|

इलाम : चिया उत्पादन सुरु भएको १३९ वर्षपछि नेपाली चियाले आफ्नै लोगो पाएको छ। चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संस्था र चिया विज्ञहरुको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लागो पाएको हो। हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दि हिमालय’ लेखिएको लागो नेपाली चियाले पाएको हो।

यसअघि नेपाली अर्थोडक्स चिया कि दार्जिलिङ टीको लोगो लागेर त कि लोगोबिनै नै अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको थियो। कृषि विकास मन्त्रालयले हिमालय टी प्रोड्युसर्स एशोसिएसन (होड्पा) र चिया तथा कफी विकास बोर्डको सहयोगमा लोगो र लोगो कार्यान्वयन निर्देशिका तयार गरेर कार्यान्वयनमा ल्याएको हो। तर लोगो प्रयोग गर्नु र यसलाई स्थापित गर्नु निक्कै चुनौती रहेको लोगो तथा निर्देशिका निर्माणमा संलग्न चिया विज्ञ चन्द्रभूषण सुब्बा बताउँछन्।

लोगो कार्यान्वयनका लागि मन्त्रालयले नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका २०७४ जारी गरेको छ। निर्देशिकाले लोगो प्रयोग गर्नका लागि पूर्ण रुपमा अर्गानिक चिया उत्पादन हुनुपर्ने प्रावधानसँगै केही निश्चित मापदण्डहरु तोकेको छ।

लोगो प्रयोग गर्न चाहने चिया उत्पादकले निवेदन दिएपछि लोगो प्रयोगको प्रक्रिया अघि बढ्ने निर्देशिकामा उल्लेख छ। चियाको गुणस्तरदेखि कामदारको रोजगारको सुरक्षा र वातावरण संरक्षणसम्मको मापदण्ड पूरा गरेकाले मात्र लोगोको प्रयोग गर्न सक्छन्।

लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउनका लागि अर्गानिक र गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने चियाविद सुब्बा बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा लोगो स्थापित भएमा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने र त्यसको लाभ किसानले पनि पाउने भएकाले सबैले लोगो कार्यान्वयनमा इमान्दार भएर लाग्नुपर्ने उनले बताए।

अहिले नेपालमा उत्पादित १० प्रतिशत अर्थोडक्स चियाले मात्र तेस्रो मुलुकमा राम्रो मूल्य पाउने गरेका छन्। बाँकी ८० प्रतिशतभन्दा बढी अर्थोडक्स चिया भारतीय बजारमा कम मूल्यमा बिक्री हुँदै आएको छ। लोगो स्थापित भएमा नेपालमा उत्पादित सबै अर्थोडक्स चियाले तेस्रो मुलुकमा सहजै बजार पाउने सुब्बाले बताए। लोगोलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न उद्घाटन कार्यक्रम सगरमाथाको बेसक्याम्पमा गरिने भएको छ।

विश्वका ठूला क्रेता र विश्वका पत्रकारहरुलाई हेलिकोप्टरमार्फत सगरमाथाको बेस क्याम्प पुर्‍याएर आउँदो अप्रिलमा लोगो उद्घाटन गर्ने तयारी रहेको चियाका विज्ञ तथा हिमालय टी प्रोड्युसर्स एशोसिएसन (होड्पा) का प्रमुख कार्यकारी अधिकृत सुब्बाले बताए। अप्रिल ६ देखि तीनदिन काठमाडौंमा चिया सम्मेलन पनि गरिने भएको छ। लोगो कार्यान्वयनमा उत्पादकदेखि किसानसम्म सकारात्मक हुनुपर्ने भएकाले अहिले अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ र होड्पाले किसान तहमा छलफल गरिरहेको छ।

इलाम, पाँचथर, धनकुटा तेह्रथुममा चिया किसान र उत्पादकहरुसँग लोगो प्रयोग र यसले उत्पादक र किसानहरुलाई हुने फाइदाको विषयमा जानकारी दिइँदैछ। चिया उत्पादक र किसान सकारात्मक भएमा मात्र लोगो कार्यान्वयनमा आउने भन्दै होड्पाले यो अभियान चलाएको हो। इलामबाट वि. सं १९२० चिया खेती सुरु भएको हो भने १९३५ मा कारखाना स्थापना गरेर चियाको उत्पादन सुरु भएको थियो। तर, अहिलेसम्म नेपाली चियाले आफ्नो पहिचान पाउन सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.