|

उदयपुर  : उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि १ नम्बर प्रदेशस्तरीय प्रथम उदयपुर घरेलु औद्यौगिक महोत्सव सुरु भएको छ। साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा सुरु भएको हो।

जिल्लाका ८ वटै स्थानीय तह, विज्ञान तथा प्रविधि मन्त्रालय, पर्यटन बोर्ड, उदयपुर सिमेन्ट उद्योग, घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला उद्यमी संघको सहयोगमा महोत्वस सुरु गरिएको आयोजकले जानकारी दिएको छ।

पुस २९ गतेसम्म लाग्ने महोत्सवमा स्थानीय घरेलु उत्पादित वस्तु ढाका, टोपी, राडी, हस्तकला, जडीबुटी, कृषि औजार, सिन्का, अगरबत्ती, मैनबत्ती, डोका, नाम्लो, दाम्लो, टपरी, दालमोठ भुजिया लगायतका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ।

महोत्सवका मुख्य आकर्षकको रुपमा थारु परिकार घुगी, मनोरञ्जन सामग्री र स्थानीय कला संस्कृति रहेका छन्। ९ दिनसम्म लाग्ने महोत्सवमा लघु तथा घरेलु उद्योगसँग सम्बन्धित सामग्रीहरु १ सय ५० वटा स्टलमा राखिएको मूल आयोजक समितिका संयोजक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष मधुकर थापाले जानकारी दिए।

उनले प्रदर्शनी, व्यापारसँगै विशेषगरी आगामी दिनमा यस्ता सामग्रीले बजार पाउनु भन्ने उद्देश्य राखिएको छ। जिल्लामा उत्पादित वस्तुको बजारीकरण नभएको अवस्थामा महोत्सवले बजारीकरणतर्फ पनि ध्यान दिने आयोजकको लक्ष्य राखिएको छ।

महोत्वसको उद्घाटन केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले गरेका छन्। उद्घाटन समारोहमा स्थानीय जातीय परम्परा तथा भेषभूषाले सजियका झाँकीहरु प्रदर्शन गरिएको थियो।

‘आफ्नो मिहिनेत, श्रम र पुँजी, समृद्ध नेपाल, हाम्रो धन, हाम्रो पकृति, स्रोत र साधन, औद्योगिक विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले महोत्सवलाई थप आकर्षित बनाउने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.