|

चुनावमा अनपेक्षित परिणाम आएसँगै कांग्रेसभित्र खैलाबैला छ। तर अबको बाटो के भनेर पार्टी नेतृत्वले हालसम्म छलफल भने गरेको छैन। अब के गर्ने भनेर योजना बनाउन कांग्रेस नेता एक ठाउँमा बसेको पाइँदैन। बरु नेताहरू बाहिर बाहिर विभिन्न अभिव्यक्ति दिँदै हिँडेका देखिन्छ। कोहीले चुनावी परिणामको जिम्मा नेतृत्वले लिँदै पद छाड्नुपर्छ भनिरहेका छन् भने कोही महाधिवेशन र केन्द्रीय समिति बैठकको माग गरिरहेका छन्।

तर ती आवाजमा नेतृत्वको खासै ध्यान गएको देखिँदैन। कांग्रेस किन यस्तो असहज अवस्थामा छ? उसको अबको दिशा र दशा के? यसै विषयमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग रेडियो थाहा सञ्चारका लागि दीपेन्द्र कुँवरले गरेको कुराकानी :

चुनावपछिको यो अवस्था हेर्दा तपाईँको विश्लेषणमा चाहिँ कांग्रेस किन यस्तो अवस्थामा छ?

कांग्रेस धेरै ठूलो डिप्रेसनमा छ। धेरै ठूलो पराजयले गर्दा नेतृत्वलाई अगाडि कहाँ जाने बाटो सुझिरहेको छैन। धेरै ठूलो पराजयले दिशाभ्रम भएको छैन। एकातर्फ सरकारमा पनि छ। अर्कोतिर त्यही व्यक्ति पार्टी सभापति पनि हुनुहुन्छ।

उहाँको काँधमा धेरै ठूलो जिम्मेवारी छ। त्यो जिम्मेवारीबाट उहाँ असफल हुनुभयो। कांग्रेसका सभापति, महामन्त्रीलगायत लज्जाजनक पराजयको डिप्रेसनले उठ्न सक्नुभएको छैन। जनताबाट पाउने भोटबाट कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ तर अहिलेसम्म सत्तामा छ। सत्तामा भएको बेला पछि पुगिन्छ कि पुगिँदैन भनेर अन्तिममा एक महिना भए पनि सत्ता लम्याउन लागेको छ। पार्टी पनि अलमलिएको छ। यसका समर्थक चकित भएका छन्। यो असफलतालाई केही उपचार खोज्दै छन् अहिले।

अनपेक्षित हो भनेचाहिँ अचम्मित हुने कुरा होला तर यो परिणामको पूर्वानुमान पनि गरिएको थियो नि!

पूर्वानुमान पनि गरिएको थियो तर पूर्वानुमान गर्दागर्दै पनि आत्मसात गर्नसकेन पार्टीले। कांग्रेसमा नेतृत्व दिने क्षमता भएन, न संगठन परिचालन गर्ने क्षमता नै भयो। न त चुनावमा रणनीति बनाउने क्षमता भयो। यी सबै कुरा गुमिसकेपछि जनता भड्किए। जनताले मत दिए पनि कानुनी जटिलता होलान्। ती सबै कुरालाई सत्ता हस्तान्तरणमा समस्या होला तर कांग्रेसले राजनीति हारिसक्यो।

सत्ता कांग्रेसले हारिसक्यो। त्यस अवस्थामा प्रधामनमन्त्री तथा कांग्रेस सभापतिको हैसियतमा शेरबहादुरजीले जनतालाई चुनावमा भाग लिएकोमा धन्यवाद दिएर राष्ट्रपति कहाँ राजिनामा दिएर अर्को व्यवस्था नभएसम्मका लागि सरकारमा बस्ने परिपाटी हुनुपर्छ तर यसो हुनसकेको छैन। कांग्रेस अलमलिएको यसैमा छ। हारको समीक्षामा छैन।

चुनावमा पराजित भएपछि जनताको मन फेरि जित्ने सक्ने यति सजिलो बाटो पनि किन हिड्न सकेको छैन होइन र?

कांग्रेसमा संघर्ष गर्ने यिनै मान्छे हुन्। लोकतन्त्रका लागि पनि लडेकै भन्छन् तर निर्वाचनपछि निर्वाचन आयोगले गर्ने आफ्ना बदमासी त छँदै छन्। निर्वाचनपछि एउटा लोकतान्त्रिक मूल्य मान्यताहरू स्थापित गर्नुपर्ने हो/होइन? त्यो कसले स्थापित गरिदिन्छ? कांग्रेसले चुनावी कार्यक्रममा कम्युनिष्टहरू अधिनायकवादी हुन् भन्ने नारा लिएर गयो। कांग्रेसले जुन नारा लिएर गयो, त्यही नारा बिकेन।

यस्तो चरित्रले कांग्रेस नै अधिनायकवाद हुन् भन्ने अहिलेको युवा पुस्ताले बुझ्ने हुन्। निर्वाचनको परिणाम आउँदै गर्दा कांग्रेसका माथिदेखि तलसम्मका नेताले पनि जनताको नाममा सम्बोधन गर्नुपर्थ्यो। जनमतसंग्रहमा विपी कोइरालाले पनि हार्नुभएको थियो। तर उहाँले अप्रत्यासित परिणाम आएपनि स्वीकार गर्छु भन्नुभयो। यत्रो इतिहास बोकेको पार्टी हो कांग्रेस। तर थाहा छैन शेरबहादुरजीका सल्लाहकारले यत्रो ३२ प्रतिशत जनताको म्यान्डेटलाई धन्यवाद दिन सकेनन्। शान्तिप्रक्रियामा यत्रो भूमिका खेलेको पार्टीले अहिले त्यसको जसलाई सत्ताका कारण लिन सकेन? यसले कांग्रेसलाई भविष्यमा पनि घाटा पुग्छ।

तपाईं भन्दै हुनुहुन्छ घाटा छ। यस्तो अवस्था नेतृत्वका कारणले हुन्छ या नेतृत्वको व्यक्तिगत कारणले हुन्छ वा कुनै बाटो नभेट्टाएर हुन्छ?

बाटाहरू प्रशस्त थिए। बाटाहरू नभए पनि नेतृत्वले नै हो बाटो बनाउने। संविधानमा जटिलता छन् भने पनि यही बेला हो फुकाउने। प्रजातन्त्रलाई स्थापित गर्ने बेला पनि यही बेला हो। जनताले दिएको जनादेशलाई कानुन छैन। त्यसले रोकेको छ। संविधानमा कुराहरू बाझिएका छन् भने त्यसलाई कसले फुकाउने? राजनीति गर्ने मान्छेले हो। कानुन पढेको मान्छेले त भोलि अदालतमा गएर सल्लाह दिने हो।

अहिले त के भएको छ भने राजनीति सबै कानुन गर्नेको हातमा गएको छ। त्यस कारणले कांग्रेसको राजनीति अहिले पुरै बिग्रिएको हो। यस्तो किन हुन्छ भन्दा या त नेतृत्व अक्षम भएर हुन्छ, जुन अहिले देखिइरहेको छ। या नेतृत्वमा लोभ भएर हुन्छ। नेतृत्वको आसपासमा हुनेहरूलाई कैयौँ ठेक्कापट्टा, आर्थिक अनुदान, केही पद प्रतिष्ठा लिनु छ। त्यसको आवरणचाहिँ बुझिन्छ।

एक महिना भए पनि चास्नीमा डुबिहालौँ भन्ने छ। अब शेरबहादुरजीले राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिकहाँ गएर राजिनामा बुझाए हुन्छ। वाम गठबन्धनलाई संसदीय दलको नेता को हो, प्रधानमन्त्री को हो भनेर आफैँ अग्रसर हुनुपर्छ। उसलाई लगेर प्रधानमन्त्रीको कुर्सीमा बसाइदिनुपर्छ। जनताले दिएको जनादेश पनि त्यही हो।

त्यसपछि पार्टी कसरी चलाउने, प्रतिपक्षको नेता को हुने, कांग्रेसको किन हार भयो? भोलिको दिनमा कांग्रेस के गरी सुध्रने? कांग्रेसलाई युवा पुस्तामा कसरी हस्तान्तरण गर्ने? यी सारा विचार विमर्शका लागि कांग्रेसलाई पाँच वर्ष फुर्सद थियो तर कांग्रेसले यो होइन कि वाम गठबन्धन फुटाउने या सत्तामा ढिला गर्दै शेरबहादुर, रामचन्द्रजीहरूको पुस्ताले नेपाली कांग्रेस भोलिको पुस्तालाई हस्तान्तरण नगर्ने र कांग्रेस सक्ने अभियानमा लागेका देखिन्छ। हाम्रै पालामा कांग्रेस सकिदिन्छौँ भन्ने देखिन्छ उहाँहरूको व्यवहार। भारतमा कांग्रेस सकेर गान्धी परिवार अहिले प्रतिपक्षमा पनि छैन।

नेपालमा के हुँदैछ भने यत्रो ऐतिहासिक काम गरेको, आर्थिक रूपले पनि नेपाली समाजलाई संसारसँग जोड्ने पार्टी आज चुनावपछि अचम्म किसिमले आयो। कानुनका के छ राजनीति गर्नेले धेरै बुझ्नै पर्दैन। जनताले भोट दिइसके त्यसले गर्दा सत्ता छाड्ने हो। त्यति गरेको भए कांग्रेसको पुनरुत्थान त्यहाँबाट सुरु हुन्थ्यो।

कानुनको झमेला, राष्ट्रियसभा गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने प्रतिपक्षमा बसेर पनि हुन्थ्यो हुँदैनथ्यो? यो लालची प्रवृत्तिले कानुन त जितिएला तर राजनीति हारिन्छ। राजनीति गर्ने मान्छेले सार्वभौम जनता पनि भन्ने अनि जनताको जनादेश पनि नमान्ने पनि हुन्छ? यो अत्यन्त अलोकतान्त्रिक काम भइरहेको छ। 

नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस होला अब नेपाली कांग्रेसमा?

कांग्रेसभित्र कार्यकर्ताले तालिम पाउने अग्रजहरूबाट हो। अब अग्रजहरूबाट पाएको तालिम कांग्रेसका युवा पुस्तामा चाहिँ आश र त्रासको छ। लोभ र डरको छ भने नेतृत्व जतिसुकै युवा पुस्तामा गयो भने पनि यही प्रवृत्ति लिएर जाने हो भने संभव छैन। युवाको भूमिका हुन्थ्यो त यतिबेला पार्टीभित्रको कुरा छाडेर देशमा लोकतन्त्रिक मूल्य मान्यता स्थापित गर्न लाग्नुपर्थ्यो।

नेतृत्वलाई दबाब दिने,  संविधानको कार्यान्वयन गर्ने र त्यसअनुसार अगाडि बढाउने गर्नुपर्थ्यो। तर त्यो काम पनि अहिलेको कांग्रेसका युवाहरूबाट भएको छैन। युवाले पुरानो पुस्तालाई 'तँ छोड् म हुन्छु' भनेका त छन्। असफल भएको मानिसलाई भन्नु ठीकै होला तर जनताको जनादेशचाहिँ के छ भनेर भन्ने कि नभन्ने?

भनेपछि उनीहरूको कुरा पनि विधिमा भन्दा नेतृत्वमा ध्यान छ भन्ने बुझ्नुभएको छ तपाईंले?

उनीहरूको कुरा पनि नेपाली समाजलाई लोकतान्त्रिक मान्यताबाट चलाउने, जनतालाई जनार्दन ठान्ने भन्दा पनि 'तैँले सकिनस्, त्यो कुर्सीमा बसेर म चलाउँछु' भन्ने छ।

अबको अन्तरविरोध बाहिर आए जसरी आउने संभावना कतिको छ कांग्रेसमा?

कांग्रेस पार्टीको जीवनमा अहिलेसम्म विशेष महाधिवेशन, महासमितिमा दुई\तीन जनता मिलेर 'डोमिनेट' गरेको अवस्था थियो। तिमीहरू चुप लाग, हामी यो व्यवस्थापन गर्छौँ, भन्थे कि नेतालाई जिम्मा दिअौँ भन्ने गर्थे तर अब यो अवस्था आउँदैन। सबै अमनेसामने हुन्छ। मेरो विचारमा नेतृत्वलाई देउता मान्ने चलन सकिन्छ।

कांग्रेसका युवा पुस्ताको भविष्य असाध्यै अन्धकार छ। किनभने कांग्रेसभित्रको विभिन्न समितिको बैठकमा उनीहरूले गम्भीर हस्तक्षेप गर्न सकेनन् भने या राजनीति छाड्छन् या उनीहरूको हस्तक्षेपबाट कांग्रेस रूपान्तरण हुन्छ। बीचमा ह्याङ भएर अब कांग्रेस बस्दैन।

पार्टीभित्र रामचन्द्र पौडले, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौलाको गुट छ। प्रकाशमान सिंहले जुन गुट भए पनि अब मेरो दाबी छ भन्नुहुन्छ। डा. शेखर कोइरालाले म पनि छु भन्नुहुन्छ। यी गुटको भविष्य के होला?

शेखर कोइरालाबाहेक सबै एउटै गुट हो। २०४६ सालदेखि यिनै गुटले कांग्रेस चलाइरहेका छन्। शेखर कोइरालाचाहिँ कांग्रेसको नीति निर्माणमा पनि थिएनन्। सरकारमा पनि थिएनन्। अरू सबै कांग्रेसभित्र निरन्तर प्रभावशाली नेता हुन्।

त्यस कारण कांग्रेसमा गुट दुईवटा मात्र छन्। २०४६ सालदेखि सत्ता र नेतृत्वमा हावी भएको एउटा र अर्को कुनै पनि पहुँच नभएको गुट। यी दुईवटाका बीचमा  हुने अन्तरसंघर्षले कांग्रेसले नयाँ मोड लिन्छ। २०४६ सालदेखि उनीहरू एकै ठाउँमा छन्। उनीहरूमा विभेद छैन। रामचन्द्रजी र शेरबहादुरजीमा के कुरामा विभेद छ? उनीहरू भोलि एकै हुन्छन्, यो पक्का छ।

उनीहरू शेरबहादुरलाई बीचमा राखेर हाम्रो नेता शेरबहादुर नै हो भनेर सबै एकै ठाउँमा उभिएर गगन थापा, प्रदीप पौडेललगायत युवाविरुद्ध आए भने अचम्म नमाने हुन्छ। उनीहरूमध्येबाट साझा एउटा त आउँछ, यसलाई फेस गर्न सक्छन् कि सक्दैनन् कांग्रेसका युवा पुस्ताले? यो कुरा महत्त्वपूर्ण हो। संसदीय दलको नेता को भन्ने विषयबाट पनि सुरु हुनसक्छ। रामचन्द्रजी, शेरबहादुरजीलाई लिएर पनि अघि बढ्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.