आयोजना प्रमुख भन्छन् - लामो समय डिडिसी चल्दैन, कर्मचारी सबै भ्रष्ट छन्

|

विराटनगर : विराटनगरस्थित दुग्ध वितरण आयोजना (डिडिसी)ले २५ हजार मूल्य पर्ने सामान १ लाख ४५ हजार रुपैयाँमा खरिद गरेको पाइएको छ। करोडौं घाटा व्यहोरिरहेको आयोजनाले स–साना सामान खरिदमा पनि वास्तविक मूल्य भन्दा पाँच गुणा बढी मूल्य दिएर सामान खरिद गरेको पाइएको हो।

आयोजनाले २०७४ पुस १२ गते खरिद गरेको एसएस ३०४ ग्रेडको ५ पिस पाइपलाई १ लाख ४५ हजार ७ सय ७० रुपैयाँ तिरेको पाइएको हो। जबकी सोही पाइप विराटनगरमा २५ हजार १ सय ७० मा खरिद गर्न सकिन्छ। आयोजनाका लागि काठमाडौंको लाल ट्रेडिङ कम्प्लेक्सले खरिद गरेको पाइपको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ भने विराटनगरस्थित पञ्चकन्या हार्डवेर्सले २५ हजार रुपैयाँमा दिएको छ।

फरक–फरक मूल्यमा एउटै सामान खरिद गरिएपछि त्यहाँ भ्रष्टाचार भएको कर्मचारीले बताएका छन्। इन्जिनियरिङ शाखाका सुपरभाइजर कृष्णकुमार हलुवाईले पाइप खरिदमा भ्रष्टाचार भएको दाबी गरे। आयोजना प्रमुख सरोजकुमार सिंखडाले भने पाइप खरिदको विषयमा सम्बन्धित शाखालाई सोधिएको र सामान फिर्ता पठाउने तयारी भएको जानकारी दिए। सामान खरिदका लागि इन्जिनियरिङ शाखा प्रमुख परमेश्वर चौधरीले प्रक्रिया मिलाएका थिए।

आयोजनामा भ्रष्टाचार : कर्मचारी

कर्मचारीले उक्त पाइप खरिदमा भ्रष्टाचार भएको भन्दै अन्य सामान खरिदमा पनि चरम भ्रष्टाचार हुने गरेको दाबी गरेका छन्। कम्पनीमा क्षमता भन्दा कमका ३/४ वटा जेनेरेटर खरिद गरेर भ्रष्टाचार भइरहेको, साना तिना पाइपदेखि अन्य काममा पनि भ्रष्टाचार हुने गरेको उनीहरुको दाबी छ। ‘किसानको दूधको फ्याट ठगेर खानेहरु पनि यहाँ छन्,’ इन्जिनियरिङ शाखाका कर्मचारी धर्मनारायण देव भन्छन्, ‘करोडौंको घोटला छ डिडिसीमा, अख्तियारमा निवेदन दिँदा पनि छानबिन भएन।’ आयोजनाको डेरी शाखाका कर्मचारी दयाराम कानगाईंले देशकै आयोजनालाई धरासायी बनाउने काम भइरहेको दाबी गरे। ‘क्षमताभन्दा कम क्षमताका जेनेरेटर खरिद गरेर पटकपटक कमिसन खाइएको छ,’ उनले भने, ‘पहाडमा भएका चिस्यान केन्द्रबाट पनि कमिसन खाइएको छ।’

अर्का कर्मचारी दलबहादुर आचार्यले प्रमुखलाई आयोजना डुब्न नदिनका लागि पटक पटक जानकारी गराउँदा पनि अटेरी भएको बताए। ‘विगतका दिनदेखि सामानको हेरेफेर गर्दा आर्थिक चलखेल हुँदोरहेछ,’ आचार्यले भने, ‘यस पटक त्यो कुराको पर्दाफास भयो।’ भ्रष्टाचार र अनियमितताले सीमा नाघेकै कारण डिडिसी धेरै दिन नटिक्ने त्यहाँका कर्मचारी नै बताउँछन्।

कर्मचारी भ्रष्ट छन् : प्रमुख

३० हजार लिटर दैनिक दूध संकलन गर्ने विराटनगरस्थित दुग्ध वितरण आयोजनामा कर्मचारी भने भ्रष्ट रहेको प्रमुख सिंखडाले बताए। ‘कर्मचारीहरु आफैं बेठीक छन्, करेक्सन गराउन खोजे उद्योग नै चल्दैन,’ सिंखडाले भने, ‘कन्ट्रोल गर्न र भ्रष्टाचार निरुत्साहित गर्न लागेको छु, विगत वर्षमा भन्दा खर्चमा कम भएको छ।’

कर्मचारीको काम गर्ने शैलीका कारण कतिपय अवस्थामा आफूले आँखा चिम्लिनुपरेको उनले बताए। ‘एक जनाले मात्रै काम गरेर हुँदैन, संस्था लामो जाला जस्तो मलाई नै लाग्दैन,’ सिंखडाले भने, ‘कारखाना चलाउने, उत्पादन गर्ने, बिक्री गर्नेलगायतका सबै विषयमा समस्या छ।’ आफ्नो नियतमा खोट नभएको भन्दै सिंखडाले २५ हजार रुपैयाँको सामानलाई १ लाख ४५ हजार मूल्य लगाएर बिल पठाउने सप्लायर्सलाई कालो सूचीमा राख्ने र सामान पनि फिर्ता पठाउने बताए।

निरन्तर धरासायी डिडिसी

क्षमता विस्तार गरिरहेको डिडिसीमा गत वर्षमात्रै २० करोड रुपैयाँ घाटा भएको थियो। यसवर्ष पनि घाटाको अवस्था त्यस्तै हुने आयोजना प्रमुख सिंखडा बताउँछन्। ‘यस वर्षको अवस्था हेर्दा घाटा कम होला जस्तो छैन,’ उनले भने, ‘मार्केट खस्केको छ, प्रतिस्पर्धा धेरै छ, कसरी घाटा कम होला र?’

पूर्वको झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, तेह्रथ्म लगायतका जिल्लाबाट दैनिक ३० हजार लिटर दूध संकलन गर्दै आएको आयोजनाले पूर्वमा बिक्री भने दैनिक १२ हजार लिटरको हाराहारीमा गर्दै आएको छ। अन्य दूध पाउडर बनाउने गरेको छ। विराटनगरमा पाउडर बनाएर काठमाडौं पठाउने गरेको आयोजना प्रमुख सिंखडाले बताए। आयोजनाले पाउडर कारखानाको क्षमता विस्तार गरेको दुई महिना भयो। कारखानाले अहिले दैनिक ६० हजार लिटर दूध पाउडर बनाउन सक्छ।

तर त्यति मात्राको दूध भण्डारण गर्ने र प्रशोधन गर्ने अन्य क्षमता विस्तार नहुँदा समस्या भएको छ। ‘मख्खन बनाउने, फ्याट कटाउने, पानी, बिजुली तथा स्ट्रिम लगायतका क्षमता विस्तार भएको छैन,’ सिंखडाले भने, ‘सो क्षमता अनुसार कोल्ड स्टोरेजको पनि समस्या छ, जाडोमा त ठीकै छ पछि अझै समस्या थपिन्छ।’ आयोजनाले १ वर्षभित्रमा पाउडर प्लान्ट पूर्ण क्षमतामा ल्याउने तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.