|

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई मंगलबार आयोजित समारोहमा पुरस्कृत गरेकी छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’लाई पुरस्कार प्रदान गरिएको हो।

प्रथम हुनेलाई ३० हजार, द्वितीयका लागि २५ र तृतीयका लागि २० हजार रुपैयाँ नगदसहित पदक दिइएको छ। गत असार ९ गते प्रतिष्ठानको ६०औँ वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा यी कवि पुरस्कृत घोषित भएका थिए।

समारोहमा प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार समालोचक एवं निबन्धकार प्रा.डा. तारानाथ शर्मालाई प्रदान गरियो। उक्त पुरस्कार प्रत्येक चार वर्षमा एक पटक दिइन्छ।

यस्तै, प्रत्येक दुई/दुई वर्षमा प्रदान गरिने एक एक लाख रुपैयाँ राशिको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ प्रा.डा. वीणा पौडेल र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा. रामावतार यादवलाई प्रदान गरियो। हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ सालका लागि विमल निभा तथा २०७४ सालका लागि ध्रुव सापकोटालाई दिइयो ।

यस्तै, एक लाख रुपैयाँ राशिको तराई–मधेसमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’ अब्दुल लतिफ शौक (उर्दू भाषा) र २०७४ सालको सोमबहादुर धिमाल (धिमाल भाषा)लाई दिइयो। पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार–२०७३’ का लागि पदम राई र २०७४ सालका लागि धनबहादुर माझीलाई प्रदान गरियो।

कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक क्षेत्रको यथोचित रूपान्तरण र प्रवर्द्धनमा स्रष्टाहरूले भूमिका खेल्नुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.