|

वीरगञ्ज :  वीरगञ्जलाई प्रदेश नं.२ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग गर्दै शुक्रबारदेखि वीरगञ्जमा रिले अनसन सुरु भएको छ। राजधानीको माग गर्दै आन्दोलित भएका बारा र पर्साका नेता तथा स्थानीयले दबाबस्वरुप वीरगञ्जको घण्टाघरमा रिले अनसन सुरु गरेका हुन्।

अनसनको सुरुवातमा रहेका १२ जना युवा नेताहरुलाई वीरगञ्जका नगरप्रमुख विजय सरावगीले माला लगाई स्वागत तथा शुभकामना दिए। रिले अनसनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र चौधरी, नेकपा एमालेका युवा नेता वसरुदीन अन्सारी, शम्भु गुप्ता, तरुण दल बाराका अध्यक्ष लोकेश सिह, युवा नेताहरु ओमप्रकाश सर्राफ, कमल चौगाई, दुर्गा क्षेत्री, सञ्जय सर्राफ, रुदल ठाकुर महम्मुद अन्सारी, वृजकिशोर चौधरी, रञ्जु दहाललगायत सहभागी छन्। 

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रदेशसभा सांसदसमेत रहेका ओमप्रकाश शर्माले वीरगञ्ज राजधानी हुनपर्ने मागप्रति आफ्नो ऐक्यवद्धता रहेको बताए। बारा प्रसौनी गाउँपालिकाका नागरिक समाजका अध्यक्ष विनोद पटेल र चिकित्सक संघ पर्साका अध्यक्ष जगदिश अग्रवालले पनि आन्दोलनमा ऐक्यवद्धता जनाए। वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै पर्साको ग्रामीण भेगमा पनि प्रदर्शन गरिएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाको ६  वटै वडामा शुक्रबारदेखि आन्दोलन सुरु भएको हो।  

गाउँपालिकाका अध्यक्ष जालिम मियाको नेतृत्वमा ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ। प्रदेश नं २ को राजधानी वीरगञ्जलाई नबनाए सरकारको विरुद्धमा थप कडा आन्दोलन गरिने प्रमुख मियाँले बताए। पर्सालाई प्रदेश नम्बर २ को राजधानी बनाउने विषयमा विभिन्न संघसंस्थाले पनि ऐक्यवद्धता जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.