|

काठमाडौं : व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर पब्लिकेसन्सले आफ्ना सञ्चार माध्यममा आधारहीन समाचार प्रकाशन गरेर आफ्नो व्यावसायिक जीवनमा ठेस पुर्‍याएको भन्दै काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा (फिरादपत्र) दर्ता गराएका छन्।

कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहियाले आफ्नो स्वामित्वको मिडियामार्फत झूटा र भ्रामक समाचार प्रकाशन गरी आफ्नो मानमर्दन गरेको र व्यावसायिक एवं सामाजिक प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै सुमार्गीले गाली बेइज्जती ऐन, २०१६ अनुसार कारवाही गर्न माग गरेका हुन्।

कान्तिपुर पब्लिकेसन्सअन्तर्गतका विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका कारण आफ्नो उद्योगमा नकारात्मक असर पुगेको, वैदेशिक लगानी आउने वातावरण अवरुद्ध भई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमा ब्याज भुक्तानी गर्नुपरेको र वैदेशिक लगानीमा सञ्चालित उद्योगले नोक्सानी व्यहोर्नुपरेको भन्दै सुमार्गीले २५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेका छन्।

व्यवसायी सुमार्गीले वारेस तुलसीबहादुर कार्कीमार्फत काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा भनिएको छ, 'विपक्षीहरूले मलाई गरेको गाली बेइज्जतीबाट मेरा उद्योगहरूमा नकारात्मक असर पुग्न गएको, वैदेशिक लगानी आउने वातावरण अवरुद्ध भई मैले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिई त्यसको व्याज भुक्तानीमा करोडौँ रुपैयाँ खर्च हुनुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नकारात्मक सन्देश पुग्न जानुका साथै त्यस्ता वैदेशिक लगानी सञ्चालित उद्योगहरूले ठूलो घाटा नोक्सानी व्यहोर्नुपरेको अपूरणीय क्षतिसमेतलाई मध्यनजर गरी विपक्षीहरूबाट सोही ऐनको दफा १२ बमोजिम रु. २५ करोड क्षतिपूर्तिवापत दिलाई भराई पाऊँ।'

कान्तिपुर दैनिकमा पुस ९ गते प्रकाशित 'सुमार्गीको २२ अर्ब रुपैयाँ अवैध' र असोज ३० गते नेपाल साप्ताहिकमा प्रकाशित 'सुमार्गीको शंकास्पद ११ अर्ब' शीर्षकको समाचारले आफ्नो व्यावसायिक तथा सामाजिक प्रतिष्ठाप्रति नकारात्मक प्रभाव पार्ने तथा भ्रम फैलाउने दुस्साहस गरेको सुमार्गीले उल्लेख गरेका छन्।

सिरोहियाले विना प्रमाण आफूप्रति बदनियत राखी मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले समाचार प्रकाशित गरेको सुमार्गीको दाबी छ। '...विना प्रमाण आत्मनिष्ठ रूपमा प्रकाशित झूठा समाचारले मप्रति बदनियत राखी मेरो व्यावसायिक शाख, मानमर्दन र अन्तर्राष्ट्रिय छवि एवं कूटनीतिक सहकर्मीबीच रहेको मेरो मान प्रतिष्ठामा आँच पुर्‍याउने, सार्वजनिक रूपमा आक्षेप लगाउने र मेरो व्यक्तिगत चरित्र हत्या गराउने कार्य भएको प्रष्ट छ', फिरादपत्रमा भनिएको छ।

सरकारका नियामक निकायले आफ्नो सम्पत्तिलाई अवैध नभनेकोमा सम्पत्ति वैध हो वा होइन भनेर छुट्याउने काम सिरोहियाद्वारा सञ्चालित सञ्चार माध्यमको नभएको व्यवसायी सुमार्गीले उल्लेख गरेका छन्।

फिरादपत्रमा भनिएको छ, 'मैले विभिन्न कम्पनीमा गरेको कुनै लगानी अवैध छैन, न त कुनै निकायले अवैध वा विवादास्पद भनी दोषी करार नै गरेको छ। वैध अवैध छुट्याउने कार्य विपक्षी कैलाशप्रसाद सिरोहिया तथा निजबाट सञ्चालित रेडियो, पत्रिका र टेलिभिजनको होइन। नेपाल सरकारका नियामक निकायहरूले अवैध नभनेको विषयलाई विपक्षीहरूले सञ्चार माध्यमबाट झूठा समाचारहरू सम्प्रेषण गर्नुलाई मलाई बदनाम गराउने र मेरो बेइज्जत गर्ने नियतवश प्रकाशन गरेको भन्ने प्रष्ट देखिन्छ।'

व्यवसायी सुमार्गीले व्यावसायिक विषयमा आफूलाई ब्ल्याकमेलिङ गर्न सिरोहियाले आफ्नो सञ्चार माध्यमको प्रयोग गरेको पनि बताएका छन्। सिरोहियाले आफ्नो व्यावसायिक आर्थिक कठिनाइ दर्शाउँदै काठमाडौं तीनकुनेस्थित नौ रोपनी चार आना जग्गा किनिदिन अनुरोध गर्दा आफूले मुक्तिश्री सिमेन्ट इन्ड्रस्टिजको नाममा पाँच रोपनी नौ आना जग्गा २३ करोड २१ लाख १२ हजार रुपैयाँमा किनिदिएको सुमार्गीले उल्लेख गरेका छन्। तर उक्त जग्गापछि सोही मूल्यमा सिरोहियाले फिर्ता माग्दा आफूले नदिएपछि सञ्चार माध्यममार्फत गाली बेइज्जती गरेको सिरोहियाको दाबी छ।

'उल्लेखित जग्गाहरू मेरो कम्पनीको नाउँमा खरिद गरेको करिब एक वर्षपछि निज कैलाशप्रसाद सिरोहियाको आर्थिक अवस्था सबल भएपछि एवं जग्गाको मूल्यवृद्धि भइरहेको अवस्था हेरी उल्लेखित जग्गा पुन: आफ्नो नाउँमा मैले खरिद गरी लिएको मूल्यमा फिर्ता पाउन माग गर्नुभएकोमा मैले सोही मूल्यमा नै फिर्ता गर्न इन्कार गरेपछि निज कैलाशप्रसाद सिरोहियाले मसँग आर्थिक रूपमा सौदावाजी गर्न थाल्नुभयो', फिरादपत्रमा भनिएको छ, 'सोपश्चात निजले आफ्नो कान्तिपुर पब्लिकेसन्सअन्तर्गतका कान्तिपुर दैनिक, द काठमाण्डौं पोस्ट अंग्रेजी दैनिक र नेपाल साप्ताहिक र कान्तिपुर टेलिभिजन रेडियो कान्तिपुरको माध्यमबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार सम्प्रेषण गर्न थाल्नुभयो।'

व्यवसायी सुमार्गीले कान्तिपुर पब्लिकेसन्स प्रालि, यसका प्रबन्ध निर्देशक कैलाशप्रसाद सिरोहिया, उनकी पत्नी तथा कान्तिपुर पब्लिकेसन्सकी निर्देशक स्वस्तिका सिरोहिया र कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मालाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।

हेर्नुस् फिरादपत्र :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.