|

  • भोजराज कार्की-

सोलुखुम्बु : चिराइतोबाट राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान एक दशकयता चिराइतो खेतीतर्फ आकर्षित बनेका छन्। ‘दुहुनो गाई’को रूपमा लिइने चिराइतो खेतीबाट केही वर्ष अगाडिसम्म मनग्य आम्दानीसमेत लिएका त्यस भेगका नागरिक यतिबेला चिराइतोले मूल्य नपाउँदा चिन्तित बनेका छन्।

किसानले राम्रै मकै, कोदोलगायतको खेती हुने बारीमा व्यावसायिक रूपमै चिराइतो लगाएका छन्। खेती सुरु गर्दा उनीहरूले चिराइतोबाट मनग्य आम्दानी लिने सपना देखे। ५ वर्ष पहिला उनीहरूले देखेको सपनाअनुसार राम्रै रकम पनि लिन सफल भए। महाकुलुङ क्षेत्रको गुदेल, बुङ, छेस्कामलगायत छेत्रमा चिराइतो खेती गर्ने कृषकको लहर नै चल्यो। सुरुवातमा आकर्षक मूल्य प्राप्त गरी यो खेतीमा लोभिएका कृषक वर्सेनि मूल्यमा गिरावट आएपछि अहिले चिन्तित बनेका छन्।

उचित मूल्य नपाउँदा जडिबुटीका लागि महत्त्वपूर्ण मानिने चिराइतो बारीमा नै सुक्ने क्रम बढेकोे कृषक छिरिङ शेर्पाले बताए। महत्त्वपूर्ण जडिबुटीको रूपमा लिइने चिराइतोको २०६६÷०६७ सालदेखि किसानहरूले खेती लगाउन सुरु गरेका थिए। कृषक शेर्पाले भने, ‘खेतीयोग्य जमिनमा चिराइतो लगायौँ तर अहिले मूल्य नपाउँदा पुरानै खेती पो ठीक थियो कि जस्तो लाग्छ।’

जंगली जनावरबाट जोगाउनु नपर्ने र जंगलको आसपासमा मज्जाले खेती लगाउन सकिने चिराइतोबाट किसानले २०७० सालबाट आम्दानी लिन सुरु गरेका थिए। प्रति मन (४० किलो) २२ हजार रुपैयाँको दरले बिक्री गरी एक परिवारले तीन लाख रुपैयाँसम्म वार्षिक आम्दानी लिन सफल भएको कृषक हरिधनी कुलुङले बताए।
तर  २०७१ सालमा १५ हजार, ७२ मा १२ हजार हुँदै ०७३ सालमा प्रति मन मूल्यमा अझ बढी गिरावट आएर तीन हजार २०० रुपैयाँमा झर्‍यो। साविकको गुदेल गाविसमा मात्रै वर्सेनि साढे तीन सयदेखि ४०० मन चिराइतो उत्पादन हुँदै आएको छ। उत्पादन बढी र माग कम भएपछि मूल्यमा गिरावट आएको हुनसक्ने किसानले अनुमान गरेका छन्।

चैत तथा बैशाख महिनामा चिराइतो खेती लगाई तीन वर्षपछि आम्दानी लिन सकिन्छ। महाकुलुङ क्षेत्र अलैँचीका साथै चिराइतो खेतीका लागि पनि उपयुक्त मानिन्छ। साविकको गुदेल गाविसमा व्यावसायिक रूपमा चिराइतो खेती गर्ने कृषकहरू ५० जनाजति छन्।

चिराइतो खेतीलाई व्यवस्थित गरी कृषकको आम्दानी बढाउनका लागि  जी फाउन्डेसन  नामक गैरसरकारी संस्थाको  प्राविधिक सहयोग र नवज्योति युवा मंच सोताङको साझेदारीमा तालिम संचालन गरी किसानलाई बीउ वितरण गरिएको युवा मंचका उपाध्यक्ष जेबी कुलुङ बताउँछन्। हिमाली प्रोजेक्टले पनि गोडमेल र सिँचाइ  सामग्री तथा बीउ वितरण गरेको थियो।

परियोजनाको सहयोग, स्थानीय कृषकको मिहिनेतअनुसारको आम्दानी पनि नभएको भने होइन, तर बजारले निरन्तरता नपाउँदा समस्या उत्पन्न भएको किसान बताउँछन्। कृषक विनोद कुलुङले भने, ‘चिराइतो खोज्नेहरू घरघरै आउँथे, अहिले कोही पनि आउँदैनन्। कता लगेर बिक्री गर्नु, त्यो पनि थाहा छैन।’ पहिले राम्रै फाइदा भएको तर दुई वर्षयता चिराइतो बारीमै सुकिरहेको उनको भनाइ छ।

भनेजस्तो मूल्य नपाएपछि किसानले गत वर्षदेखि अहिलेसम्मकै चिराइतो थन्क्याएर राखेका छन् भने कतिपयले बारीबाट संकलनसमेत गरेका छैनन्। कुनै दिन राम्रो मूल्यमा बिक्री हुन्छ भन्ने आशाका साथ साँचेर राख्दा भण्डारणको  उपयुक्त वातावरण मिलाउन प्राविधिक सीप तथा भण्डारण गर्ने ठाउँको समेत अभावका कारण चिराइतो बिग्रिने सम्भावना रहेको कृषक तारा कुलुङले बताए। उनले भने, ‘चिराइतोबाट आम्दानी हुन छाडेपछि घर व्यवहार चलाउन मुस्किल पर्‍यो।’

चिराइतो जस्तो जडिबुटीको बजारीकरणका लागि उचित व्यवस्थापन गर्न सरकारी निकायले पहल गरिदिन महाकुलुङ क्षेत्रका कृषकले माग गरेका छन्। यसअघि चिराइतो स्थानीय व्यापारीमार्फत् झापाको विर्तामोडमा निर्यात गरिँदै आएको तर दुई वर्षदेखि कृषकको घरमै थन्किएर बसेको बताएक छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.