|

विराटनगर :  चार वर्ष मलेसियामा दुःख पाएपछि नेपाल नै फर्केर तरकारी खेती सुरु गरेका मोरङ कटहरी–४ का कोपिन्द्र सिंह हिजोआज खुशी छन्। ५ वर्षअघिदेखि तरकारी खेति सुरु गरेका उनको कमाइ राम्रो छ।

विराटनगरलाई तरकारीमा आत्मनिर्भर बनाउने उनको योजना अझै सुन्न लायक छ। उनै कोपिन्द्रले १ बोट टमाटरमा २५ किलोसम्म फलाएका छन्, १ बोट बन्दा कोपी साढे ४ किलोसम्म भएको छ। उनलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कार, पूर्वाञ्चलस्तरीय राष्ट्रपति पुरस्कारसमेत प्राप्त भएको छ। मोरङमा टमाटर खेती गर्ने उत्कृष्ट किसानको मेडल उनले ३ पटक भिरिसकेका छन्।

गत साउन अन्तिममा आएको बाढीले तरकारी खेती नष्ट गरिदियो। तैपनि उनले आफ्नो कमाई १० लाख रुपैयाँ पुग्ने अनुमान गरेका छन्। उनै कोपिन्द्रको पहलमा कृषि कार्यालयले प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्तर्गत ब्लक निर्माण भएको छ। २ सय ४० घरधुरी किसान सम्मिलित ब्लकमा १ सय १० हेक्टर क्षेत्रफल रहेको छ। जहाँ, टमाटर, बन्दा कोपी, मुला, आलु, मकै, सागसब्जी, बैगुनलगायत तरकारीजन्य वस्तु उत्पादन हुन्छ।

ब्लकमा कतै फलिरहेका लौका, भण्टा, कोपी, आलु त कतै तयारी अवस्थामा राखिएको जमिनको सुन्दरता धेरै छ। ‘यहाँ २ दिन पनि जग्गा खाली बस्दैन,’ कोपिन्द्रले भने, ‘माटो बनाउने कामका लागि २/४ दिन खाली हुन्छ, नत्र कुनै न कुनै आइटम खेती सुरु भइहाल्छ।' काम गर्नेमात्रै होइन उनले आफ्नो पहिचान राष्ट्रिय स्तरमा बनाउने सोचेका छन्। ‘काम गरेर पहिचान बन्ने हो, निरन्तर प्रयासमा छु,’ उनले भने, ‘केन्द्रीयस्तरबाटै सरकारले यस क्षेत्रलाई माया गरे मोरङ तरकारीमा आत्मनिर्भर बन्ने पक्का छ।’

राजनीतिक दललाई कोपिन्द्रले भाषण भन्दा काम गर्नुपर्ने सुझाव दिन्छन्। ‘दलहरुले किसानको पक्षमा गरेको भाषण सुनेको छु,’ कोपिन्द्रले भने, ‘अब काम गर्ने बेला आएको छ, नीतिगत परिवर्तन गरेर किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउनु आवश्यक छ।’

तरकारी खेती गर्ने किसानले कार चढ्ने हुनुपर्ने उनको भनाइ छ। ‘यहाँ बिक्रीको समस्या छ, विचौलियाका कारण किसानले उचित मूल्य पाएका छैनन्,’ उनले भने, ‘मूल्यको विषयमा अत्याधिक विचौलियाले खाने कमिसन अन्त्य गर्न पाए हरेक किसानले कार चढ्ने थिए, सोही अभियानमा म लागेको छु।’

विदेशमा नाला पनि सोहोरेँ : कोपिन्द्र

९ वर्षअघि पैसा कमाउने लोभमा विदेश हान्निएका युवा कोपिन्द्रले कसरी तरकारी खेती विदेशबाट फर्केर सुरु गरे। ‘विदेशमा अत्याधिक दुःख गरियो सर,’ उनले भने, ‘५० डिग्रीको तातोमा नाला सोरियो, नंग्रा खियाइयो, तर पैसा कमाउन सकिएन।'

विदेश बस्दाखेरि नै त्यहाँको तरकारी खेति देखेर इच्छा जागेको उनले सुनाए। ‘म विदेश नगएको भए, भित्ती, ट्यापे हुन्थें होला,’ उनले भने, ‘विदेशमा जब दुःख गर्नुपर्‍यो मलाइ थाहा भयो कि अब मिहिनेत के हो भनेर, त्यसपछि यहीं आएर खेती सुरु गरें।'  कोपिन्द्रले तरकारीको आम्दानीबाटै एउटा गाडी किनेका छन्, पक्की घर बनाएका छन् र अलिहे पनि ४ वगाहा क्षेत्रमा तरकारी खेति गरिरहेकै छन्। उनले आफू मात्रै होइन अन्य किसानलाई पनि उर्जा दिन्छन् र संगठित गर्दै राज्यलाई किसानमैत्री बन्न दबाब दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.