|

रूपन्देही : रूपन्देही देवदहका व्यवसायी वसन्त पौडेलको शुक्रबार गोली हानी हत्या भएको छ। देवदह– २, ढेकावारस्थित फर्निचर उद्योगमा उनको गोली हानी हत्या भएको हो।

कालो होण्डा मोटरसाइकलमा नकाव लगाएका दुई जनाको समूहले हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। श्रीमती सावित्रासँगै फर्निचर परिसरमा आगो तापिरहेका ३९ वर्षका पौडेललाई नकावधारीले ग्राहक बनेर गेटबाहिर बोलाउँदै गोली हानेका थिए।

भागेर तोरीबारीमा पुगेका उनलाई गोली हानेपछि ती बन्दुकधारीहरू मोटरसाइकल चढेर नदी बगरतर्फ भागेका थिए। 

प्रहरीको विरलै उपस्थिति हुने घटनास्थल महेन्द्र राजमार्गसँग जोडिएको खैरेनीचोकभन्दा झण्डै सात किलोमिटर टाढा रहेको छ। पौडेलको घटनास्थलमैै निधन भएको प्रत्यक्षदर्शीले बताए पनि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत घोषणा गरिएको थियो।

पौडेल एमाले निकट युवा संघका क्षेत्रीय सदस्य हुन्। एमालेका जिल्लास्तरीय नेता नीलकण्ठ पौडेलका एक्ला छोरा वसन्त राजनीतिभन्दा व्यवसायमा बढी आवद्ध रहेको देवदह नगरपालिकाका प्रमुख हीरा केसीले बताए। उनको उज्ज्वल फर्निचर उद्योग सञ्चालनमा रहेको छ। पौडेलको निधनपछि श्रीमती, दुई छोरा र छोरीसहितको परिवार शोकमा डुबेको छ। 

रूपन्देहीको देवदहमा गत वर्षको पुस ४ गते इट्टा व्यवसाय गर्दै आएका युवा संघका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो। तिवारीको हत्या र शुक्रबार हत्या भएका पौडेलको हत्याको प्रकृति र जिम्मा लिने व्यक्ति एकै देखिएका छन्।

संयोग कस्तो पनि छ भने तिवारीको हत्या हुँदा बुटवलमा प्रदेश नम्बर– ५ को विषयमा आन्दोलन चर्किएको थियो। अहिले पनि सोही मुद्धामा बुटवल आन्दोलित छ।
तर यी हत्याका पछाडि राजनीतिक दाउपेच नभएको प्रहरीले बताएको छ। ‘हामीले घटनामा संलग्न अपराधीहरूको खोजी गरिरहेका छौँ’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन भट्टराईले भने, ‘अपराधको सबै पाटाबाट अनुसन्धान जारी छ।’

एक वर्षअघि दुर्गा तिवारीको हत्यालगत्तै देवदह घर भएका फरार अभियुक्त मनोज पुनले जिम्मा लिएका थिए। यस पटक पनि गोली हानेर पौडेललाई अस्पताल ल्याउँदा नल्याउँदै पुनले नै जिम्मा लिएका हुन्। 

आफू मलेसिया रहेको बताउँदै सञ्चारकर्मीलाई फोन गरेर पुनले व्यक्तिगत रिसइबीका कारण हत्या गरेको बताएका छन्। प्रहरीले पुनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको छ।

दुर्गा तिवारीको हत्यापछि गठित केन्द्रीय अनुसन्धान टोलीले चन्दा आतंक र व्यक्तिगत रिसइबीका कारण पुनले आपराधिक घटना घटाउने गरेको प्रतिवेदन गृहमन्त्रालयलाई बुझाएको थियो। 

वर्षैपिच्छे युवाहरूको गोली हानी हत्या भएपछि देवदहवासी त्रसित छन्। हत्यालगत्तै त्यहाँ केही व्यवसायीलाई पुनले ‘देखिस्’भन्दै धम्क्याउने गरेको एक व्यवसायीले बताए। नगरपालिकाका प्रमुख केसीले हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न माग गरे। 

ढेकावारकी सुमित्रा शर्माले एकै वर्षमा तीन जनाको हत्या भएको भन्दै जीउ जोगाउन पनि कठिन भएको बताइन्। ‘दिउँसै गोली हानेर मान्छे मारिन्छ, खै हाम्रो सुरक्षा?’, उनले भनिन्। गत वर्षको कार्तिकमा देवदह नगरपालिका– २ ढेकावार, हजरीटोलकी सुत्केरी २४ वर्षकी नमकला पाण्डे र पुसमा तत्कालीन युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो। 

अनिश्चितकालीन बन्द
पौडेल हत्याको विरोधमा युवा संघ रूपन्देहीले अनिश्चिकालीन जिल्ला बन्दको आह्वान गरेको छ। घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै जिल्ला बन्दको आह्वान गरिएको जिल्ला अध्यक्ष नकुल शाहीले बताए। 

हत्याको विरोधमा शुक्रबार दिउँसोदेखि नै रूपन्देहीको सडक ठप्प पारिएको थियो। सडक बन्द भएपछि यात्रुहरूले कष्टकर पैदल यात्रा गरेका थिए।

घटनाको सर्वत्र निन्दा र भर्त्सना
रूपन्देहीको देवदह नगरपालिका– २ ढेकावार निवासी वसन्त पौडेल (बलु) लाई गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति मानवअधिकार तथा शान्ति समाज, रूपन्देहीले घोर निन्दा र भर्त्सना गरेको छ। 

मानवअधिकार तथा शान्ति समाज रूपन्देहीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेललाई गोली हानी हत्या गर्ने अपराधीलाई तत्काल प्रकाउ गरी कानुनी कारवाही गर्न माग पनि गरेको छ। 

काठको अर्डर गर्नु छ भन्दै आएका दुई जना अज्ञात व्यक्तिले शुक्रबार बिहान पौडेललाई आफ्नै सः मिल देवदहमा गोली प्रहार गर्दा मृत्यु भएको थियो। 

समाजका अध्यक्ष हरिश ढकाल र सचिव तेजेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा यस प्रकारका अमानवीय घटनाहरू आगामी दिनमा हुन नदिन र रोक्नका लागि राज्य पक्षसँग आग्रह गरिएको छ। 

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले राज्यले नागरिकको बाँच्च पाउने अधिकार संरक्षण गर्नका लागि गम्भीर बन्नुपर्ने बताएका छन्। यस प्रकारका घटना नियन्त्रणका लागि सबै पक्षबाट पहल गरिनुपर्ने खनालको धारणा छ। 

कांग्रेसद्वारा भर्त्सना
युवा व्यवसायी वसन्त पौडेल बलुको गोली हानी हत्या भएको घटनाप्रति नेपाली कांग्रेस रूपन्देहीका सभापति तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले घोर निन्दा र भर्त्सना गरेका छन्।

एक विज्ञप्ति प्रकाशित गरी उनले कायरतापूर्ण उक्त कार्यको जति निन्दा गरे पनि कम हुने भन्दै दोषीको तत्काल पहिचान गरी कारवाहीका लागि जोडदार मागसमेत गरेका छन्। 

एमाले उपमहासचिव भन्छन् : सुरक्षामाथि नै प्रश्न
एमाले उपमहासचिव विष्णु पौडेलले हत्यामा संलग्नलाई अविलम्ब पक्राउ गरेर सार्वजनिक गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्। 

‘आज बिहान भएको घटनाको अहिलेसम्म किन केही हुनसकेन, किन हत्यामा संलग्नहरू पक्राउ परेनन्, हामीले पटक पटक भन्दै आएका छौँ सुरक्षाको व्यवस्था खै?’, रूपन्देही– २ बाट निर्वाचित सांसदसमेत रहेका एमाले नेता पौडेलले भने, ‘प्रहरीले किन चासो देखाइरहेको छैन? हामी चेतावनी दिन्छौँ, दोषीलाई कारवाही गर्दैन भने नेपाल प्रहरीका प्रमुख (आईजीपी)लाई दोषी ठहर गरेर अघि बढ्न हामी बाध्य हुनेछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.