|

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताको पक्षमा एक सय प्रतिशत दृढ रहेको उल्लेख गर्दै आशंका नगर्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन्। 

नेताहरुबाट एकता प्रक्रियाबाट माओवादी टाढिने आशंका भइरहँदा अध्यक्ष ओलीले प्रचण्डसँग आफ्नो लामो छलफल भइरहेको र एकताको विषय सकारात्मक दिशामा अघि बढिरहेको प्रष्ट पारेका हुन्। आइतबार साँझमात्र प्रचण्डसँग करिब एङ्क घण्टा कुरा गरेका उनले सोमबार दिउँसो पार्टी स्थायी समिति बैठकमा पछिल्लो छलफलबारे ब्रिफिङ गरे। 

बैठकमा ओलीले एकताको विषयमा सार्वजनिक रुपमा पोजिसन बनाउने गरी नबोल्न नेताहरुलाई निर्देशनसमेत दिए। एकताका विकल्पहरुबारे नेताहरुले सार्वजनिक रुपमा बोल्ने गरेका थिए। एकताको विषयमा छलफल र निर्णय गर्न पार्टी एकता संयोजन समिति बनाइएको उल्लेख गर्दै ओलीले त्यहीँबाट सम्बन्धित काम अघि बढाउने बताए। ओलीको निर्देशनपछि एमाले बैठकले यससम्बन्धी प्रस्ताव नै पारित गरेको छ। 

'एकीकरणका सम्बन्धमा सार्वजनिक रुपमा कुनै पोजिसन, अडान या सर्त तेर्स्याउने कुराले एकता प्रक्रियालाई नसघाउने बरु उल्टै जटिल बनाउने हुनाले यसो नगर्न संवद्ध सबैको ध्यानाकर्षण गरिन्छ' एमाले बैठकको निर्णमा भनिएको छ 'त्यसरी नै एकीकरणलाई असहज तुल्याउने गरी सार्वजनिक सञ्चार माध्यमबाट नीति नेतृत्व र एकताका अन्य पक्षका बारेमा आफ्ना निजी धारणाहरु चर्चामा नल्याउन पनि आम पार्टीपंक्तिलाई निर्देशिन गरिन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.