|

इलाम : इलामको एक मात्र सामुदायिक अस्पताल डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताललाई निरन्तरता दिनको लागि स्थानीयवासी तथा सरोकारवाला निकायहरु अग्रसर हुन थालेका छन्। यथेष्ट तथा अत्याधुनिक उपकरणहरुबाट सुसज्जित यो अस्पताल कुनै समय मेची पहाडी जिल्लाहरुको स्वास्थ्य क्षेत्रमा नाम चलेको अस्पतालमा दरिएको थियो।

हिमालयन हेल्थ केयर नामक अमेरिकी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा इलाम नगरपालिका- ६ सिङफ्रिङमा सन २००४ मा स्थापना भएको यस अस्पताललाई निरन्तरता दिन इलामलगायत अन्य जिल्लाका वासिन्दाहरुबाट वार्षिक एकसय रुपैयाँ सहयोग उठाएर दिगोपनाको लागि पहल गरिएको थियो।

कुनै समय जिल्लाका विभिन्न गाउँठाउँहरुमा विदेशी विशेषज्ञ स्वास्थ्यकर्मीहरु सहित स्वास्थ्य शिविर सञ्चालन गरी समुदायमा छाप छोड्न सफल अस्पतालको अवस्था दयनीय बनेपछि यसलाई पुनः सञ्चालन गर्नको लागि स्थानीयवासीहरुको सक्रियतामा जिल्ला तथा स्थानीय तहहरुसँग समन्वय गर्नको लागि एक समन्वय समिति पनि गठन भएको छ।

नागरिक समाजका अगुवा धर्म गौतमको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति गठन भएको हो। समितिका अन्य सदस्यहरुमा तिलक ठकुरी, सुनील गौतम, रविन राया, निरोज राउत, सन्दीप बुढाथोकी, मणीराम निरौला, टिका भारद्वाज, खेम घिमिरे खत्री सम्मिलित समितिले स्थानीयवासीहरुसँग अस्पताल

सञ्चालन हुन नसक्नुको कारण खोजी गर्ने, जिल्लाका सरोकारवाला निकाय जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय इलामसँग संवाद गरी अस्पताललाई दीर्घकालीन रुपमा सञ्चालन गर्नको लागि पहल गरी दुई महिनाभित्र प्रतिवेदन तयार गरिने भएको छ।

हिमालयन हेल्थ केयरका संस्थापक अनिल पराजुली तथा सल्लाहकार भरत बुढाथोकीको उपस्थितिमा भएको समिति गठन तथा अस्पताल सञ्चालनसम्बन्धी परामर्श आदनप्रदानसमेत भएको थियो।

कुनै समय वार्षिक ५६ लाख रुपैयाँ सम्मको कारोबार गर्ने गरेको यस अस्पताल त्यसवेला समेत २० लाख रुपैयाँ घाटामा रहेको स्रोतले जनाएको छ।

यस्तै, नेपालका केही सामुदायिक अस्पताल राजनीतिक तरिकाले खोलिने र त्यसलाई सरकारले आर्थिक सहयोग गर्ने तर विशुद्ध रुपमा खोलिएका सामुदायिक अस्पताल आफ्नो मात्र स्रोतबाट सञ्चालन गरिनुपर्ने, देशमा राजनैतिक स्थिरता नभएको, सामुदायिक अस्पताल संचालन गर्ने निर्देशिका नभएको जस्ता कारणहरुले पनि अस्पताललाई निरन्तरता दिन कठिनाइ भएको समन्वय समितिका सदस्य सुनिल गौतमले  बताए।

उनले भने, ‘यस्तै अवस्था रहेमा दुई महिना भित्रमा अस्पताल बन्द गर्ने हिमालयन हेल्थ केयरको सोच रहेको छ।’ यता, स्थानीयवासीहरु इलामका ठूला राजनीतिक नेताहरुले अस्पताललाई सहयोग गर्ने वचन दिएका थिए तर केही नभएको गुनासो छ। उनीहरु भन्छन्, ‘यस्ता पहल कति भए कति ? तर जुन नेता आए पनि कानै चिरेजस्तो भएको छ। तर, अब बनेको समन्वय समितिबाट झिनो आशा लिएका छौँ।’

यता, हिमालयन स्वास्थ्य सेवामार्फत प्रोजेक्टका रूपमा सञ्चालित अस्पताल डा.मेघ बहादुर सामुदायिक अस्पताल हो। हिमालयन स्वास्थ्य सेवाको करोडौँको लगानीलाई रहेको यस प्रोजेक्ट अब उक्त गैरसरकारी संस्थाको आर्थिक स्थितिले धान्न नसकेर बन्द गर्ने अवस्था नजिक पुगेको छ।

नाममा सामुदायिक भएता पनि सामुदायिक अस्पतालसम्बन्धी उचित नियमावलीको अभावले अस्पताल अहिलेसम्म हिमालयन स्वास्थ्य सेवाको आफ्नै पहलमा चलेको छ।

अस्पतालको स्थिति सुदृढ भएर गएको र समुदाय अस्पताल चलाउन सक्षम भएको खण्डमा समुदायमा हस्तान्तरण गर्ने उद्देश्यले १३ वर्षअघि देखि  पटकपटक प्रयास गर्दा र अनेक समिति बनाउँदा पनि राजनीतक खिचातानी र उपयुक्त कानुनको अभावका कारण अस्पताल हिमालयन स्वास्थ्य सेवाकै मातहतमा सञ्चालन रही आएको छ।

सञ्चालनकै क्रममा केही वर्ष अगाडि अस्पताललाई इलाम जिल्ला अस्पतालसँग समायोजन गरेर लान अनेक कसरत नभएको होइन, समायोजनमा प्रतिबद्धता जनाउँदै हिमालयन स्वास्थ्य सेवाले इलाम अस्पताललाई एम्बुलेन्स गाडीसमेत निःशुल्क उपलब्ध गराएको थियो।

कानुनको अभाव र जिल्ला अस्पताल स्वयमपनि क्षमताअनुरुप सञ्चालन नहुनुले समायोजनको व्यावहारिकतामाथि नै प्रश्न चिह्न खडा हुँदै उक्त पहल विफल भएको हाल सो सामुदायिक अस्पतालमा कार्यरत डाक्टर रामकृष्ण आचार्यले  बताए।

डाक्टर आचार्यले भने, ‘अस्पताल सञ्चालनका क्रममा मुनाफा कहिल्यै भएको छैन। सबैभन्दा कम घाटा भनेको एउटा वर्ष खर्चको २२ प्रतिशत रहेको र अन्य वर्ष घाटा प्रतिशत त्योभन्दा दोब्बर तेब्बरसम्म भएको छ।’ उनले थपे, ‘पछिल्लो केही वर्ष त अस्पतालले खर्चको ५ प्रतिशतभन्दा पनि कम आम्दानी गरेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.