उपप्रधानमन्त्री थापा भन्छन्- मन्त्रालय जानु न नजानु भएको छ

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेससँगको सहकार्य प्रभावकारी नहुनु र निर्वाचनको केही समयअघि पार्टी विभाजन हुँदा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हार व्यहोर्नुपरेको निश्कर्ष निकालेको छ।

गत बुधबारदेखि आज शुक्रबारसम्म बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनको समीक्षा गरी हारको कारण पहिल्याएको हो। अध्यक्ष कमल थापाले कांग्रेससँगको सहकार्य प्रभावकारी नहुनु, सरकारमा जानुको औचित्य पुष्टी गर्न नसक्नु र पार्टी फुट नै हारको प्रमुख कारण रहेको बताए। उनले भने, 'राष्ट्रवादी र हिन्दुराष्ट्र पक्षधरलाई विभाजित गर्ने र निर्वाचनपूर्व राप्रपा विभाजन गर्ने कार्य गरेकोले हार भएको हाम्रो बैठकको ठहर हो।'

कांग्रेसको अगुवाइमा निर्माण भएको लोकतान्त्रिक गठबन्धन व्यवहारिक नभएको पनि थापाले बताए। थापाले भने, 'नेपाली कांग्रेससँग गरेको सहकार्य प्रभावकारी भएन र लोकतान्त्रिक गठबन्धन व्यवहारिक नभएको, सिद्धान्तमा मात्रै सीमित भयो।'

नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई इमानदारितापूर्वक भोट नहालेको पनि राप्रपाले दावी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा धेरै सिट नदिएको र सहकार्यप्रति इमानदारिता नदेखाएको राप्रपाले कांग्रेसलाई आरोप लगाएको छ। उसले बलियो र प्रभावकारी रुपमा लोकतान्त्रिक गठबन्धन बनाउन असफल हुनु नै हारको कारक रहेको निश्कर्ष निकालेको छ।

राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको सहकार्यमा १ सिट जित्यो भने समानुपातिक निर्वाचन पद्धतितर्फ प्रदेशसभामा १, ३ र ६ मा एक-एक सांसद मात्रै पाएको छ। राप्रपाले निर्वाचनमा हार व्यहोर्नुको मुख्य कारण धेरै सिट गठबन्धनको नाममा कांग्रेसलाई छोडेर आफ्ना उम्मेदवार नउठाउनु पनि रहेको ठहर गरेको छ। 

राप्रपा अध्यक्ष थापाले संविधान संशोधनबारे पार्टीले स्पष्ट धारणा सार्वजनिक नगर्नु, सरकारमा जानुको औचित्य कार्यकर्तामाझ पुष्टी गर्न नसक्नु पनि हारको कारण भएको बताए। 

राप्रपाले हारका सम्पूर्ण कारण र आधार खोज्न एक समितिसमेत गठन गरेको छ। हारबारे विस्तृत अध्ययन तथा अनुसन्धान गरेर सुझाव दिने कार्यभार पाएको समितिमा डा. विष्णु भण्डारी संयोजक रहेका छन् भने समितिमा केन्द्रीय सदस्यहरु गोविन्द खनियाँ, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही रहेका छन्।

राप्रपा हारको असर के होला?

हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मुद्दा लिएर चुनावमा होमिएको राप्रपाले हिन्दु राष्ट्र पक्षधर र राष्ट्रवादी शक्ति कमजोर भएकाले यी विषयमा आवाज उठाउनेको संख्यामा कमी आउने निश्कर्ष निकालेको छ।

भविष्यमा के होला भन्नेबारे अध्यक्ष थापाले भने, '९४ प्रतिशत सनातन धर्ममा आस्था राख्नेको सांसद एक जनामात्र भएकोले हिन्दुराज्य र राष्ट्रवादी शक्ति कमजोर हुन पुगेको छ। धर्म परिवर्तन गराउने पक्षको मनोवल उच्च हुनेछ।' संसदमा राप्रपाको प्रतिनिधित्व एक जनामा सीमित भएकोले अब बाह्य शक्तिको खेल्नेहरुको मनोवल उच्च भएको राप्रपाको निश्कर्ष छ।

राप्रपाको अबको कार्यदिशा

राप्रपाको केन्द्रीय कार्यसमितिले अब संगठन विस्तारमा केन्द्रित हुने निश्कर्ष निकालेको छ। त्यसका लागि केही कार्यनीति पनि तय गरेको छ। राप्रपाले वैचारिक र सांगठनिक कार्यदिशाबारे बहस गर्न देशव्यापी कार्यक्रम तय गरेको छ। राप्रपा अध्यक्ष थापाका अनुसार राप्रपाले फागुन अन्तिम साता केन्द्रीय परिषदको बैठक वीरगञ्जमा बोलाएको छ। माघ महिनामा ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्ने कार्यक्रम तय गरेको छ भने फागुन दोस्रो हप्ता राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय समेत गरेको छ।

थापा भन्छन्, मन्त्रालय न जानु न नजानु भएको छ

उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले अहिले ऊर्जा र सहरी विकास मन्त्रालय सम्हालिरहेका छन्। उनी राप्रपाको हारको कारक भनेर निश्कर्ष निकालिएको नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी छन्।

अध्यक्ष थापाले सरकारबाट राजिनामा दिनेबारे बैठकमा कुरा नउठेको र आफूलाई पनि के गरौं के नगरौं भएको बताए। राजिनामा दिनेबारे सोधिएको प्रश्नमा थापाले भने, 'मन्त्रालय जानु न नजानु भएको छ। राजिनामा दिएर पनि के गर्ने! अब चाडो (नयाँ) सरकार बन्नुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.