|

काठमाडौं : डा. भोला रिजाल अर्थात् वरिष्ठ स्त्री रोग विशेषज्ञ। उनको नाम नसुन्ने सायदै होलान्। उमेरले ६३ वसन्त पार गरेका रिजाल अझै उत्तिकै सक्रिय छन्। चार दशकदेखि चिकित्सा क्षेत्रमा सक्रिय रिजालको व्यस्तता कम भएको छैन। उनको चिकित्सकीय रेखदेखमा जन्मिएका सयौँ बच्चा अहिले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रको महत्त्वपूर्ण जिम्मेवारीमा छन्। कति त हजुरबा हजुरआमासमेत भइसकेका छन्।

उनकै पहलमा नेपालमा टेस्टट्युब बेबी जन्माउने प्रविधि भित्रिएर सफल प्रयोगसमेत भइसकेको छ। लामो समयसम्म सन्तान सुख नपाएर तड्पिएका दम्पती उपचारपछि आमाबुबा बन्दा उनलाई भगवानकै रूपमा सम्मान गर्छन्। त्यसैले त कतिपयले डा. रिजाललाई ‘सन्तानेश्वर महादेव’ पनि भन्ने गरेको उनी स्वयं बताउँछन्।

हरेक दिन बिहान ७ बजे घरबाट निस्कने रिजाल बेलुका अबेर मात्रै घर पुग्छन्। उनको अधिकांश समय अस्पतालमा बिरामीसँगै बित्छ। तथापि, उनी कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा समेत पुग्न भ्याउँछन्। त्यससँगै साहित्य सिर्जनामा पनि उनले समय दिएकै हुन्छन्। व्यस्त समयका बाबजुद उनले आफ्नो दैनिक कार्यतालिका कसरी व्यवस्थापन गरेका छन् त? 

हरेक दिन मन्दिर जान्छु

म हरेक दिन बिहान साढे ४ बजेदेखि ५ बजेभित्र उठिसकेको हुन्छु। ६ बजेसम्म नित्यकर्म सकेर म घर छेउमै रहेको मन्दिरमा भगवानको दर्शन गर्न पुग्छु। सवा ६ बजेसम्ममा दर्शन गरेर घर फर्किन्छु अनि घरको पूजाकोठामा रहेको बत्ती लिएर तुलसीको मठ र वर–पिपलमा जल चढाउँछु। ५ मिनेटमा यो काम सकिएपछि १० मिनेटसम्म घरको आँगनमा परेवालाई चारो दिने काम गर्छु। यति गर्दासम्म बिहानको साढे ६ भइसकेको हुन्छ।

ब्रेकफास्टमा दैनिक एक गिलास दूध

हरेक दिन बिहान ७ बजे घरबाट निस्किसकेको हुन्छु। घरबाट निस्कनुअघि ब्रेकफास्ट लिन्छु। ब्रेकफास्टमा दूध कहिल्यै टुट्दैन। एक गिलास दूधमा कन्फ्लेक्स खान्छु र  करिब ७ बजे घरबाट निस्कन्छु।

बिहानको खाना सधैँ अस्पतालमै

बिहान करिब सवा ७ बजे अस्पताल पुगेको हुन्छु। अस्पतालको गेटमै रहेको मन्दिरमा  दर्शन गरेर म सिधै अपरेसन थिएटरमा छिर्छु। त्यहाँ अपरेसनका लागि बिरामी तयार भएका हुन्छन्। अपरेसन गर्दागर्दै  त्यहीँ नै घरबाट सरला (श्रीमती) ले खाना पठाउँछिन्। अपरेसन रुममै साढे १०-११ बजेको बीचमा खाना खान्छु । खाना प्रायः सादा हुन्छ। तामा, सजिवन, मस्यौरा मलाई मनपर्ने तरकारी हो। बिहानको खानामा कहिल्यै माछामासु खाँदिनँ। औँशी, पूर्णिमा र एकादशीबाहेक बेलुकाको खानामा माछामासु अनिवार्य खान्छु।

बिरामीको अवस्था हेरेर कहिलेकाहीँ खाना खाने समय तलमाथि हुन्छ। बिहानको खाना खाइसकेपछि ओपीडीमा बिरामी जाँच्न बस्छु। करिब २ बजेसम्म बिरामी जाँचेपछि मेरो खाजा खाने समय हुन्छ।

दिउँसोको खाजा फलफूल

प्रायः खाजामा सिजनअनुसारको फलफूल नै हुन्छ। यसका अलावा घरबाट आउँदा लिएर आएको चिनीरहित कालो चिया, परौठा, रोटी–तरकारी पनि खान्छु। तर, धेरैजसो खाजामा फलफूल नै खाने गर्छु। खाजा खाइसकेपछि वार्डमा रहेका बिरामीहरूको राउन्डमा लाग्छु। यसबीचमा कहिलेकाँही आपतकालीन अपरेसनमा पनि जानुपर्ने हुन्छ। यति बेलासम्म बेलुकाको ६ बजेको हुन्छ।

म ओम अस्पतालको व्यवस्थापनमा पनि रहेकाले ६ बजेपछि मात्र आफ्नो रुममा पस्छु। त्यहाँ अस्पताल व्यवस्थापनका साथीहरूसँग कुरा गरिसकेपछि ८ बजे घर फर्कन्छु। कहिलेकाहीँ सामाजिक कार्यमा जानुपर्‍यो भने घर नगई त्यतै जान्छु। जहाँ गए पनि करिब साढे ९ बजेभित्र घर पुगिसक्छु।

व्यायाम कहिल्यै गर्दिनँ

अनौठो लाग्न सक्छ, मैले आजसम्म व्यायाम र योगा गर्ने गरेको छैन। बिहानदेखि नै अस्पतालमा तलमाथि गर्दा नै मेरो व्यायाम हुन्छ। पहिले पहिले साइक्लिङ गर्थें। तर, ढाडको समस्या भएदेखि त्यो पनि गर्न सक्दिनँ।

कहिलेकाहीँ स्वास्थ्य परीक्षण गर्छु

बेलाबेलामा स्वास्थ्य जाँच गराइरहन्छु। मुटुमा समस्या देखिएपछि आठ वर्षअघि सिटी एन्जिओग्राम गरेको थिएँ। मुटुको रक्तसञ्चार हुने दुईवटा प्वाल टालिएको रहेछ। त्यसैबेला मुटुमा स्ट्रेन्थ पनि हाल्नुपरेको थियो। बेलाबेला त्यसैको परीक्षण गर्नुपर्ने हुन्छ।

लामो समयदेखि ढाडमा चाहिँ समस्या छ। ढाडमा नसा च्यापिएको भनेर पनि भन्छन्। त्यसैले बिरामीको अपरेसन गर्दा पनि बेल्ट लगाउनुपर्छ। यसबाहेक आजसम्म स्वास्थ्यमा खासै समस्या छैन तर बेलाबेलामा स्वास्थ्य परीक्षण गर्ने गरेको छु।

अपरेसन थिएटरमा नै गीत लेख्छु

घरबाट ७ बजे निस्किएपछि बेलुका सात बजेसम्म बिरामीका सेवामा हुन्छु। यसले गर्दा बिरामीको सेवाबाहेक अन्य लेख रचना गर्न विरलै समय मिल्छ।

मेरो पहिलो प्राथमिकता भनेको बिरामीलाई सफल उपचार गरेर घर पठाउने नै हुन्छ। प्रायः मकहाँ गम्भीर प्रकृतिका प्रसुति र महिलासम्बन्धी समस्याका बिरामी आउने गर्छन्। यसले गर्दा धेरै समय अपरेसन थिएटरमै हुन्छु। अपरेसन गर्दागर्दै केही शब्द फुर्‍यो भने म त्यहीँ लेख्ने गर्छु। कहिलेकाहीँ अपरेसन गर्दा केही शब्द फुर्‍यो र लेख्ने समय मिलेन भने मोबाइलमा रेकर्ड गर्छु।

मसँग यसरी रेकर्ड गर्नका लागि भनेर सोनीको छुट्टै एउटा मोबाइल छ। बाटोमा हिँड्दा रेकर्ड गर्न मिलेन भने डायरीमा लेख्छु। मसँग सानो एउटा डायरी कहिल्यै छुट्दैन। यसरी लेखको रचनालाई बेलुका घर पुगेपछि मात्र पूर्ण रूप दिन्छु।

(थाहाखबरकर्मी सविना खनालसँगको कुराकानीमा आधारित।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.