|

जाजरकोट : दुई सातादेखि जाजरकोटको जुनीचाँदेमा फैलिएको भाइरल  प्रभावित क्षेत्रमा औषधी सहित स्वास्थ्यकर्मीको टोली पुगेर उपचार थालेको छ। जिल्ला सदरमुकाम खलंगा र प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट गएका चिकित्सक सहितका स्वास्थ्यकर्मीको टोलीले स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहकार्यमा सवैभन्दा बढी प्रभावित मजकोटबाट उपचार थालेको हो। डा. पवन शाक्यको नेतृत्वको टोलीले शनिबारदेखि नै उपचार थालेको हो। भाइरलले जुनीचाँदेमा पाँच बालबालिका सहित नौ जनाको मृत्यु भएको थियो। 

भौगोलिक विकटताले गर्दा स्वास्थ्य संस्था टाढा भएको र जनचेतनाको अभावले गर्दा विरामीहरु स्वास्थ्य संस्था नआएपछि घरघरमै गएर उपचार गर्ने गरी ब्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका  प्रमुख रामबहादुर नेपालीले  बताए। 'एकै ठाउँमा भिडभाड बढ्ने भएकोले पायक पर्ने स्थानमा उपचार गर्ने गरि टोली परिचालन गरेका छौं, औषधी झोलामै बोकेर जान भनेका छौं' नेपालीले भने।

शनिबार र आइतबार डा. शाक्यले स्थानीय भैरव मावि मजकोटको प्राङ्गणमा उपचार गरेका छन्। गाउँमा डाक्टर आएको थाहा पाएपछि अन्य रोगका बिरामी पनि उपचारको लागि आएको डा. शाक्यले बताए। हालसम्म ५ सय बढी बिरामीको उपचार गरिएको र अझै ६ सय बिरामी रहेको उनले बताए। जुनीचाँदेका १, २ र ३ नम्बर वडाका जुनीचाँदे, मजकोट, बड्कुले, मौगाना, डाँडाकोट लगायतका गाउँमा धेरै बिरामी छन्। सबैभन्दा धेरै मजकोटमा छन्।

जुनीचाँदेमा करिब पाँच सय बढी विरामी भाइरलका बिरामी रहेको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए। ‘प्रभावित क्षेत्रमा तत्काल भरपर्दो उपचारको व्यवस्था मिलाई रोग नियन्त्रणमा लिन सम्बन्धित निकायसँग पहल गरिरहेको छु’ उनले भने।

जिल्ला स्वास्थ्य प्रमुख भने शनिबार नै प्रभावित क्षेत्रमा प्रयाप्त औषधी पुगिसकेको दावी गर्छन्। उनले भाइरलकै कारण पाँच जनाको मात्र मृत्यु भएको दाबी गरेका छन्। 'अन्य दीर्घरोगी र उमेर पुगिसकेका वृद्धको ज्यान गएको हो, भाइरलले ५ जनाको मात्र मृत्यु भएको जानकारी पाएका छौं जिल्ला स्वास्थ्य प्रमुख नेपालीले भने। मृत्यु भएका भनिएका नौ जनाकै घरमा पुगेर मृत्युको कारण बुझ्न महामारी फोकल ब्यक्ति कृष्णबहादुर खत्रीलाई खटाइएको र केही दिनमै बास्तविकता पत्ता लाग्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.