यी हुन् सिस्नुका फाइदा

|

उदयपुर : ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नुको चर्चा परिचर्चा। कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नुको महत्त्व र व्याख्या अहिले अपरंपार छ। 

शहरका ठूलाठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुरेन्टहरूमा महँगो खानाको परिकारमध्येमा सिस्नु पनि एक हो। यसरी महँगो परिकार बन्न थालेपछि गाउँघरमा त्यसै खेर जाने सिस्नु आम्दानीको राम्रो स्रोत बनेको छ।

सिस्नुको धूलो बेचेर मनग्य कमाइ गर्न थालेपछि उदयपुरको रौतामाई गाउँपालिका– ५ का अतिविपन्न, एकल महिला तथा दलित महिलाहरूको परिवार चलाउने स्रोत पनि अहिले सिस्नु नै बनेको छ। गाउँघरका गहिरा खोल्सामा खेर जाने सिस्नुलाई प्याकेटमा प्याक गरेर बजार पुर्‍याउँछन्। 

यसरी बजार पुर्‍याउने रौतामाई गाउँपालिका– ५ का अतिगरिव, विपन्न, दलित तथा एकल महिलाहरूको मुख्य पेसा बनेको छ। रौतामाई गाउँपालिका– ५ मा महिलाहरूले लेकाली महिला सिस्नु प्रशोधन केन्द्र नै स्थापना गरेर सिस्नुलाई आम्दानीको गतिलो स्रोत बनाउँदै लगेका हुन्।

अतिगरिव, विपन्न, दलित तथा एकल महिलाहरूले प्रशोधन केन्द्रमार्फत् सिस्नु संकलन गर्छन्। प्रशोधन केन्द्रमा आवद्ध तिनै महिलाहरूको दैनिकी अहिले सिस्नु संकलनमा बित्ने गरेको छ। ‘दैनिक संकलन गरेको सिस्नु प्रति किलो ५० रुपियाँमा खरिद गर्ने गरेका छौं’, केन्द्रका व्यवस्थापक मैया विकले भनिन्, ‘एक जनाले एक दिनमा १० किलोसम्म संकलन गर्नुहुन्छ।’ व्यवस्थापक विकका अनुसार एक जनाले दैनिक ५०० रुपैयाँ ज्याला पाउने  गरेका छन्। दैनिक रूपमा सिस्नु संकलन गर्ने पार्वती परियारले मासिक रूपमा १० देखि १५ हजार रुपैयाँसम्म कमाइ हुने गरेको बताइन्। ‘संकलन गर्न नै समस्या हुन्छ’, उनले भनिन्, ‘अरूको खेतबारीमा काम गर्न जानुभन्दा सिस्नु संकलनले फाइदा दिने गरेको छ।’

सिस्नु संकलनमा त्यस भेगमा रहेका हिमाली महिला समूह, मालमासे महिला समूह, पोखरी, फूलबारी महिला समूह, रौता र लेकाली महिला समूह, रौता जुटेका छन्। बजारको माग बढ्दै गएपछि प्रशोधन केन्द्रले सिस्नु संकलनको क्षेत्र बढाउँदै लगेको छ।

गाईघाटमा रहेको गैरसरकारी संस्था चेलीबेटी क्लवको सहयोगमा बाँसको र्‍याक बनाएर सुकाएर प्रशोधन गर्ने केन्द्र स्थापना भएको छ। क्लवका अध्यक्ष तारा राईले आर्थिक समस्या र क्षेत्र क्षेत्रमा बिजुलीको पहुँच नभएकाले सिस्नु पिस्ने विद्युतीय मिल राख्न नसकेको बताइन्। ‘अन्य बालीनालीभन्दा त्यस क्षेत्रमा सिस्नुको धेरै सम्भावना छ’, उनले भनिन्, ‘वैज्ञानिक तरिकाले सिस्नुको उपयोग गर्न सक्नुपर्छ।’

यस्तो छ बजारको माग

गाईघाट, कटारी, बेल्टार, लहानलगायतका साना खुद्रा व्यापारीहरू हातले धूलो बनाएको सिस्नु खरिद गर्न प्रशोधन केन्द्र नै पुग्ने गरेका छन्। प्रशोधन केन्द्रकी व्यवस्थपाक मैया विकले आएका व्यापारीलाई समेत मागेको सिस्नुको धूलो दिन नसकेको बताइन्। ‘हातले बनाएको धूलो अग्यार्निक हुन्छ भन्दै आउनुहुन्छ’, उनले भनिन्, ‘लेकाली क्षेत्र पर्ने भएकाले घाम नलाग्दा सुकाउन समस्या हुन्छ, विद्युतमा सुकाउन भने बिजुली छैन।’

बजार क्षेत्रमा रहेका सपिङ सेन्टर, होटल, होस्टेलमा सिस्नुको माग बढ्दै गएको छ। गाईघाटका बंगलामुखी सपिङ सेन्टरका सञ्चालक केदार थापाले सिस्नुको धूलोको माग बढ्दै गएको बताए। ‘सिस्नुको धूलो खोज्ने बढ्दै गएका छन्’, उनले भने, ‘एक दुई पटक रौताबाटै ल्याएर ग्राहकको मन बुझाए पनि मागेको जति दिन सकेका छैनौँ।’ 

सुकाएको धूलो बनाई प्याकिङ गरिएको सिस्नुको धूलो प्रति किलो आठ सयदेखि नौ सय रुपैँयासम्ममा बिक्री हुने गरेको छ। कृषि विकास कार्यालय उदयपुरका बाली विकास अधिकृत रामसेवक ठाकुरले उदयपुरमा व्यावसायिक रूपमा सिस्नु खेती गरेरै आम्दानी गर्न सकिने बताए। ‘पछिल्लो समय बजारमा सिस्नुको धूलोको माग बढेको बढेकै छ’, उनले भने, ‘उदयपुरको महाभारत लेकाली क्षेत्रमा प्रशस्त सिस्नु पाउने भए पनि उपयोग हुनसकेको छैन।

यस्ता छन् सिस्नुका फाइदा

मानव स्वास्थ्यका लागि स्वास्थ्यवद्र्धक सिस्नु ग्याष्ट्रिक, कब्जियत, पायल्स, मधुमेह, उच्च रक्तचाप, जुका र युरिक एसिडलगायतका लागि औषधि हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। विशेषगरी सिस्नु उच्च रक्तचाप, मधुमेह रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ।

यसका अलावा मानिस र पशुहरूको हात खुट्टा भाँचिएको बेला पनि सिस्नु प्रयोग गर्ने गरिन्छ। अझ दूध दिने गाई, भैँसीलाई सिस्नुको खोले (खाना) ख्वाउन सके दूधमा समेत वृद्धि हुने शेर्पा आयुर्वेदिक औषधालयका वैद्य तेजनारायण शेर्पा बताउँछन्। 

रायोको सागमा ३५० आईयू भिटामिन मात्रै पाइन्छ भने सिस्नुमा १२ सय आईयू भिटामिन ए र भिटामिन सी अत्यधिक रूपमा पाइने उनको भनाइ छ। त्यस्तै, आइरन, फोलिक एसिडलगायतका अन्य तत्त्वहरू पनि यसमा पाइन्छन्। भिटामिन पाइने अन्य तत्त्वहरू भन्दा सिस्नुमा सबैभन्दा बढी भिटामिन पाइने चिकित्सकको भनाइ छ।

सिस्नुको नियमित प्रयोगबाट मिर्गौलाको समस्या, पिसाब पोल्ने, दम, बाथ रोगलाई फाइदा हुन्छ। रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम पनि सिस्नुले गर्ने शेर्पा बताउँछन्। यसका साथै सिस्नुको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाया पनि हटाउँछ। महिनावारी अनियमित हुने स्त्री रोग, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, जण्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, मुत्र रोगी, रक्तअल्पता, नपुंसकता, बाँझोपन भएका बिरामीलाई पनि सिस्नु उपयोगी मानिन्छ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केका हाडहरूलाई जोड्न, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरीरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसेर सोला हान्ने जस्ता रोग निको पार्न सिस्नुको पाउडर प्रयोग हुने गरेको छ। यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान पनि सकिन्छ। यसमा हुने रौँ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकाले पीडादायी हुन्छ तर पानीमा उमालेपछि ती तत्त्वहरू हराएर जान्छन्।

सिस्नुको सोही दुर्गुणका कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो। यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी आइरन, पोटासियम, खनिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलनमा रहेको छ। यसमा रहेको प्रोटिनका कारण शाकाहरीहरूका लागि सिस्नु अति उत्तम भोजन हो।

उदयपुरमा सिस्नु खेतीको सम्भावना यस्तो छ 

सिस्नु खेतीका लागि जिल्लाका आठवटै स्थानीय तहमा प्रचुर सम्भावना छ। हर्देनी, मयाँखु, लेखानी, सिरिसे, सोरुङ छविसे, लिम्पटार, तापाश्री, बर्रे, पञ्चावती, ओख्ले, लेखगाउँ, इनामे, पश्चिमी क्षेत्रदेखि पूर्वी क्षेत्रमा पर्ने रौता, साउने, चौदण्डी, मैनामैनीसम्मको मध्यपहाडी महाभारत क्षेत्र अतिउपयोगी भएको कृषि विकास कार्यालय उदयपुरका बाल विकास अधिकृत रामसेवक ठाकुरले बताए। ‘जिल्लाको मध्यमहाभारत पहाडी क्षेत्रमा सिस्नुको खेती गर्न सकिन्छ’, ठाकुरले भने, ‘सरकारी तथा गैरसरकारी कार्यालयले अहिलेसम्म सिस्नु खेतीका कार्यक्रम बनाउन नसक्दा कृषको ध्यान गएको छैन।’

जिल्लामै पहिलो पटक दिएको रौतामाई– ५ का केही अतिगरिव, विपन्न तथा एकल महिलाहरूले सिस्नुबाट आम्दानी लिइरहे पनि अन्य क्षेत्रमा खेर गरिहेको छ। पहाडी क्षेत्रमा गहिरा खोल्सामा खेर गइरहेको सिस्नुलाई प्रयोगमा ल्याई घरेलु उद्योगमा विकास गर्न सकिने देखिन्छ। हर्देनीको कात्तिकेलगायतका केही स्थानका कृषक समूहले लघु उद्यमको माध्यबाट सिस्नुको मुना, फूल जम्मा गरी प्याकिङ गरेर बिक्रीको थालनी गरेका छन्। 

स्रोत साधनको कमीले सिस्नुको व्यावसायिक खेतीको सुरुवात नभएको राष्ट्रिय कृषक समूह महासंघ नेपाल जिल्ला कार्यसमितिका सचिव कुशल राउतले बताए। ‘सिस्नुको बजार धेरै राम्रो छ’, राउतले भने, ‘पूर्ण रूपमा अग्र्यानिक भएकाले उचित मूल्य पाउँदा अन्य बालीको तुलनामा कृषकले यसबाट धेरै मूल्य पाउँछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.