सबै नेताहरुको सम्मानजनक व्यवस्थापन गर्न आग्रह

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेताहरुले नेकपा एमालेसँग एकता हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष पाउनुपर्ने धारणा राखेका छन्। मंगलबार प्रचण्ड निवास खुमलटारमा बसेको कार्यालय समितिको बैठकमा नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद रोजेमा पार्टी अध्यक्ष पद प्रचण्डले पाउनुपर्ने बताएका हुन्।

उनीहरुले एमालेसँग हुने एकतासम्बन्धी छलफलमा यो विषय उठाउन अध्यक्ष प्रचण्डलाई आग्रह पनि गरेका छन्। प्रधानमन्त्री र अध्यक्ष पदमा ठूलो पार्टीका हिसाबले एमाले अध्यक्ष ओलीलाई पहिले रोज्न लगाउने र त्यसपछिको पद माओवादीले पाउनुपर्ने विषयमा बैठकमा छलफल भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए।

नेताहरुले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पद रोज्ने हुनाले पार्टी अध्यक्ष पद नछोड्न प्रचण्डलाई आग्रह गरेका छन्। 'हामीले पाँच वर्ष नै स्थायित्व दिने भनेर मत मागेका छौं। त्यसैले एकजनाले पार्टी चलाउने र एक जनाले सरकार चलाउने गरी अघि बढ्नुपर्छ भनेर साथीहरुले भन्नुभएको छ' नेता पौडेलले भने। 

बैठकमा नेताहरुले माओवादीका अन्य नेताहरुको पनि सम्मानजनक व्यवस्थापन हुनुपर्ने धारणा राखेका थिए। 'सबै नेताहरुको सम्मानजनक व्यवस्थापन गर्नुपर्छ भन्ने विषय पनि साथीहरुले उठाउनुभएको छ' माओवादी नेता दीननाथ शर्माले थाहाखबरसँग भने।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको विषयमा बुधबारदेखि नै निर्णायक छलफल सुरु गर्ने बताएका छन्। एमाले अध्यक्ष ओली अस्वस्थ भएर आराम गरिरहेकाले बुधबारदेखि छलफल गर्ने बैठकमा प्रचण्डले बताएका थिए। बैठकमा नयाँ सरकार गठनअघि नै पार्टी एकता अगाडि बढाउनुपर्ने नेताहरुले धारणा राखेका थिए।

सांगठनिक संरचना बनाउन समिति

माओवादी केन्द्रले एमालेसँग एकताअघि पार्टीको सांगठनिक संरचना मिलाउन नेता रामबहादुर थापाको नेतृत्वमा समिति गठन गरेको छ। केन्द्रीय कार्यालय समितिको बैठकले एकताअघि पार्टीको सांगठनिक संरचना मिलाउनुपर्ने हुनाले समिति गठन गरेको प्रवक्ता पंफा भुसालले जानकारी दिइन्।

त्यस्तै माओवादीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भएको अन्तर्घातको विषय छानबिन गर्न नेता अमिक शेरचनको संयोजकत्वमा अर्को समिति पनि गठन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.