|
झापामा रहेका भुटानी शरणार्थीहरू

दमक (झापा) : स्वदेश फिर्तीको माग गर्दै भुटान राष्ट्रिय मेलमिलाप समितिले प्रवासी भुटानी शरणार्थीको तर्फबाट भुटानी राजालाई ज्ञापनपत्र पठाएको छ। 

झापा र मोरङमा झण्डै तीन दशकदेखि रहेका भुटानी शरणार्थीहरूले आफ्ना नागरिकलाई स्वदेश फिर्तीको वातावरण बनाइदिन भन्दै पत्र पठाएका हुन्। सन् १९९० देखि सुरु भएको भुटानी शरणार्थीहरूको समस्याले अब पनि समाधानको मार्ग नखोजे भुटानको अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै तत्काल लामो समयदेखि स्वदेश फर्कन्छु भनेर बसेका शरणार्थीहरूलाई देश फर्काउन माग गरिएको समितिका अध्यक्ष कृष्णवीर तामाङले बताए।

ईमेल र हवाई कुरियरको माध्यमबाट भुटानी राजा जिग्मेकेशर वाङ्चुकलाई पत्र पठाइएको हो। सोही पत्र प्रधानमन्त्री छिरिङ तोब्गेलाई पनि बोधार्थ पठाइएको बताइएको छ। 

लामो समयदेखि भुटान फर्कन चाहने शरणार्थीहरू वास्तविक भुटानी भएकाले अब पनि उनीहरुको समस्या सुनवाइ नगरे नेपालमा भुटानी शरणार्थीको अवस्था तिब्बती शरणार्थीको जस्तो हुने पत्रमा उल्लेख छ। पत्रमा नेपालमा भुटानी शरणार्थीको बसोवास पूर्वाधार स्थायी बनाउने तयारी गरिएकाले भारतमा तिब्बती शरणार्थी केन्द्र जस्तै पर्यटकीय क्षेत्र बन्ने बताइएको छ।

भुटानी शरणार्थीलाई पनि पर्यटकको आकर्षण बनाउन खोजिएकाले यसले भुटानलाई नराम्रो असर पार्ने हुँदा भुटान सरकारलाई तत्काल आवश्यक कदम चाल्न पत्रमा आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.