प्रथमलाई ३११, द्वितीयलाई २०३, तृतीयलाई १०१ र सान्त्वनालाई ५१ अमेरिकी डलर

|

काठमाडौं : पहिलो पटक आयोजना गरिएको विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगितामा मोरङकी मेनुका चापागाईंले बाजी मारेकी छन्। उनको ‘यही स्वर्ग मेरो’ शीर्षक कविता प्रतियोगितामा प्रथम भएको छ। अंग्रेजी नयाँ वर्ष जनवरी १ मा घोषणा गरिएको नतिजाअनुसार  जापानमा रहेकी स्रष्टा सविना रेग्मी द्वितीय भएकी छन् भने तनहुँका स्रष्टा गोविन्गोपाल खतिवडाले तृतीय स्थान लिन सफल भएका छन्।

अमेरिकामा दर्ता भएको नेपाली साहित्यकारहरूको संस्था ‘छन्द–अलङ्कार’द्वारा आयोजित विश्वव्यापी छन्दकविता भिडियो प्रतियोगिता- २०१७ मा मोरङका स्रष्टा रोहित पराई र उदयपुरका स्रष्टा भवानी खतिवडाले सान्त्वना प्राप्त गरेका छन्।

प्रतियोगिताको मूल्याङ्कनका लागि डा. देवी नेपालको संयोजकत्वमा दुर्गा रिजाल (अमेरिका) र नारायण गाउँले (बेलायत) गरी तीन जनाको निर्णायक समिति तथा पुरानाघरे (अमेरिका) र ज्ञानु विद्रोही (नेपाल) गरी दुई जनाको कार्यकारी निर्णायक समिति निर्माण गरिएको थियो।

प्रतियोगितामा विश्वभरिबाट १०२ वटा छन्दकविताहरूको सहभागिता रहेको आयोजक छन्द–अलङ्कारका कार्यकारी निर्देशक भोला शिवाकोटी (पुरानाघरे)ले जानकारी दिए। प्राप्त भिडियोमध्ये प्रहिलो चरणमा छन्द नमिलेका २७ वटा कविताहरूलाई प्रतियोगिताबाट हटाएर ७५ वटा कविताको भिडियोबाट निर्णय गरिएको बताइएको छ।

नेपाली कवितालाई प्रविधिमुखी बनाएर प्रस्तुत गर्ने र भिडियो हेरेर कविताको मूल्याङ्कन गर्ने काम आजभन्दा अगाडि कहीँकतै नभएको र यो नै पहिलो भएको निर्णायक समितिका संयोजक डा. नेपालले बताए। ‘त्यसकारण पनि यस प्रतियोगिताको ऐतिहासिक मूल्य छ भन्ने हामीलाई लागेको छ’, उनले भने।

प्रतियोगितामा नेपाल, भारत, भूटान, अमेरिका, बेलायत, जापान, यूएई, बर्मा, इजरायल, क्यानाडा, दक्षिण कोरिया गरी ११ वटा देशमा रहेका नेपाली छन्दकविहरूको सहभागिता रहेको आयोजकले बताएको छ। 

प्रतियोगितामा शार्दूलविक्रीडित छन्दका ५० वटा कविताहरू सहभागी थिए भने पञ्चचामर छन्दका सात, भुजङ्गप्रयात, अनुष्टुप् र मन्दाक्रान्ता छन्दका तीन/तीन, शिखरिणी छन्दका दुई र स्रग्विणी, उपजाति, तोटक, वसन्ततिलका, स्रग्धरा र चर्चरी छन्दका एक/एक कविताहरू गरी जम्मा १३ वटा छन्दका कविता रहेका थिए। एउटा कवितामा भने विविध छन्दको प्रयोग गरिएको डा. नेपालले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेले ३११ अमेरिकी डलर प्राप्त गर्नेछन् भने द्वितीयले २०३, तृतीयले १०१ अमेरिकी डलर प्राप्त गर्नेछन्। सान्त्वना प्राप्त गर्नेले ५१/५१ अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ। पुरस्कार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी वितरण गरिने कार्यकारी निर्देशक पुरानाघरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.