|

भक्तपुर : भक्तपुर साहित्यिक समाजले तीन स्रष्टालाई सम्मान गरेको छ। समाजको १९औँ वर्षगाँठको अवसरमा सोमबार आयोजित कार्यक्रममा नाटककार गणेशराम लाछी, गीतकार सुवासचन्द्र ढुंगेल र गायिका रमना श्रेष्ठलाई सम्मान गरेको हो।

समाजले नाटककार लाछीलाई भक्तपुर कला संस्कृति सम्मान, गीतकार ढुंगेललाई भक्तपुर भाषा, साहित्य सम्मान र गायिका श्रेष्ठलाई भक्तपुर गीत संगीत सम्मान, २०७४ ले सम्मान गरेको हो।

सम्मानित स्रष्टाहरूमध्ये नाटककार लाछी मध्यपुर थिमी चपाचो टोलका स्थायीवासी हुन्। उनका ‘विश्वास’, ‘बलिदान’, ‘संकल्प’, ‘अगिंमय’, ‘इतिहास हिः चः तिया’, ‘छात्रवृत्ति’लगायतका कृतिहरू प्रकाशित छन्। लाछी नेपाली तथा नेपाल भाषा, साहित्य, कला, संस्कृति संरक्षणमा विगत पाँच दशकदेखि सक्रिय छन्। उनले भारतको सिक्किम राज्यका नेवार समुदायमाझ नेपाल भाषा, संस्कृति, नाचगान, वाद्यवादन, खानपान जस्ता नेवारहरूका अमूर्त साँस्कृतिक सम्पदाहरूका बारेमा प्रशिक्षण दिने कार्यसमेत गर्दै आएका छन्।

त्यस्तै, सूर्यविनायक नगरपालिकाको कटुञ्जे निवासी गीतकार ढुंगेल हाल विश्वविद्यालय अनुदान आयोगमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। अरुण थापाले गाएको उनको ‘चोट के हो, व्यथा के हो?’ बोलको गीत निकै चर्चित रह्यो। उनका हालसम्म ‘चोट के हो, व्यथा के हो?’ र ‘सुवास’ गीति एल्बम, ‘भाँचिएको मन’ गीत र गजलसंग्रह, ‘आनन्दै आनन्द’ भजनसंग्रह, ‘मनविना बाँच्न पाए’ गीतसंग्रह र ‘अक्षरका गोलीहरू’ मुक्तकसंग्रह प्रकाशित छन्।

धरान निवासी गायिका श्रेष्ठले विशेषगरी बुद्धसम्बन्धी भजन गाएकी छन्। उनका १४ वटा गीतिसंग्रह प्रकाशित छन् भने उनले वि. सं. २०५३ देखि २०५७ सालसम्मका नेपाली चलचित्रहरू ‘निरमाया’, ‘अल्लारे’, ‘गाउँले’, ‘सुकुम्वासी’लगायतमा स्वर दिएकी छन्।

सम्मानित स्रष्टात्रयलाई नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ मातृका पोखरेलले दोसल्ला र भादगाउँले टोपीले सम्मान गर्दै ताम्रपत्र प्रदान गरेका थिए। उक्त अवसरमा उनले साहित्यमा मूल्यहीनता बढेको प्रति चिन्ता व्यक्त गरे। उनले भक्तपुरको साहित्य उत्थानमा भक्तपुर साहित्यिक समाजले खेलेको भूमिका उल्लेखनीय भएको चर्चा गर्दै सम्मान गर्नलायक व्यक्तित्वहरूलाई समाजले सम्मान गरेकामा आफूलाई गर्व लागेको बताए।

कार्यक्रममा भक्तपुर विकास सहयोग संघका पदाधिकारी एवं स्रष्टा कृष्णलाल प्रधान, संस्कृतिकर्मी तेजेश्वरबाबु ग्वंग, समाजका काशीराम विरस, वसन्त नकर्मी, पुरुषोत्तम प्रजापति र राजुराम मुनकर्मीले भक्तपुरको साहित्यिक गतिविधिबारे चर्चा गर्दै भक्तपुरलाई साहित्यको उर्वर क्षेत्र बनाउनुपर्नेमा जोड दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.