निर्माण कार्य सुस्त गतिमा रहेको भन्दै स्थानीयवासी आक्रोशित

|

भबिन कार्की-

    संखुवासभा : संखुवासभा खाँदबारी नगरपालिका ४ भ्याङ्खोला–तम्बे सडक खण्डको निर्माण कार्य एक वर्षमा १२ प्रतिशत मात्र सम्पन्न भएको छ। १२ करोड ६७ लाख २७ हजारको लगानीमा १५ किलोमिटर ग्राभेल गर्नुपर्नेमा हाल १२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ।

    उन्नति परियोजनाको लगानीमा निर्माण थालिएको भ्याङ्खोला-याफुडाँडा-तम्बे सडक खण्डको निर्माण कार्य सुस्त गतिमा रहेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

    निर्माण कार्य चित्तबुझ्दो नभएको भन्दै सडकको अनुगमनमा उन्नति परियोजनाका वरिष्ठ पूर्वाधार विज्ञ सम्भु यादव, कार्यान्वयन संस्था जिल्ला प्राविधिक कार्यालय संखुवासभाका प्रमुख इन्जिनियर रमेशकुमार श्रेष्ठ सहितको टोली सो सडक खण्डमा पुगेका थिए।

    काम सम्पन्न गर्नुपर्ने समय चैत पहिलो हप्ता (मार्च २२)  रहे पनि अहिलेसम्म १२ प्रतिशत मात्र काम सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय संखुवासभाका प्रमुख इन्जिनियर रमेशकुमार श्रेष्ठको भनाइ छ। १५ महिनामा काम सम्पन्न गर्नुपर्नेमा प्रगति भने न्यून रहेको प्रमुख इन्जिनियर श्रेष्ठले बताए।

    समयका काम सम्पन्न गराउन श्रमिक तथा उपकरण थप्नुपर्ने प्रमुख इन्जिनियर श्रेष्ठको जोड छ। निर्माण व्यवसायी सन्तोषकुमार राईले समयमा पर्याप्त इन्धन नपाएकोले काममा ढिलाइ भएको बताए। त्यस्तै, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको कारणले पनि निर्माण कार्यले गति लिन नसकेको राईको भनाइ छ।

    अब, आवश्यकताअनुसार पर्याप्त इन्धन भए जनशक्ति थपेर निर्धारित समयमा निर्माण कार्य सकिने निर्माण व्यवसायी राईले दाबी छ। स्थानीयस्तरका कृषि उत्पादनलाई टेवा पुर्‍याउनको लागि सडकमा आफूहरुले लगानी गरेको र लक्ष्य पूरा गर्नकै लागि निर्धारित समयमा काम सम्पन्न गर्न निरन्तर ताकिता गर्दै आएको उन्नति परियोजनाका वरिष्ठ पूर्वाधार विज्ञ शम्भु यादवले बताए।

    सडक निर्माणले किसानले उत्पादन गरेका अलैँची र चिया लगायतका कृषिजन्य उत्पादनलाई बजार सम्मको पहुँचमा पुर्‍याउने लक्ष्य रहेको यादवले बताए। हालसम्म ८८ प्रतिशत काम बाँकी रहेको र काम सम्पन्न गर्नुपर्ने समय अवधि छोटो रहेकाले श्रमिक र उपकरण थप गरी समय काम सम्पन्न गर्न सकिनेछ।

    कोसी एण्ड न्यौपाने खाम्पाचे जोइन्ट भेन्चरले ठेक्का लिएको यस १५ किलोमिटर सडकमा नाली सहितको ग्राभेल गर्नु पर्नेछ। सयमा काम सकिने हो भने यस सडकले जिल्लाका चिचिला र शिलिचोङ गाउँपालिकाका कृषक लाभन्वित हुनेछन्।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.