|
संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमा निर्माणाधीन अलपत्र बनेको पुल।

  • भबिन कार्की-

संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका-९बाट भोजपुर जोड्ने पक्की पुल निर्माण अझै अलपत्र छ। ०६७ देखि निर्माण कार्य सुरु गरिएको पुल अलपत्र परेको हो। सडक विभाग र ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणले गति लिन सकेको छैन।

ठेकेदारले विभिन्न कारण देखाउँदै तीन वर्षअघि काम छाडेर हिँडेपछि पुल अलपत्र बनेको हो। पुलको जमिन मुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको कारण देखाउँदै ठेकेदारले काम गर्न छाडेको छ।

भोजपुर र संखुवासभा नागरिक समाजहरु पटकपटक तुम्लिङटारस्थित सडक डिभिजन कार्यालयमा आएर पुल बनाउन दबाब दिए पनि कर्मचारी कानमा तेल हालेर बसेको स्थानीय प्रेमबहादुर श्रेष्ठले बताए। उनका अनुसार पुल निर्माणका लागि ५ पटक स्थानीयले कार्यालयमा धर्ना दिएका थिए।

पाँच वर्र्ष अगाडि सम्झौता भएको पुलको अहिलेसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ। १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिल्लर मात्रै उठाउने काम भएको छ।

ठेकेदारसँग भएको सम्झौताअनुसार दुई वर्षअघि नै पुलको निर्माण सम्पन्न हुनुपर्ने थियो। समयमै पुलको काम नसकिँदा स्थानीयहरु काठको डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

भोजपुर षडानन्द नगरपालिका  भोगेन्द्र उदासले पुल नबन्दा जोखिम मोलेर काठको डुंगा चढ्नुपर्ने बताए। यहाँ डुंगाबाट मोटरसाइकल तार्ने पनि गरिन्छ।

दिङ्लाबाट संखुवासभाको व्यापारिक केन्द्र खाँदबारी आउनेहरुले अरुणमा पुल नभएपछि २ सयसम्म तिरेर मोटरसाइकल तार्छन्, उदासले भने, ‘बर्खाका वेला खोला बढ्यो भने घण्टौँ कुर्नुपर्छ। नभए दिङ्लातिरै फर्केर जानुपर्छ, खर्च बढेर दोब्बर हुन्छ।’ सडक डिभिजन कार्यालयले पनि पुल निर्माण गर्नेतर्फ चासो नदिएको उदासले बताए।

यो पुल निर्माण भए भोजपुरका षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिका स्थानीयलाई सहज हुनेछ। भोजपुरका उत्तरी क्षेत्रका बासिन्दाको किनमेल गर्ने बजार संखुवासभाको खाँदबारी हो।

खाँदबारीबाट होलसेलमा विक्री गर्न लगिएको दैनिक उपभोग्य सामग्री पनि यहीँबाट डुंगाले तार्नु पर्दा महँगी बढेको दिङ्लाका दमन कटुवालले बताए।

डुंगाबाट सामान तार्दा प्रतिकिलो ५ रुपैयाँसम्म पर्ने भएकाले मूल्य आकाशिएको उनले बताए। पुल भए खाँदबारीबाट सिधा दिङ्लासम्म यातायात चल्थ्यो, उनले भने, अहिले पुलवारि एउटा र पारि अर्को यातायातको साधन तयार गर्नुपर्छ।

०६४ पछि बनेको हरेक सरकारमा भोजपुरका नेताहरुले विकासे मन्त्रालय  र पटकपटक मन्त्री भए पनि नेताहरुले भोजपुरको उत्तरी क्षेत्रको विकास गर्न नसकेको आरोप स्थानीयको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.