|

दाङ : २०७१ चैतमा तुलसीपुरमा स्थापना भएको मालपोत कार्यालयमा कर्मचारी अभावका कारण कामकाजमा समस्या भएको कार्यालय जनाएको छ। 

आठ महिनाअघि तुलसीपुर मालपोतमा सरुवा भई आएका  प्रमुख  नरेशकुमार खड्काले दरबन्दी थप गर्न माग गर्दै कहिले जिल्ला, कहिले केन्द्रमा पहल गरेको बताए। आफूले पटक पटक सम्बन्धित निकायमा कर्मचारी माग गरिरहेको भए तापनि  अहिलेसम्म कुनै सुनुवाइ नभएको प्रमुख खड्काको भनाइ छ। सबैभन्दा कम दरबन्दी तुलसीपुरमै रहेको उनले बताए।

जिल्लामा तीन स्थानमा मालपोत कार्यालय छन्। मालपोत कार्यालय घोराही र लमहीले अन्य तीनवटा निर्वाचन क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् तर तुलसीपुर, घोराही र लमहीका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी अर्थात् ४५ प्रतिशत सेवाग्राही भएको क्षेत्रमा कर्मचारी अभावमा दैनिक कामकाज प्रभावित भएको प्रमुख खड्काले बताए। 

मालपोत कार्यालय तुलसीपुर दाङका महत्त्वपूर्ण फाँटहरू कार्यालय सहयोगीको भरमा चलिरहेका छन्। जग्गासम्बन्धी अभिलेख राख्ने, तामेली, दर्ता, चलानीलगायतका महत्त्वपूर्ण फाँटहरू कार्यालय सहयोगीको भरमा चलिरहेका छन्। आवश्यक कर्मचारी नुहँदा बाध्य भएर कार्यालय सहयोगी राख्नुपरेको  प्रमुख खड्काको भनाइ छ। कार्यालय सहयोगीहरूले सञ्चालन गरेका फाँटहरूमा नायव सुब्बा, खरिदार सरहका कर्मचारीले हेर्नुपर्ने हुन्छ। तर अहिले कार्यालय सहयोगीले सञ्चालन गरिरहेकाले जिम्मेवार बन्न नसकेको अधिकृत खड्काको भनाइ छ।

मालपोत कार्यालय तुलसीपुरमा जम्मा १४ जनाको दरबन्दी छ भने घोराहीमा २९ र लमहीमा २६ दरबन्दी रहेको उनले जानकारी दिए। नयाँ संरचनाअनुसार पनि मालपोत तुलसीपुरले चारवटा स्थानीय तह हेर्नुपर्छ भने घोराहीले तीन र लमहीले तीन स्थानीय तह मात्रै हेर्नुपर्छ। प्रमुख खड्काले मालपोत कार्यालय तुलसीपुले तुलसीपुर उपमहानगरपालिकासहित शान्तिनगर, दंगीशरण र बबई गाउँपालिका पनि हेर्नुपर्ने हुन्छ। त्यस्तै, मालपोत कार्यालय घोराहीले घोराही उपमहानगरपालिका र बंगालचुली गाउँपालिकामा सेवा दिँदै आएको छ भने लमहीमा रहेको मालपोत कार्यालयले लमही नगरपालिकासहित राजपुर, गढवा र राप्ती गाउँपालिकालाई सेवा दिँदै आएको छ। 

अहिले तीन कर्मचारीले गर्ने काम एक जना कर्मचारीले मात्रै गर्नुपर्ने बाध्यता रहेको अधिकृत खड्काले बताए। उनले भने,  मोठ, श्रेस्तामा तीन जना कर्मचारी चाहिने तर अहिले आफूले बिहान ६ बजेदेखि साँझसम्म गर्दै आएको नायब सुब्बा शालिकराम देवकोटाले बताए।

कार्यालयमा अहिले एक जना मालपोत अधिकृत, चार जना नायव सुब्बा, तीन जना खरिदार, दुई जना कम्प्युटर अपरेटर, एक जना सहलेखापाल र तीन जना कार्यालय सहयोगी कार्यरत छन्।

यी कर्मचारीले दैनिक मालपोत आउने तीनदेखि चार सय सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या हुने गरेको छ।  सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न ३० जना कर्मचारी आवश्यक पर्ने प्रमुख खड्काले बताए। मालपोत कार्यालय तुलसीपुरमा आवश्यक कर्मचारी माग गर्न यहाँका राजनीतिक दल, नागरिक समाजलगायत सरोकारवाला निकायले पहल थाल्नुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.