फिचर

गिट्टी कुटेर घर खर्च चलाउँछन् यी महिला, भन्छन् : 'सरकारले धनीलाई हेर्छ, गरिबलाई हेर्दैन'
SHARES

पुस २३, २०७४

    डडेल्धुरा : भनिन्छ, इच्छाशक्ति भए कामका लागि भौँतारिनुपर्दैन। यही भनाइको गतिलो उदाहरण बनेका छन् डडेल्धुराका यी महिला। उनीहरू गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन्।

    दायाँ हातमा हथौडा, हातभरि फोका। दैनिकी ढुंगासँगै बित्छ उनीहरूको। डडेल्धुराको अमरगढी– २ आइतकी कौशीलादेवी थापामगर र दिलसरीदेवी थापामगर गिट्टी कुटेर घर खर्च चलाउँदै आएका छन्। 

    गिट्टी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् उनीहरू। गिट्टी बिक्रीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको उनीहरू बताउँछन्। 

    कौशिला र दिलसरी भागेश्वर गाउँपालिकाका र जिल्ला सदरमुकाम जोड्ने बगरकोट सडकको छेउमै दिनभर गिट्टी कुट्नमै व्यस्त हुन्छन्। गिट्टी कुटेर घर खर्च चलाउनुका साथै छोराछोरीको पढाइ खर्चसमेत यसैबाट धानेका छन् उनीहरूले। 

    ‘गिट्टी कुट्न थालेको तीन महिना जति भयो’ दिलसरीले भनिन्, ‘हामी तीन जना सँगै गिट्टी कुट्छौँ।’ तीन जना मिलेर पाँच दिनमा एक ट्र्याक्टर गिट्टी बनाउने उनको भनाइ छ। उनले थपिन्, ‘एक ट्र्याक्टर गिट्टीवापत हामीलाई छ हजार रुपैयाँ दिन्छन् अनि तीनै जनाले दुई–दुई हजार बाँड्छौँ।’ 

    चार छोराछोरीको विद्यालयको खर्च पनि गिट्टी कुटेकै पैसाले चलाउने गरेको उनले सुनाइन्। ‘गिट्टी कुटेको पैसाले नुन, तेल, चामल किन्छौँ’, उनले भनिन्, ‘चार जना छोराछोरी छन्, उनीहरूको स्कुल खर्च पनि यसैबाट धानेका छौँ।’ उनका श्रीमान मिस्त्री काम गर्दछन्।

    ‘बिहानै उठ्छौँ। घरको काम सक्छौँ अनि गिट्टी कुट्नका लागि बिहान ९ बजेतिर आउँछौँ’, उनले भनिन्, ‘दिनभर गिट्टी कुट्छौँ र साँझ ५ बजेतिर घर जान्छौँ।’
    दिलसरीसँगै गिट्टी कुट्दै आइरहेकी छन्, कौशिला पनि। उनी पनि विगत तीन महिनादेखि गिट्टी कुट्दै आइरहेको बताउँछिन्। 

    कामको समयमा खेती गर्ने र फुर्सदिलो समयमा गिट्टी कुटेर पनि घर खर्च धान्दै आएको कौशिलादेवीको भनाइ छ। ‘बच्चाहरूको पढाइ खर्च, घर खर्च पनि यसैबाट चलाउँछौँ’, उनले भनिन्, ‘यो काम पनि त्यति धेरै पाइँदैन। गाह्रो नै हुन्छ।’ 

    उनी गिट्टी कुट्ने कामबाट सन्तुष्ट छन्। उनी भन्छिन्, ‘सन्तुष्ट नभएर पनि के गर्ने र? काम गरेर सबैले खानु नै पर्छ।’ गिट्टी कुटेको उचित पारिश्रमिक भने नपाएको उनले दुखेको गरिन्।

    ‘दुःख गरेर हातखुट्टा थिचेर गिट्टी कुट्छौँ’, उनले भनिन्, ‘हाम्रो मिहिनेत हेर्ने हो भने हामीलाई एक ट्र्याक्टरको आठदेखि नौ हजार दिनु पर्ने हो तर दिँदैनन्।’

    ढाटाढाबाट ढुंगा ल्याएर गिट्टी कुट्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘हामीलाई हेप्छन्। हामी छ हजारमा दिँदैनौँ भन्छौँ तर उनीहरू धनी हुन्छन्। धनी मान्छेसँग बोल्न सक्दैनौँ हामी गरिब मान्छे।’

    त्यतिमा नदिए पनि आफ्नो घर खर्च नचल्ने भन्दै उनले भनिन्, ‘के गर्ने हामी दुःखी गरिबले जहाँ पनि दुःखै पाउनुपर्छ।’

    धनीका लागि सरकार छ, गरिबका लागि छैन
    धनीमानीका लागि सरकार भएको तर गरिवका लागि सरकार नभएको कौशिलादेवीले बताइन्। ‘धनीमानीका लागि सरकार छ। गरिबका लागि सरकार पनि छैन, केही पनि छैन।’ उनले सरकारले गरिवका लागि उचित व्यवस्था गरिदिनुपर्ने पनि बताइन्।

    नवनिर्वाचित जनप्रतिनिधिहरूले पनि केही गर्लान् जस्तो नलागेको उनी बताउँछिन्। ‘चुनावमा भोट हालेर जिताइयो। त्यो बेला त केही तपाईंका लागि गरी हालौँला त भनेका हुन्’, उनले भनिन्, ‘खै गरौँला त भन्छन्। गर्लान् जस्तो त लाग्दैन।’ नेताले धनीधनीका लागि मात्र गर्ने, गरिबका लागि कसैले नगर्ने उनको भनाइ छ।

    हेर्नुहोस् फोटा :

प्रकाश पार्की

प्रकाश पार्की थाहाखबरका डडेल्धुरा संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]