अहिलेको भण्डारण क्षमताले पाँच वर्षपछि दुई दिन मात्रै धान्छ

|

काठमाडौं : करिव डेढ महिनको अवधिमा नेपाल आयल निगमले तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विद्यार्थी संगठनहरूले त्यसको विरोध गरेका छन्। स्थानीय तहको दोस्रो चरणको निर्वाचनअघि मूल्य बढाएको नेपाल आयल निगमले प्रधानममन्त्री शेरबहादुर देउवाको दबाबमा मूल्य फिर्ता लिएको थियो। तर, सबैको मागबमोजिम स्वचालित मूल्य प्रणालीमा आयल निगम गएको बताउँदै निगमले यस्तो मूल्य प्रणालीमा अवरोध नगर्न आग्रहसमेत गरेको छ। यसै विषयमा नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतसँग भागवत भट्टराईले गरेको कुराकानी:

डेढ महिना पनि नबित्दै आयल निगमलाई तीन पटक मूल्य बढाउनुपर्ने अवस्था कसरी आयो?

निगमले २०७१ सालदेखि नै स्वचालित आधारमा मूल्य समायोजन गरेको छ। त्यस हिसाबले आईओसी (इन्डियन आयल कर्पोरेसन)बाट महिनाको १ र १६ तारिखमा नयाँ मूल्य आउँछ। त्यो मूल्यमा बढेको छ वा घटेको छ, यसै आधारमा स्वचालित मूल्यको सूत्रअनुसार मूल्य समायोजन गरिन्छ। 

तर घट्दा घटाउन पनि नसकेको र बढ्दा बढाउन पनि नसकेको अवस्था पनि त छ, चुनावअघि पनि तपाईंहरूले फिर्ता लिएकै हो, यो स्वाचालित मूल्य प्रणालीअनुसार थियो त्यसो भए?

हेर्नुस्, हामीले स्वचालित मूल्य भएपछि २२ पटक मूल्य घटाएका छौँ विगतमा। पेट्रोल १३४ रुपैयाँ लिटर पनि थियो। त्यो के हो भने आईओसीबाट घटेर आउँदा घटाउने र बढेर आउँदा बढाउने हो। बीचमा समायोजन नभएको कारण निगमलाई घाटा पनि भयो। घाटा हुँदा पहिले अलिकति नाफामा थियो। नाफा हुँदा एकाएक आएर नोभेम्बरसम्म यति धेरै बढ्यो कि निगम नै घाटामा गयो। त्यसका लागि एक अर्ब दुई करोड रुपैयाँ मन्त्रालयमार्फत् त्यो घाटा माग गरेका छौँ। त्यसपश्‍चात् जसरी बढेको छ, त्यहीअनुसार बढाउने हो, घट्दा हामी घटाउँछौँ।

त्यसो त तपाईंहरूलाई नाफा बढाउने र बोनस खाने कुरा न हो? 

यो पूरै पारदर्शी छ। जुन हिसाबले मूल्य आउँछ, त्यसैअनुसार नै हामीले गर्ने हो। अझ हामी धेरै घाटाम भएको पदार्थ एकै पटक बढाउने र थोरै नाफा भएकोमा घटाउने गरेका छैनौँ? जस्तो: एलपीजीमा प्रति सिलिण्डर २०८ रुपैयाँ ३० पैसा हामीलाई घाटा छ। डिजेलमा २ रुपैयाँ ७१ पैसा घाटा छ, पेट्रोलबाट २ रुपैयाँ ६७ पैसा नाफा  छ १ रुपैयाँ ७४ पैसा घाटा छ। मट्टितेलमा १५ रुपैयाँ २७ पैसा नाफा छ।

हामीले एकै पटक तर बढाएनौँ, फर्मुलाले त्यो गर्न पनि दिँदैन। यसको निश्चित नियम छ। त्यो प्रतिवद्धताभित्र रहेर काम गर्नुपर्छ। पेट्रोलमा अलिकति नाफा भए तापनि त्यो नाफा एलपीजीको घाटापूर्तिमा गएको छ। यति बढाउँदा पनि हाम्रो अहिलेको घाटा २६ करोड ४० लाख रुपैयाँ रहेको छ। अब १५ दिनपछि मूल्य आएपछि बढाउँदा बढ्छ, घटाउँदा घट्छ।

मूल्य वृद्धि फिर्ता लिन आन्दोलन भइरहेको छ, अघिल्लो पटक त दबाब आयो भन्दै घटाउनुभएको थियो, पछिल्लो पटक बढाएको मूल्य घटाउने अवस्थामा निगम छ?

दबाब दिने, आन्दोलन गर्ने कुरा होइन। हामीले बढाएको कारण सही छ कि छैन? स्वचालित मूल्य प्रणालीअनुकूल हो कि होइन? निगम पारदर्शी छ वा छैन? यी विषय हेर्ने हो। हामीमा भएको स्वचालित मूल्य प्रणाली नै ठीक छ कि छैन? त्यो भनौँ पहिले। विगतमा सबैले स्वचालित मूल्य प्रणाली भनेकै हो। हामीले त्यहीअनुसार अघि बढाएका हौँ।

आयल नगमले दुई वर्ष पहिलेदेखि नै  पेट्रोलियम पाइप विस्तारको कुरा अघि बढाएको थियो, त्यो काम कति भयो?

पेट्रोलिमय पाइप लाइनको प्रोजेक्ट अघि बढेको छ। मैले सुनेअनुसार मेनलाइनको टेण्डर इन्डियन आयल कर्पोरेसनबाट छनोट भएको छ। अब जुन कन्ट्र्याक्टर परेको छ, त्यो परिचालन हुँदै छ। यसलाई विभिन्न चरणमा अघि बढाइएको छ। अबको १५ महिनामा पाइप लाइन बिच्छ्याउने काम सकिन्छ। 

यथार्थमा त त्यो हिसाबले काम अघि बढेको छैन, विगतदेखि नै ढिला हुँदै गएको छ नि!

होइन, धेरै काम भइरहेको छ। बीचमा टीपी प्वाइन्टहरू जडान भइरहेका छन्। रुट निश्चित भएको छ। ईआई (वातावरणीय प्रभाव मूल्यांकन) को रिपोर्ट मन्त्रालयमा गइसकेको छ। यता कन्ट्र्याक्टरको छनोट भएको छ। त्यसैले यो काम अघि बढेको छ। 

तर रुटमा पर्ने बस्ती हटाउन सक्नुभएको छैन, रूख काट्न सक्नुभएको छैन नि!

यसम समस्या छ, चुनौती पनि छ। आखिर राष्ट्रिय गौरवको आयोजना हो यो, पूरा गर्नुपर्छ। 

सातै प्रदेशमा पेट्रोलियम भण्डारणको काम कहाँ पुग्यो त?

पाँच वर्षे योजना हो त्यो। समयमै पूरा गर्छौं। बीचमा विवाद भए पनि अब काम अघि बढ्छ। यो काम अब रोकियो भने हामीसँग पाँच वर्षपछि पेट्रोलको दुई र डिजेलको पाँच दिन मात्र सप्लाई गर्नसक्ने क्षमता हुन्छ। यो मुलुकका लागि राम्रो होइन, त्यस हिसाबले जसरी पनि काम गर्नुपर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.