|

भद्रपुर, (झापा) : सांसद विकास कोष र स्थानीय दाताको सहयोगमा झापाको भद्रपुरमा निर्मित पक्की शव दाह (घाट) स्थल सञ्चालनअघि नै भत्किएको छ। 
जिल्ला प्राविधिक कार्यालय झापाको स्टिमेट बमोजिम निर्माण समितिले नबनाउँदा पक्की शवदाह स्थल कामै नलाग्ने गरी भत्किएको हो। घाट निर्माण लागि खर्च भएको ७ लाख २५ हजार रुपैयाँ बलुवामा पानी हाले सरह भएको स्थानीय बताउँछन्। 

मानिसको मृत्युपछि व्यवस्थित रुपले दाहसंस्कार गर्ने उद्देश्यले साविक चन्द्रगढी गाविस हाल भद्रपुर नगरपालिका १० का केही वडाबासीको भेलाले भद्रपुर र हल्दिवारी गाउँपालिकाको सीमानासंग जोडिएर बग्ने देउनिया नदीमा मलामी विश्रान्ती भवनसहित घाट निर्माण गर्ने योजना अघि सारेको थियो। 

२०७० माघ ११ गते बसेको वडाबासीको भेलाले माधवप्रसाद गौतमको संयोजकत्वमा १३ सदस्यीय भवन निर्माण तदर्थ समिति गठन गरेको थियो। समितिले कलबलगुरी शव विश्रान्ती देवनिया घाट भनेर नामकरण पनि गरेको थियो। त्यसै महिनाको १९ गते राधाकृष्ण ढकालको संयोजकत्वमा सात सदस्यीय स्रोत संकलन र डिल्लीराम खतिवडाको संयोजकत्वमा आठ सदस्यीय निर्माण उपसमिति पनि गठन गरिएको थियो।

समितिहरुले २०७१ वैशाख १७ गते भवन तथा घाटको शिलान्यास गरेका थिए। तर अहिलेसम्म निर्माण गरिएको कलबलगुरी शव विश्रान्ती देवनिया घाट सञ्चालनमा आउन सकेको छैन। सञ्चालनमा आउनअघि नदीमा आएको बाढीले घाट भत्काइसकेको छ। निर्माणाधीन अवस्थामा रहेको भवन वरीपरी झार पलाएको छ। निर्माण समितिका संयोजक गौतमले प्राविधिक कार्यालयका इन्जिनियर तथा स्थानीयको सल्लाह बगेर एकलौटी निर्णय लिएर घाट बनाउँदा अहिले घाट कामै नलाग्ने गरी भत्किएको स्थानीय नागरु राजवंशीले आरोप लगाए। 

उनले भने, 'हामीले बोल्दा त बाठो हुन्छस, तलाइ के थाहा छ? यस्ता काम कति गरियो गरियो भन्दै, बोल्नै नदिने अध्यक्षका स्वभावले हचुवाको भरमा काम गर्दा जनताले दिएको घर लौरी र सरकारको रकम खेर गयो।' सार्वजनिक भौतिक संरचनामा स्थानीयको समेत लगानी परेकोले प्राविधिक त्रुटीले गर्दा जनताको रकम पानीले बगाएर लगेको स्थानीय रामजी दाहालले बताए। ‘पिलर उठाएर तलबाट पानी बग्ने गरी घाट निर्माण गर्नुपर्नेमा त्यसो नगर्दा घाट भत्किएको हो' स्थानीय युवराज दाहालले भने, ‘प्राविधिकको स्टिमेट बमोजिम कम नगर्दाको परिणाम हो यो।’

भवन तथा घाट निर्माणको लागि स्थानीय दाता, संसदकोष र संघसंस्थाले दिएको २० लाख रुपैयाँमध्ये १९ लाख ७५ हजार खर्च भइसकेको समितिका कोषाध्यक्ष डिल्लीराम खतिवडाले बताए। उनका अनुसार दाताबाट १२ लाख ५० हजार, संसद विकास कोषको ७ लाख र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिवाट ५० हजार रकम संकलन भएपछि निर्माण कार्य सुरु गरिएको हो। भवन निर्माणमा १२ लाख ५० हजार र घाट निर्माणमा ७ लाख २५ हजार खर्च भइसकेको उनले बताए।

निर्माणाधीन संरचनाको स्टिमेट तयार पार्ने जिल्ला प्राविधिक कार्यालय झापाका प्राविधिक सन्तोष आचार्यले घाट भत्किएको विषयमा आफूलाई थाहा नभएको बताए। ‘नदीमा पिलर धसाएर घाट बनाउने स्टिमेट तयार गरेका थियौं', उनले भने, ‘समितिले रकम अभाव देखाउँदै खर्च बढी लाग्ने भन्न थालेपछि समितिकै निर्णयले स्टिमेट विपरीत काम गरिएको हो।’

'खोलामा बाढी आउँछ त्यसैले काम चलाउ बनाउने भनेपछि समितिकै आदेशमा काम सुरु गर्न दिएका हौ, उनले थपे। समितिका पदाधिकारीलाई पटक–पटक सम्पर्क गर्न खोज्दा एकले अर्कालाई देखाउँदै उनीहरु सम्पर्क आउन चाहेनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.