|

बैतडी : चार वर्षको अवधिमा प्रदेश नम्बर– ७ बाट अख्तियारमा भ्रष्टाचारसम्बन्धी तीन हजार ६०० बढी उजुरी परेको तथ्यांक सार्वजनिक भएको छ। 

२०७० सालदेखि २०७४ मंसिर मसान्तसम्म सुदूरपश्चिमका नौवटै जिल्लाबाट तीन हजार ६६३ वटा भ्रष्टाचारका उजुरी परेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ।

शुक्रबार बैतडीमा कर्मचारी, नागरिक समाज र संचारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै कार्यालयले पछिल्लो अवस्थाबारे जानकारी गराएको हो। कार्यालयको तथ्यांकअनुसार बैतडीबाट अख्तियारमा ४३१ वटा उजुरी परेको छन्। पछिल्लो एक वर्षको अवधिमा बैतडीबाट ४८ उजुरी थपिएका हुन्। 

७ नम्बर प्रदेशको कैलालीबाट सबैभन्दा बढी एक हजार ४० उजुरी परेका छन्। यस्तै कञ्चनपुरबाट ८९५, डोटीबाट २९३, डडेल्धुराबाट २९७, दार्चुलाबाट २२३, बझाङबाट २०७, अछामबाट १६० र सबैभन्दा कम बाजुराबाट १०३ उजुरी दर्ता भएका जानकारी दिइएको छ। 

तीन हजार २३६ उजुरी फछर्यौट 
कार्यालयले कुल तीन हजार ६६३ उजुरीमध्ये तीन हजार २३६ उजुरी फछर्यौट गरेको छ भने ४२७ उजुरीमाथि छानविन भइरहेको जनाएको छ। 

बैतडीबाट परेका कुल उजुरीमध्ये ३६० उजुरी फछ्र्यौट भएका छन् भने ७१ वटा उजुरी बाँकी रहेको बताइएको छ। बैतडीबाट शिक्षा क्षेत्रमा परेका सबैभन्दा बढी १८३ उुजुरीमध्ये १४६ फछ्र्यौट भएका छन्। 

यस्तै, संघीय मामिलासम्बन्धी ७२, वन तथा भूसंरक्षण ३४, शहरी विकास २४, स्वास्थ्य १५, भूमिसुधार १४, भौतिक पूर्वाधार तथा यातायातअन्तर्गत १२, सिँचाइ १२, गृह ९, सहकारी तथा गरिबी निवारण ९, ऊर्जा ८, संस्कृति तथा पर्यटन ५, कृषि ६, अर्थ ३, लोक सेवा २ र विविध २१ गरी ४३१ उजुरी दर्ता भएका छन्।

संगठित भ्रष्टार हुने गरेको गुनासो 
आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा आयोगको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले दल र कर्मचारीको मिलोमतोमा संगठित भ्रष्टाचार हुने गरेको गुनासो गरेका छन्। दलका नेता ठेक्का निर्माणमा लाग्ने गरेका र कार्यकर्तालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर सडक निर्माण र संसद् विकास कोषमा नेता तथा कर्मचारी मिलेर संगठित भ्रष्टाचार गर्ने गरेको सहभागीहरूले आयोग समक्ष गुनासो गरेका हुन्।

अन्तर्क्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कञ्चनपुरका प्रमुख विष्णुसिंह विष्टले अख्तियारमा उजुरी दिने बानीको विकास गर्न आग्रह गरे। ‘कुनै पनि क्षेत्रमा भ्रष्टाचार, अनियमितता भएको देखेमा वा शंका लागेमा उजुरी गर्न आग्रह गर्दछु’, विष्टले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.