सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–८ कि सम्झना तामाङ २०६८ सालमा वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी थिइन्। गएदेखि नै सम्झनाले बाबु आमालाई फोन गरिरहन्थिन्।
एक वर्षदेखि भने सम्झनासँग परिवारका सदस्यको सम्पर्क भएको छैन। ‘पहिले सबै राम्रो चल्दै थियो। तर खै अहिले के भयो कुन्नी? एक बर्ष भयो हामीलाई फोन गर्न छोडेको, उता उसको अवस्था कस्तो छ केही थाहा छैन’ बाबु टुल्कु तामाङले भने।
सम्झनाकी आमा पनि वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा छिन्। एक वर्षअघि सम्झनाले कुवेतमा भएकी आमालाई पनि फोन गरेकी थिइन्। उनले फोटो र भाइबहिनीका लागि लुगा पनि पठाइदिएकी थिइन्। फेसबुकमा गाउँबाट विदेश साथीहरुसँग पनि कुरा भइरहन्थ्यो सम्झनाको। अहिले आमालाई फोन गरेकी छैनन् भने फेसबुकमा पनि साथीहरुले भेटेका छैनन्। 'त्यसैले अहिले सम्झना कस्तो अवस्थामा छिन् भन्ने कसैले पत्ता लगाउन सकेको छैन' बाबु टुल्कुले भने।
सम्झना दुबई गएको एक वर्षपछि उनकी आमा पनि कुवेत गइन्। हिजोआज टुल्कुलाई पत्नीले पनि सम्पर्क गर्न छोडेकी छन्। 'छोरी गएको १ वर्षपछि बुढी पनि कुवेत गई। विदेश गएपछि मलाई वास्ता गरिन' टुल्कुले भने ‘गाउँमा अरुलाई त फोन गर्दिरहिछ, मलाई चाहिँ फोन गरेको छैन। मसँग पहिले पनि छोरीले कुरा गरेकी थिइन। आमा हुँदा छोरीले पनि आमालाई फोन गर्थी। अहिले न बुढी सँगै छ, न छोरी सम्पर्कमा छ।'
छोरी सम्पर्कविहीन अनि पत्नीले वास्ता नगरेपछि एक्लै परेका टुल्कुलाई २०७२ वैशाखको भूकम्पले कहिल्यै बिर्सिन नसक्ने पीडा दियो। सात छोराछोरी रहेको टुल्कुको दुई छोरी सोममाया र सानुमायाको मृत्यु भयो। भूकम्पपछि टुल्कुकी पत्नी घर आएकी थिइन्। तर चार महिना बसेर फर्किन्। त्यसपछि न पत्नीको फोन आएको छ न त छोरीको नै। अहिले दुई जना साना छोरा उनको साथमा छन्।
‘आफूलाई नसम्झिए पनि कक्षा ४ र ७ मा पढ्दै गरेका भाइ र छोरालाई सम्झिएर छोरी र बुढी आइदिए हुन्थ्यो’ टुल्कु भन्छन् ‘आमाले त बिर्सियो बिर्सियो छोरीको मुख देख्न पाउथें कि।’ ‘दुईटी छोरी भुइँचालोले लग्यो, एउटी विदेशमै हराई’ उनले गहभरी आँशु पार्दै भने ‘छोरी सम्झना दुबई गएको ७ वर्ष पुग्यो। पोहोरसम्म छोरीले घरमा फोन गर्दै थिई, अहिले फोन नगरेको एक वर्ष पुग्यो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।