|

धनकुटा : प्रदेश नम्बर–१ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै बुधबारदेखि आम हड्तालसहितको आन्दोलनमा उत्रिएका धनकुटाबासीले बिहीबार क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन्।

बिहीबार बिहानै धनकुटा बजारको चोक चोकमा नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका उनीहरू नारा जुलुससहित क्षेत्रीय प्रशासन कार्यालय पुगेर तालाबन्दी गरेका हुन्। आन्दोलनकारीले तालाबन्दी गर्न खोज्दा केहीबेर स्थिति तनावग्रस्त बनेको थियो। तर तालाबन्दी गर्न दिने प्रशासन लचिलो भएपछि स्थिति सामान्य भएको थियो।

विगत २१ दिनदेखि धनकुटा राजधानी हुनुपर्ने माग राखी आन्दोलन गर्दै आएका स्थानीयले सरकारले तयार गरेको खाकामा प्रदेश नम्बर १ को प्रादेशिक राजधानी विराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि आम हड्तालसहित विरोधका कार्यक्रम गर्दै आएका छन्।

धनकुटा राजधानीका लागि हरेक दृष्टिकोणले उपयुक्त भएको हुँदाहुँदै पनि क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहले धनकुटाको गलत रिपोर्ट गरेको भन्दै क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेको बताएका छन्। क्षेत्रीय प्रशासक सिंहलाई पटक पटक वार्तामा बोलाइएको र हालसम्म नआएकाले उनको कार्यालयमा तालाबन्दी गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।

गत मंगलबारसम्म बजार, पसलमात्रै बन्द गरेर आन्दोलनमा उत्रिएका धनकुटाबासी सरकारले अस्थायी राजधानीको रुपमा विराटनगरलाई प्रस्ताव गरेपछि आमहड्तालमा उत्रिएका छन्, जसले गर्दा धनकुटामा आन्दोलन चर्किएको छ।

यता दोस्रो दिनको हड्तालका कारण धनकुटाको जनजीवन थप प्रभावित भएको छ। हड्तालले धनकुटा र हिले बजार बन्द भएको छ। कोशी राजमार्गको धरान–धनकुटा हुँदै भोजपुर, संखुवासभा र तेह्रथुम जाने सवारी–साधन गुडेका छैनन्।

सवारी–साधनबीच बाटोमै रोकिदा यात्रीहरु अलपत्र परेका छन्। सवारी–साधन नचल्दा धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको समेत जनजीवन प्रभावित भएको छ। बुधबारदेखि बन्दकर्ताले राजमार्गमा टायर बालेर सवारी–साधन चल्न नदिएका हुन्। एम्बुलेन्स, प्रेस, विद्यालय, दूध र तरकारी बोकेका सवारी–साधनलाई भने निर्वाध रुपमा सञ्चालन भएका थिए।

संघर्ष समितिले साँझ ५ बजेपछि राति १२ बजेसम्म यातायात खोल्ने निर्णय गरेको परिचालन समिति संयोजक श्रेष्ठले जानकारी दिए।

राणाकालमा प्रशासनिक गौंडा हुँदै पछि आएर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशको केन्द्र भाग, उपयुक्त हावापानी, मजवुत सुरक्षा व्यवस्था, सामर्थ्य, पहिचान रहेको धनकुटालाई छोडेर अन्यत्र प्रादेशिक राजधानी स्वीकार नगरिने अडान राख्दै आएका जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने चेतावनी दिदै आएका छन्।

प्रादेशिक राजधानी घोषणाका लागि पटक पटक दबाब दिदै आएका धनकुटाबासीले पछिल्लो तीन सातायता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानी घोषणाको माग गर्दै आएका छन्।

यता धनकुटाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद राजेन्द्र राईले धनकुटाबासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। उनले पत्रकार सम्मेलन र प्रेस विज्ञप्ति जारी गर्दै धनकुटालाई प्रादेशिक राजधानी बनाउन जस्तोसुकै पहलकदमी लिने प्रतिबद्धता जनाए। धनकुटाको पक्षमा प्रशासन नभएको आरोप लगाउँदै प्रशासनलाई धनकुटाको पक्षमा ल्याउने पहल गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.