|

काठमाडौं : केही दिनअघि वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा विरामी भएर बेलायतमा उपचार गराइरहेको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले थाहा पाए। विशेषज्ञयता फरक भए पनि सहपाठी भएकाले पनि देवकोटाको बारेमा थाहा पाएर डा. रिजाल भावुक भए। उनको अगुवाइमा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै केही चिकित्सहरुले पशुपतिनाथमा दीप प्रज्वलनसमेत गरे।

विरामीहरुको व्यथा पत्ता लगाएर उपचार गर्ने र भगवानको भरोसामा पर्नेहरुलाई औषधी खाएर व्यथा ठीक हुने सुझाव दिने डाक्टरहरु नै डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै भगवानको शरणमा पुगेको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चाको विषय भयो।  

औषधी र भौतिक विज्ञानमा विश्वास गर्ने एक सफल चिकित्सक यसरी भगवानको शरणमा पुगेको देखेर डा. रिजाललाई धेरैले भौतिक विज्ञानमा विश्वास गर्ने पनि भगवानको शरणमा? भनेर प्रश्न गर्छन्। उनीहरुलाई डा. रिजालको जवाफ छ 'आध्यात्म एक आस्था हो जबसम्म हाम्रो जीवनमा कुनै पनि कुराप्रति आस्था रहदैन तबसम्म जीवन सार्थक रहदैन।'

डा. रिजालको धेरै समय विरामीसंगै बित्ने भए पनि उनी फुर्सद निकालेर धार्मिक काममासमेत लाग्छन्। उनी हरेक दिन बिहान पीपल र तुलसीको बोटमा पानी चढाउनुका साथै पाञ्चायन देवताको पूजा नगरी घरबाट निस्कदैनन्। कहिलेकाहीँ अस्पतालमा जटिल अवस्थाको विरामी रहेको जानकारी आएमा घरको पूजाकोठामा भगवानको मूर्तिलाई ढोगेर मात्र निस्कन्छन्। रिजाल कतै मठ मन्दिर देखे भने दर्शन गर्न भुल्दैनन्। हरेक दिन ओम अस्पताल पुग्दा अस्पतालको गेटैमा रहेको मन्दिरभित्र पसेर दर्शन नगरी भित्र पस्दैनन्।

रिलालको भगवान भरोसा

आफूलाई स्वामी कमलनयनाचार्यका भक्त भन्न रूचाउने डा. रिजाल हरेक दिन घरकै र घर नजिकैको मन्दिरमा पूजा गर्न जान्छन्। पीपलको रुख र तुलसीको मठमा जल चढाउन भुल्दैनन्। यसका साथै ओम अस्पतालको परिसरमा रहेको मन्दिरलाई दर्शन गरेर मात्र विरामीको सेवामा लाग्छन्। यसले दिनभर सकारात्मक भावसहित उर्जा मिल्ने उनी बताउँछन्। 'सकेसम्म हरेक विहान म मन्दिरमा पुगेर भगवानको दर्शन गर्छु, जसले मलाई दिनभरको लागि उर्जा प्रदान गर्छ' थाहाखबरसँग डा. रिजालले भने।  

आफ्ना पितृहरु (दिवंगत मान्यजन) पनि भगवान नै भएकाले हरेक दिन उनीहरुलाई सम्झेर जल नचढाइ पानीसमेत खादैनन् डा. रिजाल। समय मिलेको बेला धार्मिक पुस्तकहरु अध्ययन गर्ने उनको बानी छ। दिनहुँ जीवन र मरणको अवस्थाका विरामीसँग रहने डा. रिजाल आफूले आशै मारिसकेका विरामी सञ्चो भएर घर फर्किएको बेलामा चिकित्सा विज्ञान मात्र नभएर दैवी शक्तिले नै सञ्चो भएको जस्तो ठान्छन्। 

'कहिलेकाहीँ उपचार गर्दै जाँदा आश मरिसकेको विरामी सञ्चो भएर घर फर्कदा साच्चिकै दैवी शक्ति छ भन्ने विश्वास हुन्छ र त्यो बेला लाग्छ, म भन्दा माथि भगवान हुनुहुदो रहेछ' उनले भने।

चिकित्सा विज्ञान र आध्यात्म

धेरैले चिकित्सा विज्ञान र आध्यात्मबीच सम्बन्ध छैन भनेर बुझ्छन्। तर डा. रिजाल चिकित्सकमा पनि अध्यात्मको ज्ञान हुनुपर्ने बताउँछन्। उनको विचारमा जुन चिकित्सकमा आध्यात्मको ज्ञान छैन, त्यो सफल चिकित्सक हुन सक्दैन। चिकित्सकको मनोवैज्ञानिक परामर्शले विरामीको आधा रोग सञ्चो हुन्छ। 

'एलोपेथिक होस् वा आयुर्वेदिक होस वा होमियोपेथिक चिकित्सा, अध्यात्मको प्रभावबिना जुनसुकै विधाको चिकित्सा पनि फिक्का हुन्छ' डा. रिजाल भन्छन् 'किनभने, हामीले आफूले गर्न पर्ने सबै चिज गरिसकेपछि बाँकी रहेको चिज चाहिँ भगवानको हातमा छ।’

चिकित्सा विज्ञान धेरै भौतिकवादसंग मिल्ने भए पनि यसको सम्बन्ध आध्यात्मसंग पौराणिक समयदेखि नै घनिष्ट रहेको रिजालको विश्लेषण छ।  

महाभारतमा कौरव र पाण्डवहरुको जन्म घडाबाट भएको उल्लेख गरिएको छ। डा. रिजाल उनीहरुलाई टेष्टट्युब बेबी मान्छन्। पाण्डवहरुको जन्म पनि उनीहरुको बाबु पाण्डुबाट भएको थिएन। कसैको जन्म सूर्य,इन्द्र आदिबाट भएको थियो। यसले पनि पौराणिक कालमा नै टेष्टट्युब बेबीको अस्तित्व रहेको उनको दावी छ। 'पाण्डव र कौरवहरुको जन्म पनि विभिन्न माध्यमबाट भएको कारण आध्यात्मिकता र चिकित्सा विज्ञान परापूर्वकालदेखि एक अर्कोको परिपूरक रहँदै आएका छन्' डा. रिजाल भन्छन्। 

अस्पतालमै मन्दिर

धेरैले भगवानलाई दुख पर्दा मात्र सम्झने गर्ने गर्छन्। तर डा. रिजाल केही कुरामा सफलता प्राप्त भयो भने मन्दिर पुग्ने गर्छन्। चार दशक भन्दा बढी समयदेखि विरामीको उपचार गर्दै आएका डा. रिजाल दुई दशकदेखि काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा विरामीको उपचार गर्दै आएका छन्। यसबीचको समयमा धेरै निसन्तान दम्पत्ती आफूले गरेको उपचार पश्चात सन्तान जन्माउन सफल भएकोमा डा. रिजाल खुशी छन्। 

कतिपय विरामीको उपचार गर्दागर्दै मृत्युबाट जोगाउन नसक्दा निराश भएको बेलामा उनी अस्पताल परिसरमै रहेको मन्दिरमा पुगेर दर्शन गर्छन् र मनलाई शान्त राख्छन्। 'विरामीको उपचार गर्दै जाँदा सँधै चाहेजस्तो राम्रो हुदैन त्यस्तो बेलामा धेरै दुख लाग्छ र मनमा बैराग्य आउँछ यस्तो बेला यही अस्पतालमा रहेको मन्दिरमा गएर भगवानलाई दर्शन गर्छु उहाँमाथि भरोसा गर्छु' डा. रिजाल भन्छन्। 

कतिपय विरामीका आफन्तहरुनै उपचाररत आफ्ना विरामीको लागि ओम अस्पताल परिसरको यस मन्दिरमा आएर प्रार्थना गरेको डा. रिजालले देखेका छन्। 'साच्चिकै आफन्त विरामी अस्पताल भर्ना हुँदा वा उपचार गर्दागर्दै गुमाउनुपर्दा कत्तिको पीडा हुन्छ उहाँहरुलाई मात्र  थाहा हुन्छ, यस्तो बेला यही मन्दिरमा गएर उहाँहरुले प्रार्थना गर्नुहुन्छ। यसले मानिसलाई केही शान्त बनाउँछ' डा. रिजाल भन्छन्। भगवानमाथिको विश्वास र अध्यात्मभावले मानिसलाई अनुशासित बनाउने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.