|

विराटनगर : एउटै केन्द्रमा सयौंको लाइन। के महिला, के बुढाबुढी, के युवा के असक्त सबै भोट हाल्ने लाइनमा तम्तयार छन्। कोही भोट हाल्दैछन् त कोही परिचयपत्र लिँदैछन्।

मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलो बयरवनमा रहेको रमाइलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं साधरणसभामा संसदीय निर्वाचनकै झझल्को दिने चुनावी रौनक देखियो। संस्थाका ४ हजार २ सय २ जना साधारण सदस्यमध्ये ३ हजार २ सय ९१ जनाले मतदान गरे।

मतदानको तौर तरिका, सुरक्षाको व्यवस्थादेखि उम्मेदवारको प्रचार र लबिङ पनि संसदीय निर्वाचन वा स्थानीय तहको निर्वाचनको भन्दा कम थिएन। सम्बन्धित उम्मेदवारका प्रतिनिधिहरु मतदाता फकाउन व्यस्त थिए। ‘सहकारीको निर्वाचन हुनुभन्दा १/२ दिन अघिदेखि स्थानीय वा संसदीय निर्वाचनमा जस्तो भोजभतेर भयो,’ उक्त सहकारीका सदस्य भेषराज आचार्यले भने, ‘उम्मेदवारले घरघरमा पुगेर भोट मागे, सहकारीको विकासका लागि यस्तो गर्छु, उस्तो गर्छु भनेर मनग्ये आश्वासन बाँडे।’

रमाइलो सहकारीका यसअघिका अध्यक्ष ताराबहादुर काफ्ले हुन्। काफ्ले हाल कानेपोखरी गाउँपालिकाका अध्यक्ष हुन्। ‘मैले चाहिँ भोजभतेर गरिन, अरुले के गरे,’ काफ्लेले भने, ‘यहाँको जनताको उत्साह देख्दा रमाइलो लाग्छ।' सहकारीमा तीन वर्षे कार्यकाल बिताएका काफ्लेले सहकारीको निर्वाचनले नै यहाँको जनमत कता छ भन्ने कुरा प्रष्ट पार्ने बताए।

मोरङको कानेपोखरीमा रहेको जिल्लाकै ठूलोमध्येमा पर्ने उक्त सहकारीको १५ सदस्य  चयनका लागि २४ जनाले प्रतिस्पर्धा गरेका थिए। एक हिसाबले भन्ने हो भने संस्थामा पार्टीगत लबिङले सबैलाई जागरुक गराएको थियो। अन्य सहकारीमा भने सदस्यलाई साधारणसभामा सहभागी गराउन अनेक उपाय लगाउनुपर्छ, तर रमाइलो सहकारीमा सदस्यहरु निक्कै तामझामका साथ उपस्थित भएका थिए।

मोरङको कानेपोखरी गाउँपालिका, हालको बेलबारीको वडा नम्बर ६, ७, ८ र हाल रंगेली नगरपालिकाको ३, ८ र ९ नम्बर वडालाई कार्यक्षेत्र बनाएको सहकारीको २४ करोड २१ हजार ८ सय १९ रुपैयाँ कुल पूँजी तथा दायित्व रहेको सहकारीको शेयर पूँजीमात्रै ३ करोड ३८ लाख ४० हजार ९ सय रुपैयाँ रहेको छ।

वर्षभरीमा १ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको सहकारीले १ करोड ५ लाख ६६ हजार ९ सय ८ रुपैयाँ सञ्चालन बचत (मुनाफा) गरेको सहकारीका अध्यक्ष ताराबहादुर काफ्लेले जानकारी दिए।

सहकारीले आफ्नो कार्यक्षेत्रमा व्यापार, कृषि, वैदेशिक रोजगार, अध्ययन, पशुपालन, घर निर्माण, उपचार, गोबरग्यास, इलेक्ट्रोनिक्स सामान, घरेलु व्यवसाय, सवारी साधन खरिद, युवा स्वरोजगार ऋण, जग्गा खरिद बिक्री तथा आकस्मीक ऋण प्रवाह गर्दै आएको छ। 

काफ्लेका अनुसार नयाँ निर्वाचनबाट अध्यक्षमा यसअघिको कार्यसमितिका कोषाध्यक्ष तथा स्थानीय शिक्षक टंकबहादुर अधिकारी १ हजार ८ सय ७५ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी मनकुमार गुरुङले १ हजार ८९ मत प्राप्त गरेका थिए। निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.