|

  • भविश्वर पाण्डे-

कावासोती : सुस्ताको झोलुङ्गे पुल निर्माणमा ठेकेदारले ढिलाइ गर्दा स्थानीय वासिन्दा गाउँपालिकाको केन्द्र र सदरमुकाम आवतजावत गर्न पनि नदीमा जोखिमपूर्ण यात्रा गर्न विवश छन्। कछुवा गतिमा भइरहेको पुल निर्माणले सुस्ताबासी कहिले सुखको दिन आउला भन्ने अन्योलमा छन्। 

नारायणी (गण्डकी) पारी भारतको विहारसँग जोडिएको सुस्ता भूमि र जिल्लाको सुस्ता गाउँपालिका जोड्ने गरी सरकारले २ वर्ष अगाडि झोलुङ्गे पुलको आयोजना दिए पनि उक्त पुल निर्माण नै एक वर्ष ढिलो सुरु भयो। 

वर्षाैदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवा जोड्न एसियाकै दोस्रो ठूलो झोलुङ्गे पुलको आयोजना ल्याएको थियो। २०७३ सालको पुसमा सुरु भएको पुलको निर्माण अहिलेसम्म ५ प्रतिशत पनि हुन सकेको छैन। पुलको निर्माण सुरु भएको २ वर्ष भए पनि पिलरको निर्माण नै सकिएको छैन। पुल निर्माणमा पटक पटक विवाद समेत हुने गरेको छ। प्राविधिक गडबडी र विभिन्न विवादले पटक पटक अवरुद्ध हुदै आएको पुल निर्माण कार्य ५ वर्षमा पनि पूरा नहुने स्थानीय वासिन्दा बताउँछन्। 

एक हजार ५ सय ७१ मिटर लम्बाई र डेढ (१.६) मिटर चौडाइ रहेको उक्त झोलुङ्गे पुलको बेस बनाउन जम्मा १६ वटा पाइल मात्र राखिएको छ। पुलको निर्माणका लागि कुल २ सय २० वटा पाइल राखेर ४ वटा अग्लो पिलर ठड्याउनुपर्छ भने १० वटा सानो पिलर ठड्याई पुल बाध्ने काम गरिने साइट सब इन्जिनियर गोपालबहादुर थापाले बताए। त्रिशुली आश्रय जेभी कन्सट्रक्सन कम्पनीले २७ करोड रुपैयाँमा ठेक्का लिएको उक्त पुलको निर्माण कार्यमा ढिलाई हुनुमा लामो समय मधेस आन्दोलन, वर्षायाममा भीषण बाढी र भारतीय पक्षले गरेको विवाद मुख्य कारण रहेको साइट सब इन्जिनियर थापाले बताए।

नारायणी (गण्डक) नदीपारी भारतको विहार सीमासंग जोडिएको नेपालकै भूमि सुस्ता पुग्न नेपालको एक मात्र बाटो जोखिमपूर्ण डुङ्गा यात्रा हो। हाल सुस्ता गाउँपालिकाको वडा नं. ५ मा पर्ने सुस्ता भूमि पुग्न नदीवारी पक्लिहवा गाउँस्थित नदीको बाँधबाट करिब साढे २ किलोमिटर डुङ्गा यात्रा गर्नुपर्छ। यस यात्रामा २ घण्टा भन्दा बढी लाग्छ। 

वर्षाको बेला उच्च बाढीका कारण सुस्ताबाट आवतजावत गर्नै सकिने अवस्था रहदैन। वर्षाैंदेखि सुस्ताबासी कुनै प्रकारको सरकारी तथा गैरसरकारी कामकाज गराउन र किनमेल गर्न त्रिवेणी बजार आउन पर्दा जोखिमपूर्ण यात्रा डुङ्गा नै तारेर आउने गर्छन्। डुङ्गाको सफर सुख्खायाममा दुरी कम र जोखिम पनि कम हुन्छ तर वर्षातको मौसममा यात्रा लामो हुनुका साथै उच्च जोखिम पनि रहने सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताए।

सुस्तामा उत्पादित बालीहरु बेचविखन गर्न र मजदुरी गर्न पनि डुङ्गा नै तारेर आवतजावत गर्छन् सुस्ताबासी। सुस्ताबासीहरुको मुख्य पेशा खेती र माछा मार्ने हो। सुस्तामा खास गरी विपन्न परिवारका समुदायहरुको बसोबास बढी छ। सुस्ताबाट नेपाल आवतजावत गर्न अर्काे विकल्पको बाटो भारतीय बाटो पनि छ जुन बाटो तय गर्दा डुङ्गा चढ्न पर्दैन तर त्यो बाटो प्रयोगमा भारतीय एसएसबीले पटक पटक रोक लगाउनेदेखि सुस्ताबासीहरुलाई मानसिक एवं शारीरिक यातनासमेत दिन्छ। एसएसबीको ज्यादतीले सुस्ताबासी त्यो बाटो प्रयोग गर्न डराउने अध्यक्ष गुरुङले बताए।

विगतमा बाढीको बेला डुङ्गाको यात्रा गर्दा कतिपटक त डुङ्गै पल्टेर भौतिक तथा मानवीय क्षति भएको गुरुङले दुखेसो पोखे। 'डुङ्गा चढिन्छ तर पारी सही सलामत पुगिन्छ कि नाई भन्ने त्रास मनमा बसिरहन्छ। छोटो दुरीमा आफ्नो बचाउका लागि सबै सुस्ताबासीहरु पौडी सिकेका छन्।' करिब ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सुस्ता गाउँको १४ हजार ४ सय हेक्टर २०६२ सालदेखिनै भारतीय पक्षले अतिक्रमण गरेका छन्। ७ हजार हेक्टर क्षेत्रफल भातरले जोतभोगबाट रोक समेत लगाएको छ। करिब ३ सय घरधुरी रहेको सुस्ता भूमिमा बाटो, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधारसमेत छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.