|

पाल्पा : गर्भवतीदेखि सुत्केरी अवस्थासम्मका महिलाहरुलाई जिल्लामा कुखुरा वितरण गरिएको छ। अन्तर्राष्ट्रिय संस्था यूएसएड अन्तर्गत पाल्पामा सञ्चालित सुआहारा कार्यक्रमले उनीहरुलाई कुखुरा वितरण गरेको हो। बगनाशकाली गाउँपालिका–९  चापपानीका ८६ घर परिवारका आमाहरुलाई ५ वटाका दरले कुखुरा वितरण गरिएको छ।

उनीहरुलाई दुईवटा भाले र तीन वटा पोथी वितरण गरिएको सुआहारा पाल्पाका कार्यक्रम संयोजक कृष्ण गुरुङले बताए। उनका अनुसार आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो। यो प्रजातीका कुखुराले वर्षदिनमा २ सय ८० भन्दा बढी अण्डा उत्पादन गर्दछ।

सुनौलो हजारका आमा र बच्चालाई पोषणयुक्त खानाको रुपमा अण्डा राम्रो हुने भएकोले आफुहरुले कुखुरा वितरण गरेको कार्यक्रम संयोजक गुरुङले बताए।गर्भवती भएदेखि बच्चा दुई वर्षको हुँदासम्मको दिनलाई सुनौला हजारको दिनको रुपमा लिने गरिन्छ। यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकोले पनि यो समयमा पौष्टिकयुक्त खानाको निकै आवश्यकता पर्दछ। जुन तत्व अण्डाबाट बढी प्राप्त हुने सुआहारा कार्यक्रम अन्तर्गतका कृषि अधिकृत कुलप्रसाद सुवेदीले बताए।

'अण्डामा एउटा सिंगो शरीर निर्माण हुने तत्व पाइन्छ' उनले भने 'गर्भवती हुँदा आमाले खानुपर्ने र बच्चा ६ महिनाको भएपछि स्वयमलाई नै खुवाउनुपर्छ' सुवेदीले थपे 'आफैले उत्पादन गरेको हरियो सागसब्जी, गेडागुडी र फलफुल गरी सन्तुलीत खाना खानु राम्रो हुन्छ।'

कुखुरा वितरण गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले ब्राम्हण समुदायको मानिसले कुखुराको मासु वा अण्डा खानुहुँदैन भन्ने पुरानो चलन रहे पनि यसलाई तोड्न आवश्यक रहेको बताए। 'बच्चाको दिमाग र शरीर सक्षम र सवल बनाउन सन्तुलित खानाको आवश्यकता पर्छ' उनले भने 'यो प्राप्तिको लागि कुखुराको मासु र अण्डा खान आवश्यक छ।'

जिल्लाको साविकका १६ वटा गाविसका गरी २ हजार ७३ घर परिवारका हजार दिनका आमाहरुलाई कुखुरा वितरण गर्ने कार्यक्रम रहेको बेस नेपाल पाल्पाका कार्यकारी प्रमुख शालिकराम पाण्डेले बताए। अहिलेसम्म बल्ढेङ्गढी, सिद्देश्वर, फेक, दोभान र चापपानीका आमाहरुलाई कुखुरा वितरण गरिसकिएको छ। बाँकी गाविसहरुमा केहीदिनमै वितरण गर्ने कार्यक्रम रहेको उनले बताए।

कुखुरा वितरण र तरकारी उत्पादन कार्यमा जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालयले प्राविधिक सहयोग गरेका छन्। 'विपन्न परिवारलाई कुखुरा राख्ने खोर निर्माणको लागि नगद सहयोग गरेको छौं' कार्यकारी प्रमुख पाण्डेले भने 'कुखुरा पालन सम्बन्धी तालिम समेत दिएका छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.