|

रौतहट : शीतलहरका कारण रौतहटमा जाडोले कठ्याङ्ग्रिएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। आइतबार मात्रै परोहा नगरपालिकामा २ जनाको ज्यान गएको छ। प्रहरीले दिएको जानकारी अनुसार आइतबार परोहा नगरपालिका वार्ड नं. २ का ४५ वर्षीय शेख समिम र वडा नं. ९ का ६५ वर्षीय मरसिया देवी कुर्मीको मृत्यु भएको हो।

यसअघि शनिबार गढीमाई नगरपालिका ४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका ७ मुडवलवाका ७५ वर्षिय अयोधी राय यादव र गढीमाई नगरपालिका १ स्थित चिमनी भट्टामा काम गर्न आएका सर्लाहीका नेक महम्मद अलीको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदुर हुन्।

एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ। चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्यधिक मात्रामा बढेको छ। बढेको चिसोका कारणले बिहान बेलुका बजारको चहल पहलमा व्यापारमा कमी आएको छ। चिसो हावासँगै जाडो बढेपछि बृद्ध, असक्त, अपाङ्ग, बालबालिकाहरु, दमका रोगीहरु पीडित भइरहेका छन्।

सबै विद्यालय बन्द

दिन प्रतिदिन झन् शीतलहर बढेपछि जिल्ला शिक्षा कार्यालय रौतहटले थप ४ दिन सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शीतलहरसँगै चालेको हुस्सुको कारण विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई अध्ययनका लागि आउन समस्या उत्पन्न भएपछि पुन ४ दिन बिदा थप गरेको जिल्ला शिक्षा कार्यालय रौतहटका जिल्ला शिक्षा अधिकारी राम बिनय सिहले जानकारी दिए।

आउँदो पुस २६ गतेसम्मका लागि जिल्लाका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी सिहले बताए। यसअघि गत पुस १७ गते सोमबारदेखि २१ गते शुक्रबारसम्म सबै सामुदायिक विद्यालयहरु बन्द निर्णय भएको थियो। रौतहटमा ४२ निजी विद्यालय र ३ सय ५१ सामुदायिक विद्यालय सञ्चालनमा रहेको छ।

निजी विद्यालयहरुले पनि थप दुइ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विद्यार्थी विद्यालय आउने अवस्था नभएपछि थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको मुनलाइट एकेडमी चन्द्रनिगाहपुरका प्रधानाध्यापक श्यामकिशोर चौधरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.