|

बाँके : शीतलहरले एक हप्तादेखि आजित भएका बाँकेवासीले आइतबार केही राहत महसुस गरेका छन्। 

दिउँसो केही बेर पारिलो घाम लागेपछि केही राहत मिलेको नेपालगंज उपमहानगरपालिका– १८, कारकाँदोका रमेशकुमार गुप्ताले बताए। आइतबार पनि चिसो हावा चले पनि पारिलो घाम लागेका कारण केही राहत मिलेको उनको भनाइ छ। 

शीतलहरका कारण एक सातादेखि नुहाउन नसकेका र लुगा धुन नपाएकाहरूले घाम लागेपछि धेरै दिनदेखि थुपारेर राखेको लुगा धोएका छन्। बाख्लो हुस्सुसँगै चलेको शीतलहरले एक सातादेखि घरभित्र बसेका सर्वसाधारण आइतबार दिउँसो घाम तापेर बसेको नेपालगंज उपमहानगरपालिका– १२ का अभिराज क्षेत्रीले बताए। उनले एक सातापछि घाम देख्न पाएकामा खुसी लागेको बताए। 

अत्यधिक चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले चिसोबाट सर्वसाधारणलाई जोगाउन स्थानीय तहलाई परिपत्र गरेपछि बाँकेका आठवटै स्थानीय तहले आगो ताप्ने व्यवस्था मिलाएका छन् भने विभिन्न संघसंस्थाले वृद्धावृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्। नेपालगंज उपमहानगरपालिकाले नगरका १५० स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको जनाएको छ। डुडुवा र जानकी गाउँपालिकाले पनि आगो ताप्ने व्यवस्था मिलाइएको जनाएका छन्। 

त्यसैगरी खजुरा गाउँपालिकाले ३० क्विन्टल दाउरा सर्वसाधारणका लागि वितरण गरेको छ। सर्वसाधारणको चाप हुने चोक र स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिए। उनले विभिन्न संघसंस्थाको सहयोगमा वृद्धवृद्धा र गरिवीको रेखामुनि रहेका बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको बताए। नेपाल रेडक्रस सोसाइटी बाँकेले वागेश्वरी मन्दिरमा रहेका असहाय र गरिव वृद्धवृद्धालाई कम्बल वितरण गरेको छ। खजुरा उपशाखाले असहाय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ। 

यसैबीच चिसोबाट जोगाउन नेपालगंज उपमहानगरपालिका–२२, पुरैनीका जेष्ठ नागरिकलाई आइतबार कम्बल वितरण गरिएको छ। एक सातादेखि जारी अत्यधिक चिसोबाट वृद्धवृद्धालाई जोगाउन युनिसेफको सहयोगमा नेपालगंज उपमहानगरपालिकाले वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो। 

लोपोन्मुख किंगरियन समुदायलाई लक्षित गरी वडा नं.– २२ का १२३ जना वृद्धवृद्धालाई कम्बल वितरण गरिएको नेपालगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेलले जानकारी दिए। पुरैनीको कार्यालयमै पुगेर उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापामगरले वृद्धवृद्धालाई कम्बल प्रदान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.