|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगामा गाउँपालिकाको अध्यक्षको कुटाइबाट घाइते भएका प्राविधिक सहायक मीनबहादुर कार्कीलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। उनलाई गत बिहीबार राति चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले कुटपिट गरी घाइते बनाएका थिए।

गाउँपालिकाका प्राविधिक सहायक कार्कीलाई कुटपिट गरेपछि कार्कीले अरू कोहीसँग सम्पर्क नगरोस् भन्दै मोबाइलसमेत अध्यक्ष केसीले नै लगेको कार्कीको आरोप छ। घटनाबारे बुझ्न चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीलाई फोन गर्दा सामान्य विवाद भएको स्वीकार गर्दै गाउँपालिकाका कार्यकारीसँग बसेर कुरा मिलाइसकेको बताए।

तर, उनले कर्मचारी कार्कीलाई कुटपिट गरेको विषयलाई भने अस्वीकार गरेका छन्। चम्पादेवी गाउँपालिका अध्यक्ष केसीले यसअघि पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समयमा स्थानीयलाई कुटपिट गरी घाइते बनाएका थिए।

गाउँपालिका प्रमुख केसीको कुटाइबाट घाइते भएका कर्मचारी कार्कीले भने विनाकारण आफूमाथि आक्रमण भएको बताएका छन्। गाउँपालिकाको केही वडाहरुमा भएको विकास निर्माणको योजना फरफारक गर्न काम नभएका योजनाको पनि सम्पन्न स्टामेट पास गर्न दबाब दिएको कार्कीले बताएका छन्।

तर, काम नभएको योजनाको सम्पन्न लागत स्टामेट गर्दिनँ भनेपछि गाउँपालिकाका प्रमुख केसीले आफूमाथि कुटपिट गरेको कार्कीले आरोप लगाएका छन्।

घटना भएपछि नजिकैको प्रहरी कार्यालय पलापुलाई जानकारी गराई सुरक्षा चाहियो भन्दा आइतबारसम्म पनि नजिकको प्रहरीचौकी पलापुले बेवास्ता गरेको पनि कार्कीको आरोप छ। कार्की थप उपचारका लागि भन्दै रगतले लतपतिएको कपडासहित काठमाडौं लागेका छन्। उनको अनुहारभरी चोट छ भने कुटपिटका कारण अनुहार पनि सुन्निएको छ।

जिल्ला प्रहरी तथा जिल्ला प्रशासनमा उजुरी दिन आफू आउन नसकेकोले काठमाडौंमा उपचार गरेर आएपछि उजुरी दिने घाइते कार्कीले बताएका छन्। जानकारी होस् भन्ने उद्देश्यले कार्कीले आइतबार नै प्रहरीचौकी घोराखोरीमा उजुरी दर्ता गराएको बताए।

घाइते कार्कीले भने, ‘म अहिले नै ओखलढुंगा आउन नसक्ने अवस्थामा छु। मेरो मोबाइल पनि कब्जा गरिएको छ। स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्दा असुरक्षित महसुस भएको छ। प्रहरीले पनि बेवास्ता गर्‍यो। काठमाडौंमा उपचार गरेर फर्किएपछि उजुरी दिन्छु।’

घटनाबारे घोराखोरी प्रहरीचौकीका प्रमुख हरिनारायण यादवले भने, ‘कार्कीले उजुरी दर्ता गराउनुभएको छ, घटनाबारे यहीँ छलफलको प्रयास हुन्छ। यहाँ छलफल हुन नसके वा विवाद नमिले मुद्दा अगाडि बढाएर रामपुर पठाउन सकिन्छ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.