|

गोरखा : नेपाल भन्नुभन्दा अगाडि नै आउँछ गोरखा। अझ नेपालीको खास पहिचान विदेशमा ‘गोरखाली’बाटै हुने गरेको पनि छ आजसम्म। यसर्थ पनि गोरखा नाम नसुन्ने सायदै होलान्। 

गोरखासँग जोडिएको अर्काे नाम हो, मनास्लु। यो हिमाल हो र यसलाई विश्वमा ज्यानमारा हिमाल (किलर माउण्टेन)को उपमा पनि दिइएको छ। राउण्ड अन्नपूर्ण जति चर्चामा छ, मनास्लु त्यत्ति चर्चामा अझै छैन। तर पछिल्लो समय अन्नपूर्ण क्षेत्रमा सडक सञ्जाल बनेको र पदमार्ग हराएकाले मनास्लु घुम्न आउनेको संख्या बढ्न थालेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले बताएको छ। 

मनास्लु संरक्षण क्षेत्र रेस्टिकेट क्षेत्रबाट पूर्ण रूपमा फुकुवा नभएकाले अहिलेसम्म वार्षिक रूपमा पाँच हजार हाराहारीमा विदेशी पर्यटकहरू मात्रै मनास्लु घुम्न आउने गरेको तथ्यांक छ। यहाँ घुम्न आउनेलाई सजिलोका लागि मनास्लु क्षेत्र विशेष गरेर दुई भागमा विभाजन गरिएको छ, माथिल्लो मनास्लु क्षेत्र र तल्लो मनास्लु क्षेत्र।

अहिले तल्लोभन्दा माथिल्लो मनास्लु बढी चर्चामा छ, जहाँ हिंसा नै नहुने चुम भ्याली छ। त्यसमा पनि हार मिलेर टलक्क टल्किएका हिमाल, मनास्लुको हिउँ पग्लेर बनेको वीरेन्द्र ताल, काल ताल, गुम्बा, माने, चैत्य अनि हरिया खर्कले मनास्लु पुग्ने मनहरूलाई फुरुङ्ग पारिदिने गर्दछन्।

अहिलेसम्म विशेष गरेर मनास्लु हिमाल आरोहण गर्नेहरू र लार्के भञ्ज्याङ पास गर्ने पर्यटकहरू मात्रै उत्तरी गोरखा घुम्न पुग्ने गरेका छन्। त्यहाँ भएका अन्य पर्यटकीय क्षेत्रहरूका बारेमा जानकारी कम भएर र रेस्टिकेट क्षेत्र भएकाले पनि पर्यटकहरू कम आउने गरेका हुन्। सिधै तिब्बतसँग जोडिएको रुइला भञ्ज्याङ पनि गोरखामै पर्छ। 

मनास्लु क्षेत्रमा तीन हजार ६०० मिटरभन्दा बढी उचाइमा थुप्रै ताल तलैयाहरू छन्। विदेशीहरू विशेष गरेर हनिुमन मनाउन मनास्लु हिमालको काखमा आउने गर्छन्। 

कुनकुन हुन् यहाँका मुख्य घुम्ने ठाउँ?
करिब १०० वर्षदेखिको हिंसा नै नहुने क्षेत्र पनि यहीँ पर्छ। यसलाई चुमभ्याली पनि भनिन्छ। यहाँ राजेन गुम्बा, मु गुम्बा, मिलारेपा थिरन् फु रहेका छन्। उता, नुब्रीमा पनि उत्तिकै मनमोहक ठाउँहरू छन्। गोम्बालोम्टाङ गणेश हिमालको वेसक्याम्प नजिकै धोरचोङ पास, कुताङ क्षेत्र, सेराङ, कालताल, इनाङ गुम्बा हिमाल चुली हिमालको फेदमा पुंगेन हिमनदी, मनास्लु वेश क्याम्प, रुइला पास, लार्के पास, काल ताल र यहाँका खर्कहरू नै यहाँका घुम्ने मुख्य ठाउँहरू हुन्। हिउँमुनिबाट बुढीगण्डकी लुकेर बगेको दृश्य पनि उत्तिकै लोभलाग्दो देखिन्छ। 

यस्तो छ मनास्लु जाने रुट
मनास्लु क्षेत्र गोरखाको आरुघाट क्षेत्र हुँदै र लमजुङबाट मनाङको भिम्थाङ निस्किएर लार्के पिक पाँच हजार १६५ मिटर उचाइ पास गरेर पनि जान सकिन्छ। मनास्लु क्षेत्र जाने पनि गोरखाबाटै थुप्रै रुटहरू रहेका छन्, जुन पर्यटकहरूको रोजाइमा छन्। मनास्लुमा घुम्न सक्ने क्षेत्रमा थोरै समय हुनेहरूले एक हप्ता र समय हुनेहरूले तीन हप्ता घुम्ने ठाउँहरू रहेको छेमकम्पारका पर्यटन व्यवसायीसमेत रहेका धावा लामाले बताए। 

काठमाडौंबाट आउनेहरू गोरखाको आरुघाट बजार वा सोती खोलामा पहिलो दिनको बास बस्छन्। त्यसपछि लापुवेँसी वा  माछाखोलामा। त्यस्तै अर्काे रुट भनेको बारपाकबाट लाप्राक हुँदै सिंग्ला निस्किएर माछाखोला नै निस्कने र अर्काे धादिङकोे फूलखर्क हुँदै गोरखाको केरौँजा यार्साबाट माछाखोला नै झर्ने। यी रुटबाट मनास्लु जान सकिन्छ। 

त्यसपछि माछाखोलाबाट दोभान पुग्न सकिन्छ। अर्काे दिन जगत वा फिलिम पुगेर बास बस्नुपर्ने हुन्छ। त्यहाँबाट चुमभ्याली जानेहरू लोक्पा बास बस्ने, भोलिपल्ट चुम्लिङ पुगेर छेकम्पार वा राजेन गुम्बा घुम्न सकिन्छ। केही मानिसहरू सोही दिन निलेमा झेरेर बस्न पनि सक्छन्। कोही लोक्पा भएर ड्याङबाट मनास्लु विशेष क्षेत्र छिर्छन्। गपबाट सुरु हुने सो क्षेत्र जानेहरू कोही तीन हजार ६०० मिटर उचाइमा रहेको काल ताल जान्छन्, कोही सेराङ। त्यस्तै, ल्होबाट स्याला पनि पर्यटकहरू पुग्छन्। ल्होबाट र सामागाउँबाट फरक फरक ठाउँ तर पुंगेन हिमालकै हिमनदी हेर्न एकाबिहानै पर्यटकहरू उठ्ने गर्छन्। 

सामागाउँबाट वीरेन्द्र ताल हुँदै मनास्लुको पहिलो वेसक्याम्प घुम्न जानेहरूका लागि पनि बाटो छ। वेसक्याम्प नजानेहरू तिम्बतसँग सिमाना जोडिएको गोरखाको अन्तिम गाउँ साम्दोमा बस्न सक्छन्। त्यहाँबाट रुइला पास जान सकिन्छ। रुइलाबाट तिब्बतको कुम्दाङ बजार केही घण्टामै पुगिन्छ। त्यसपछि फर्केर साम्दो नै आएर धर्मशाला बास बसी भोलिपल्ट लार्के पास गरेर मनाङको भिम्थाङ, धारापानी हुँदै लमजुङ निस्कन पनि सकिन्छ। यहाँको विशेषता भनेको सँस्कृति, पाहुनालाई सत्कार र हिमालको सुन्दर दृश्य नै हो।  

कति छ विदेशी र स्वेशीलाई शुल्क?
चुमभ्याली जाने विदेशीलाई सिजनमा ३५ डलरले आठ दिनको यात्रालाई खर्च पुग्नेछ। अफ सिजनमा भने आठ दिनकै १५ डलर प्रति व्यक्ति खर्च लाग्ने गर्छ। 
मनास्लु घुम्न दुईभन्दा कम व्यक्ति आउन सक्दैनन्। किनभने विदेशी पर्यटकलाई दुई व्यक्तिभन्दा कम भए रुट पर्मिट नै दिइँदैन। यता, मनास्लु क्षेत्र मात्र घुम्नेलाई सिजनमा ७० डलर एक हप्ताको खर्च लाग्छ। त्यसभन्दा धेरै बसे हरेक दिन १० डलर थप गर्नुपर्ने हुन्छ। अफ सिजनमा ५० डलरमै विदेशी पर्यटकले एक हप्ता मनास्लु घुम्न पाउँछन्। विदेशीहरूले मनास्लु क्षेत्र घुमेवापत प्रति व्यक्ति मनास्लु संरक्षण क्षेत्र आयोजनालाई दुई हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। नेपालीलाई भने सोही समयको यात्रा गर्दा करिब ३५ हजार रुपैयाँ लाग्ने सामागाउँका होटल व्यवसायी वीरबहादुर गुरुङले जानकारी दिए। 

विदेशीलाई एक छाक खानाको ३५० देखि एक हजार रुपैयाँसम्म शुल्क लाग्छ। नेपालीलाई भने २०० रुपैयाँदेखि माथि रहेको छ। कोठाको भने एक रातको २०० रुपैयाँ लाग्छ। मनास्लु क्षेत्रमा ठाउँठाउँमा सुविधा सम्पन्न होटलहरू समेत रहेका छन्। 

मनास्लु पदमार्गमा भारत, जापान, बेलायत, इजरायल, चिनियाँ, अमेरिकी पर्यटकहरू बढी आउने गर्छन्। बाटोमा फुलेका रंगीबिरंगी हिमाली फूल र तिनको बास्नाले पर्यटकलाई झनै मोहित पार्ने गर्दछ। हिमालप्रतिको मोह, पहाडका रमणीय दृश्य र हिमालका अनुपम रंगहरूको फोटो खिच्न गर्न पाउँदा पर्यटक निकै खुसी हुने गर्छन्।

हेर्नुहोस् फोटा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • We need to promote our place as  <a href="http://www.himalayanleisure.com/nepal/trekking/adventure-trekking/manaslu-circuit-trek ">Manaslu Circuit Trek</a>