|

इलाम : मौसममा सुधार आएपछि अहिले इलाममा पर्यटकहरूको आगमन तीव्र हुन थालेको छ। जाडो बढेसँगै इलाम घुम्न आउने पर्यटकहरू आउने क्रम बढ्न थालेको हो। 

पर्यटकहरू आउने क्रमसँगै होटल व्यवसायीहरूलाई पाहुना कसरी धान्ने भन्ने चिन्ता थपिएको छ। जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पर्याप्त होटल र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकहरूलाई कसरी सुविधा दिने भन्ने चिन्ता थपिएको हो।

सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी र पाथीभरालगायतमा यतिबेला पर्यटकको चाप बढ्न थालेको छ। मुख्य पर्यटकीयस्थल मानिने जिल्लाकै अग्लो डाँडो सन्दकपुर (तीन हजार ६३६ मिटर उचाइ)मा अहिले दिनहुँ ३०० भन्दा बढी पर्यटक आउँदा स्थानीय होटलले थाम्न सकेका छैनन्। 

भारतीय सीमावर्ती सन्दकपुरमा एउटा अलि ठूलो र अन्य दुई साना होटल छन्। सन्दकपुर क्षेत्रकै सबैभन्दा ठूलो शेर्पा च्यालेट होटलमा ५० पर्यटक मात्रै अटाउँछन्। तर, यस होटलमा अहिले दुई सयजति पर्यटक दिनहुँ वास र खानपानका लागि आउने गरेको होटलले जनाएको छ।

होटल सञ्चालक डण्डु शेर्पाले पहिल्यै बुक नगरे होटलको कोठा र खाना नै व्यवस्था गर्न नसक्ने बताए। ‘असोजपछि माघसम्म मुख्य सिजन भएकाले पर्यटक खचाखच छन्’, उनले भने, ‘अरू बेला यस्तो चाप हुँदैन तर अहिले हाम्रो होटलमा आउन २–३ दिनअघि नै होटल बुक गरिसक्नुपर्छ।’ 

होटलले यहाँ समूहमा आउने पर्यटकका लागि एक हजार ५०० रुपैयाँको प्याकेजसमेत बनाएको छ। शेर्पाका अनुसार पर्यटकले यो रकम तिरेपछि दुई छाक सादा खाना, एक दिन ब्रेक फास्ट र चिया खान तथा एक रात सुत्न पाउँछन्। ‘यीबाहेकका सुविधा चाहने पर्यटकका लागि थप रकम लाग्छ’, उनले भने, ‘यहाँ सादा खाना प्रति छाक ३२०, मासु खाए प्रतिप्लेट १६०, चिया प्रति कप ४० र कफी प्रति कप ८० रुपैयाँ पर्छ।’ 

दार्जिलिङको हड्तालका कारण गत वर्षको तुलनामा पर्यटकहरूको संख्यामा केही कमी भए पनि दैनिक रूपमा सम्र्पकमा आउने पर्यटकहरूलाई सुविधा दिन भने कठिन भएको शेर्पाले बताए।

सन्दकपुरबाट दुई किलोमिटरमा पर्ने आहालटारमा केही कच्ची घर छन्। यहाँ पनि २०–२५ पर्यटक अटाउन सक्छन्। तर, यहाँ पनि पहिल्यै बुक गरे मात्रै खान र बस्न पाइन्छ। यतिबेला पर्यटकीय सिजन भएकाले देश विदेशबाट आउने पर्यटकको चाप बढेको स्थानीय पिंकी शेर्पाले बताइन्। सन्दकपुरबाट चार किलोमिटर तल बिखेभञ्ज्याङ, दोबाटे र कालपोखरीका होटलहरू पनि पर्यटकले भरिभराउ छन्। पर्यटकका लागि तयार गरिएका स्थानीय घरहरूमा पाँच देखि ४० सम्म पर्यटक अटाउँछन्।

यतिबेला यहाँ पनि पर्यटकहरूको ओइरो लागिरहेको स्थानीयले बताएका छन्। कालपोखरीस्थित हिमचुली लजका पेम्बा शेर्पाले नेपाली र भारतीय पर्यटकका दर्जनौँ समूह आइरहेको बताए। ‘यहाँ आउने पर्यटकले पहिल्यै खाना र वासका लागि अर्डर नगरे आउनेवित्तिकै पाउन समस्या छ’, उनले भने, ‘यति संख्याका पर्यटक यो दिन आउँदै छन् भन्ने जानकारी भए हामीलाई उनीहरूलाई सेवा दिन पनि सजिलो हुन्छ।’ सन्दकपुरमा भारतपट्टि दर्जनभन्दा बढी होटल छन्।

सन्दकपुर आउने नेपाली पर्यटक वासका लागि होटल नपाउँदा महँगा भारतीय होटलमा बस्नुपरेको गुनासो गर्छन्। ‘होटल पाइन्छ होला भनेर आइहालियो। कतै नेपाली होटल नपाएर महँगो भारतीय होटलमा बस्नुप¥यो’, सन्दकपुरमै भेटिएका सूर्याेदय नगरपालिकाका डोलेन्द्र भारद्वाजले भने, ‘नेपालतिर होटलहरू भए अलि सस्तो र सहज रूपमा बस्न पाइने थियो।’ 

उनीजस्तै यहाँ आएका प्रायः नेपाली पर्यटक होटलमा वास नपाएर निकै तलका चौँरी र भेडीगोठतिर बासका लागि झर्ने गरेका छन्। सन्दकपुरबाट सर्वाेच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायत नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमचुचुरा १८० डिग्रीमा हेर्न सकिन्छ। यहाँबाट सूर्याेदय र सूर्यास्त हेर्न पनि पर्यटकको भीड लाग्छ।

सूर्याेदयका लागि प्रख्यात अन्तु डाँडामा पनि यतिबेला पर्यटक खचाखच छन्। मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले गत वर्ष नयाँ भ्यू टावर बनाइदिएपछि सूर्योदयको दृश्य हेर्न अन्तु आउने पर्यटकको संख्या बढ्दो छ। अन्तु पर्यटन विकास समितिका अध्यक्ष एवम् होमस्टे सञ्चालक धनकुमार आलेले दिनहुँ करिब डेढ सय पर्यटक यहाँ आइरहेको बताए। 

जिल्लामा लामो समयदेखि होमस्टे व्यवस्थापन गरिएको अन्तुमा व्यवस्थित होमस्टेचाहिँ करिब तीन दर्जन घरमा मात्रै छ। तर, स्थानीयले ‘पेइङ गेस्ट’का रूपमा दुई–चार सय पाहुना अटाउन सक्ने आलेले बताए। ‘यतिबेला गाउँभर पर्यटक खचाखच छन्’, उनले भने, ‘व्यवस्थित होमस्टेले नपुगे पनि पेइङ गेस्टका रूपमा राख्ने गरेका छौँ।’ क्याम्प फायरको मज्जा लिन युवायुवतीहरू अन्तु जाने गरेका छन्। 

कन्याममा पनि दिनहुँ सयौँ पर्यटक आइरहेका छन्। यहाँ आउने पर्यटक कन्यामकै कन्याम इनलगायत फिक्कल, हर्कटे र सदरमुकामका होटल पुगेर वास बस्छन्। चियाबारी घुम्न, कञ्चनजंघा हिमाल हेर्न र स्थानीय अग्र्यानिक उत्पादनको स्वाद चाख्न कन्याममा पर्यटक आउने गरेका छन्।

होटल एसोसिएसनका पूर्व जिल्ला अध्यक्षसमेत रहेका स्थानीय ‘कन्याम इन’ होटलका सञ्चालक टीका ओडारीले कन्याम अहिले पर्यटकले भरिएको बताए। ‘कतिपय पर्यटक यतै बस्छन्, कतिपयचाहिँ वासका लागि सदरमुकामसम्म पुग्छन्’, उनले भने। 

अहिले मौसम अत्यन्त सुन्दर हुने बेला भएकाले पर्यटक एकै पटक निकै आएको उनको भनाइ छ। जिल्लाकै माइपोखरी, टोड्के झरना, छिन्टापुलगायत पर्यटकीयस्थलमा पर्यटक आउने क्रम सुरु भएको छ।

हेर्नुहोस् फोटा :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.