|

राजविराज :  विगत चार पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका-८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए।

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने,  चौधरीको आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ।

मुसहर समुदायका बालबालिका र जेष्ठ नागरिकहरू बढी प्रभावित

यसैगरी केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सप्तरीको हनुमान नगर कंकालनी नगरपालिका–२ स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ।

हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रका मुसहर बस्तीमा जाडोबाट बच्नको लागि कम्बलसमेत नहुँदा जनजीवन निकै कष्टकर बनेको स्थानीय श्रवण सदाले गुनासो पोखे । त्यहाँ रहेका करिब ५०÷६० घर परिवारका दलित बस्तीका बालबालबालिका र जेष्ठ नागरिकहरू चिसोबाट बढी प्रभावित भएको सदाले बताए।

चिसो हावासँगै बढेको अत्यधिक जाडोका कारण काम गर्न समेत जान नसकेकाले दिन बिताउन पनि समस्या हुने गरेको हनुमाननगर कंकालनी नगरपालिका–२ का स्थानीय नरेश सदाले दुखेसो पोखे।

जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग नपाएकाले अहिले स्थानीयको जनजीवन कष्टकर बनेको छ । त्यस्तै हनुमाननगर कंकालनी नगरपालिका–५ मा रहेको मुसहर दलित समुदायका बासिन्दासमेत चिसोका कारण प्रभावित भएको स्थानीय मनोज मेहताले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.