|
जिल्लाको खबाङमा ६ वर्ष अघिदेखिको निर्माणाधीन स्वास्थ्य चौकी भवन।

शशिधर भण्डारी-

    प्युठान : जिल्लामा विकास योजनाहरु पुगेका भएता पनि  खबाङबासीको समास्या जहाँको त्यहीँ छन्। यहाँका स्थानीयलाई स्वास्थ्य संस्था पुग्न कच्ची सडक हुँदै दिनभरी हिँड्नुपर्ने बाध्यता छ। जटिल खालका बिरामीको उपचार गराउन नपाउँदै ज्यान जाने गरेको यथार्थता छँदै छ। सामान्य उपचारका लागि पाउनपर्ने स्वास्थ्य चौकीको सुविधासमेत पाएका छैनन् खबाङवासीले।

    गाउँमा स्वास्थ्य सेवा गुणस्तर होला भनेर सोचेका यहाँका स्थानीयको सपना ६ वर्षदेखि स्वास्थ्य चौकी भवन नबन्दा अझै अन्योलमा छ। ‘गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा दिइयो।’ स्थानीय छविलाल सिरिसमगरले भने। ‘जिम्मा लिइएका ठेकेदार मन्त्री बनी सके, हाम्रो स्वास्थ्य चौकी भवन बन्न सकेन।’

    भवन अभावमा साँघुरो ठाउँबाट स्वास्थ्य सेवा पाउँदै आएका स्थानीयहरुलाई पर्याप्त भौतिक संरचनासहित गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा अधुरै भएको छ। ‘गाउँमा स्वास्थ्य चौकीको राम्रो भवन निर्माण हुन लागेपछि निकै खुसी लागेको थियो’ स्थानीय हर्क पुनले भने ‘वर्ष बितिसक्दा पनि भवन नबनाइदिएर जनतालाई निराश पार्नुभयो।’

    यातायात, शिक्षा सञ्चार, विद्युत् लगायतमा समस्या रहेको खवाङलाई स्वास्थ्य क्षेत्रको विकासका लागि ठेकेदार र सरकारी कार्यालयले समेत हेलचेक्रयाइँ गरेको हर्क पुनको गुनासो छ।

    भवन निर्माणको काम रोकिएपछि निर्माण गरिएको भौतिक संरचनासमेत जीर्ण बनेको छ। निर्माणमा संलग्न मजदुरले ज्यालासमेत नपाएको गुनासो गरेका छन्। ‘भवन पनि बनेन हाम्रो १५ लाखभन्दा बढी ज्याला पनि मिलेन’ स्थानीय यामलाल गिरीले भने।

    ठेकेदार मन्त्री भइसके भवन निर्माण अलपत्र

    ०६८ साल असारमा सहरी विकास तथा भवन डिभिजन कार्यालय रोेल्पामार्फत नेपाल प्रगति÷राप्ती÷उच्च हिमालय जेभीले भवन निर्माणको जिम्मामा पाएको थियो। जिम्मा पाएको कम्पनी सञ्चालकमध्येका ठेकेदार अमरसिंह पुनमगर रोल्पा जिल्लाबाट ०७० सालमा समानुपातिक सांसद बने, उनै ठेकेदार हालका सिँचाइ राज्यमन्त्रीसमेत छन्।

    ठेकेदार हुँदाहुँदै सांसद भए पनि मन्त्रीमा पुग्दासम्म स्वास्थ्य चौकी भवन अलपत्र पारिदिएर जनताको स्वास्थ्यसँग खेलवाड गर्न खाजेको स्थानीयहरुको आरोप छ। भवन अभावकै कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ।

    जिम्मेवारी पाएको डेढ वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भए पनि सम्पन्न गर्ने मितिले साढे ३ वर्ष नाघिसक्दा पनि निर्माण सम्पन्न भएको छैन। दुई तलाको १६ कोठा भवनका लागि भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा दिइएको थियो।

    निर्माणको पक्रियामा छः भवन डिभिजन

    भवन निर्माण डिभिजन कार्यालय रोल्पाका प्रमुख ईश्वर जोसीका अनुसार निर्माण जिम्मा पाएको कम्पनीले समयमै पूरा नगरेपछि उक्त कम्पनीलाई कालोसूचीमा राखी नयाँ पक्रियामा रहेको बताए।

    ‘निर्माण व्यवसायीलाई लिखित र मौखिक सूचना गरिरहँदा पनि काम अघि बढेन’ प्रमुख जोसीले भने ‘बैंक ग्यारेन्टी गरिएको ९ लाख ९ हजार रुपैयाँसमेत जफत गरिएको छ, कार्यसम्पादन बैंक ग्यारेन्टी बापतको ४ लाख ४१ हजारका रुपैयाँसमेत जफतका लागि सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।

    ठेक्का तोडिएपश्चात अब नयाँ टेन्डर पक्रियामा जाने भवन डिभिजन प्रमुख ईश्वर जोसीले बताए। ‘नयाँ निर्माण कम्पनीलाई जिम्माका लागि सरकारी सम्पत्ति हानि नोक्सानी प्रतिवेदन सम्बन्धित विभागमा पठाइएको छ’ जोसीले भने, ‘यो लामो पक्रिया पूरा गर्नुपर्ने भएकाले अझै केही समय लाग्ने देखिन्छ।’

    भवनको करिब ६५ प्रतिशत निर्माण सकिएको भवन डिभिजन कार्यालयले जनाएको छ। लेखा अधिकृत दसौदीका अनुसार हालसम्म ठेकेदार पुनले ०६९ फागुनसम्म ५३ लाख ५२ हजार नौ सय ८० रुपैयाँ भुक्तानी लिइसकेका छन्।

    सम्झौताबापत २४ लाख ३५ हजार सात सय १४ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। स्वास्थ्य चौकी भवन निर्माणको लागि भवन निर्माण डिभिजन कार्यालयले सकेसम्म सिघ्र नयाँ निर्माण कम्पनीलाई जिम्मा दिई कार्यसम्पन्न गराउने प्रमुख जोसीको भनाइ छ।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.