऊर्जाको रूपमा सोलार जोडेको भए पनि अझै स्थानीयहरू टुकी बालेर अँध्यारो हटाउनुपर्ने बाध्यतामा रहेका गाउँपालिका उपाध्यक्ष सहनशीलता ओलीले बताइन्।

‘स्थानीयलाई कुटान, पिसानदेखि लिएर मोबाइल चार्ज गर्नसमेत समस्या छ’, उनले भनिन्। यता, अन्धकार हटाउने र विद्युत भित्र्याउने भन्दै गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। 

छिमेकी जिल्ला सुर्खेत र दाङबाट विद्युत भित्र्याउने तयारीमा आफूहरू लागेको उपाध्यक्ष ओलीले बताए। विद्युत सेवा भित्र्याएपछि आफूहरू टेलिफोन, इन्टरनेट जडान र बैंक ल्याउनका लागि काम अगाडि बढाउने तयारीमा रहेको अध्यक्ष केसीले बताए। 

अहिले गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा नमस्ते फोन र वडा नम्बर ४, ५, ६ र ७ मा स्काई तथा एनसेलले आंशिक रूपमा काम गर्ने गरेको अध्यक्ष केसीको भनाइ छ। 

विद्युत नभएकै कारण इन्टरनेट जडान हुन नसकेको तथा बैंक आउन नमानेका कारण विकास निर्माणका काममा प्रत्यक्ष प्रभाव परेको गाउँपालिकाले जनाएको छ। बैंक नहुँदा यहाँका मानिस सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.