|

बैतडी : एक वर्षको अवधिमा बैतडीका ७ सय १ परिवारले स्वास्थ्य बिमा गराएका छन्। यस अवधिमा ७ सय १ परिवारका ३ हजार ४ सय २५ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ।

सरकारले आर्थिक रुपमा विपन्न समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम बैतडीमा हालसम्म नागरिकको आकर्षण सोचेअनुसार हुन नसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका अध्यक्ष जनक साउदले बताए।

‘हामीले अपेक्षा गरेअनुसार कार्यक्रमप्रति नागरिकको आकर्षण देखिएन,’ उनले भने, ‘जनतालाई स्वास्थ्य बिमाको महत्वबारे बुझाउने प्रयास गरिरहेका छौँ।’

९ सय बढीले पाए उपचार सेवा

०७३ पुस ७ देखि बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो। स्वास्थ्य बिमाबापत १८ लाख ७ हजार ७ सय ६५ रुपैयाँ योगदान रकम संकलन भएको छ। स्वास्थ्य बिमा गरेकामध्ये हालसम्म ९ सय २७ जनाले उपचार सेवा प्राप्त गरेको समितिले जनाएको छ।

स्वास्थ्य बिमा बिरामी हेरचाहबापत जिल्ला अस्पताल बैतडीले १ लाख ९५ हजार ३ सय ६०, पाटन प्राथमिक स्वास्थ्य केन्द्रले ८५ हजार ४ सय ३३, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले १८ हजार ६ सय ९२, गोकुलेश्वर अस्पताल दार्चुलाले १३ हजार ८ सय ८ र सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराले २ लाख बढी दाबी भुक्तानी रकम पाएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले जनाएको छ।

स्वास्थ्य बिमा गरेपछि आवश्यक परेका वेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकाले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको छ।

जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली, गोकुलेश्वर अस्पताल दार्चुला र सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुराका साथै ती स्वास्थ्य संस्थाले सिफारिस गरेमा धनगढी, कोहलपुर, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ।

पाँच जना सम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार २ हजार ५ सय तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य ४ सय २५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बिमामा आबद्ध हुन सकिन्छ।

पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही १० हजार गरी बढीमा एक लाखसम्मको सेवा पाइने बताइएको छ। गत वर्ष स्वास्थ्य बिमा कार्यक्रममा सदस्य बनेका परिवार नवीकरण म्याद समाप्त हुन लागेकाले नवीकरण गर्न अनुरोधसमेत गरिएको छ। नवीकरण नगर्ने सदस्यको स्वतः म्याद समाप्त भई सदस्य रद्द हुने जनाएको छ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमका सेवा पाउनेछन्। वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गर्न सकिन्छ। प्रदेश नं ७ का बैतडी, अछाम र कैलालीसहित देशका २२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ।

विपन्न नागरिकका लागि स्वास्थ्य बिमा बढी आवश्यक हुने भएकाले बिमा गराएर पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.