|

कालीकोट : कालीकोट खाँडाचक्र नगरपालिका– १ का ५० वर्षकी जुना सुनार एकल महिला हुन्। उनले लामो संघर्षपछि सिलाइ कटाइको सीप सिकिन्। अहिले उनी आफूले सिकेको सीप आफू जस्तै अरू एकल महिलालाई पनि सिकाउँदै आएकी छन्। 

विगतमा समाजले नराम्रो दृष्टिले हेर्ने गरेको र अहिले सीप भएकै कारणले सम्मानित ढंगले बाँच्नुपरेको सुनारले बताइन्। ‘विगतमा समाजले हेयको भावले हेर्ने गरेको थियो’, उनले भनिन्, ‘अहिले समाजमा सम्मानित भएर बाँच्न पाएकी छु।’

सुरुमा सिलाइ कटाइको सीप सिकेर सिलाइ कटाइ व्यवसाय सुरु गरेकी सुनारलाई आफूले मात्र आत्मनिर्भर भएर बाँचेर केही भएन जस्तो लाग्यो रे! आफू जस्तै समाजमा एकल महिलाहरूको पीडा कस्तो होला? उनीहरूलाई पनि सीप सिकाउन पाएको भए समाजमा सम्मानित भएर बाँच्न पाउने थिए कि भन्ने सोचेर आफ्नै एकल प्रयासमा गाउँका चार जना एकल महिला आफ्नै पसलमा राखेर सीप सिकाउन थालेको उनले बताइन्। 

‘आफू जस्तै पीडामा परेका महिलालाई सीप सिकाएर केही बाँच्ने आधार हुने थियो भन्ने सुरुमा लाग्यो’, उनले भनिन्, ‘गाउँका चार जना एकल महिलालाई आफ्नै पसलमा निःशुल्क सिलाइ कटाइको तालिम दिएँ।’

सुनारले जिल्लाको रास्कोट नगरपालिका– ८ का २८ वर्षकी एकल महिला दर्पणा तिरुवा, खाँडाचक्र नगरपालिका– ४ ताडीकी २७ वर्षकी कर्णशिला पाण्डे, खाँडाचक्र नगरपालिका–११ बदालकोटका लक्ष्मीमा तिरुवा र खाँडाचक्र नगरपालिका– २ की तस्वीरा शाहीलाई सिलाइ कटाइको तालिम दिनुका साथै आफैँसँग राखेर पसल चलाइरहेकी छन्।

समाज र परिवेशसँग संघर्ष नगरी केही पनि हुँदैन भन्ने थाहा पाएपछि सुनारले ‘मानवअधिकारका लागि एकल महिला समूह’समेत गठन गरेकी छन्। उनले एकल महिलालाई आत्मनिर्भर बनाउन विभिन्न संस्थामा गएर एकल महिलालाई विभिन्न सीप सिकाउनका लागि यसै संस्थामार्फत काम गर्दै आएकी छन्। 

विभिन्न संस्थामा सीप सिकाउन केही सहयोग गरिदिनुपर्‍यो भनेर संस्थागत रूपमा जाने गरेको र हाल जिल्ला समन्वय समितिमार्फत् संचालित ड्रिल्प र प्यापले सहयोग गरेको उनले बताइन्। ‘संघर्ष नगरी केही नहुँदोरहेछ’, उनले भनिन्, ‘अहिले केही संस्थाहरूले सहयोग गर्न थालेका छन्।’ 

हाल उनले सुरु गरेको सिलाइ कटाइ पसल पाँच जना दिदीबहिनीले संचालन गर्दै आएका छन्। पाँचै जनाले दैनिक आम्दानी भएको रकम बराबर बाँड्ने गरेका छन्। 

जिल्लाको रास्कोट नगरपालिका– ८ फुकोटकी २८ वर्षकी एकल महिला दर्पणा तिरुवाले पनि यसै पसलमा काम गर्छिन्। उनले जुना सुनारबाट नै सिलाइ कटाइको तालिम लिएकी हुन्। दुई छोरीकी आमासमेत रहेकी तिरुवा कलिलै उमेरमा बिधवा बन्दा छोरीको हेरचाह र पढाइ लेखाइमा समस्या थियो। कसरी छोरीलाई पाल्ने भन्ने चिन्ताले सताउन थालेपछि आत्मनिर्भर बन्न र छोरीहरूको लालनपालनका लागि सीप सिक्न थालेको उनले बताइन्। सात महिनादेखि सुनारसँग सिलाइ कटाइको सीप सिकिरहेकी तिरुवाले अब आफू सिलाइ कटाइमा अब्बल भएको र आत्मनिर्भर बन्दै गएको बताइन्। ‘सात महिनाको सिलाइ कटाइ तालिमले मैले धेरै सीप सिकेकी छु’, उनले भनिन्, ‘अब मैले कसैको मुख ताक्नुपर्दैन।’

दुई छोरीहरूलाई गाउँको माइतीघरमा छाडेर सदरमुकाममा सीप सिक्न आएकी तिरुवाले अब सीप सिकेर आत्मनिर्भर बनेको र छोरीहरूलाई पढाउने इच्छा रहेको बताइन्। ‘अब आफूलाई आफैँले पाल्न सक्छु’, उनले भनिन्, ‘छोरीहरूलाई पढाउने धोको पनि पूरा हुने भयो।’

सीप सिकेका कारणले समाजमा अहिले बिगतको भन्दा अरूको हेर्ने दृष्टिकोणमा फरक आएको र समाजका अगाडि ठाडो शिर बनाएर हिँड्न पाएको तिरुवाले बताइन्। ‘सीप सिकेका कारणले कसैको अगाडि झुक्नुपरेको छैन्’, उनले भनिन्, ‘समाजका अगाडि शिर ठाडो पारेर हिँडिरहेकी छु।’

सिलाइ कटाइको तालिम लिइरहेकी खाँडाचक्र नगरपालिका– ४ ताडीकी २७ वर्षकी कर्णशिला पाण्डे पनि एकल महिला हुन्। कलिलै उमेरमा एकल महिला बनेकी उनका दुई छोरा छन्। दुई छोरालाई स्कुल पढाउन र पालनपोषणमा समस्या भएकाले के गरौैँ के गरौँ लागेर सिलाइ कटाइको तालिम लिएको उनको भनाइ छ।

आफूलाई बाँच्ने आधार पनि हुने र छोराको पालनपोषण गर्न सकिने लागेर सिलाइ कटाइको तालिम लिन लागेको पाण्डेले बताइन्। ‘सानै उमेरमा विवाह भयो’, उनले भनिन्, ‘२३ वर्षको उमेरमै बिधवा भएपछि छोराहरूको पालनपोषणमा समस्या भयो। त्यसलाई हल गर्न अहिले सिलाइ कटाइको तालिम लिएर आत्मनिर्भर बन्दै छु।’
सीप नै बाँच्ने आधार भएको बताउने पाण्डे आफू जस्तै एकल महिलाले बाँच्नका लागि सीप सिक्नुपर्ने बताउँछिन्।

परंपरावादी समाजमा एकल महिलाहरूलाई बाँच्नका लागि ठूलो संघर्ष गर्नुपर्ने बाध्यता रहेको र एकल महिलाले आत्मनिर्भर बन्न गरेको यो प्रयास निकै प्रशंसनीय भएको नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति कालीकोट पूर्व कोषाध्यक्ष दिलु बमले बताइन्। ‘हाम्रो समाजमा एकल महिलालाई बाँच्नका लागि निकै गाह्रो छ’, उनले भनिन्, ‘आत्मनिर्भर हुनका लागि एकल महिलाले गरेको यो प्रयास धेरै राम्रो छ।’

कालीकोट जिल्लामा करिब छ हजार एकल महिला रहेका छन्। एकल महिलाहरूलाई सामाजिक, साँस्कृतिक मान्यताका कारणले समाजमा निकै गाह्रो रहेको छ।

एकल महिलाहरूप्रति समाजमा हुने विभेद हटाउन सीपमूलक तालिम दिएर रोजगार बनाउनुपर्ने जिल्ला समन्वय समिति कालीकोटका संयोजक अनिपाल शाहीले बताए। ‘एकल महिलालाई सीपमूलक तालिम दिएर रोजगार बनाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि हामीले विभिन्न संघसंस्थाहरूसँग समन्वय गरिरहेका छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.