|

धनकुटा : धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटाबासीले ६ दिनदेखि आह्वान गरेको अनिश्चितकालीन बन्द सोमबार साँझदेखि खुलेको छ। 

गएको बुधबारदेखिको बन्दले अलपत्र परेका लामो तथा छोटो दूरीका सवारीसाधन बन्द खुल्नासाथ गन्तब्यमा लागेका छन् भने एक सातादेखि बन्द भएका बजार पसल खुलेका छन्। यातायात र बजार खुलेसँगै धनकुटाको जनजीवन सहज बन्दै गएको छ।

सरकारले तत्काल प्रादेशिक राजधानी नतोक्ने देखिएपछि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै आन्दोलनलाई सामान्यकरण गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए।

आन्दोलन परिचालन समितिको बैठकले तत्कालका लागि बन्द स्थगन गर्ने र मंगलबार र बुधबार दिउँसो १२ देखि १ बजेसम्म धनकुटाको जिरो प्वाइन्टमा र हिलेबजारमा १ घण्टा चक्काजाम गर्ने, आइतबार मन्त्रालयको बोर्ड राखिएका कार्यालयमा सरकारी झण्डा गाड्ने निर्णय गरेको छ। त्यस्तै बुधबार बेलुका मशाल जुलुस र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने भएकाले सो दिन धनकुटामा आमहड्ताल गर्ने निर्णय आन्दोलन परिचालन समितिले जनाएको छ।

धनकुटालाई प्रादेशिक राजधानीको माग गर्दै विगत २५ दिनयता धनकुटामा निरन्तर प्रदर्शन भइरहेको छ। सरकारले विराटनगरलाई प्रादेशिक राजधानी तोक्ने गरी खाका तयार गरेको समाचार सार्वजनिक भएपछि धनकुटाबासीले आमहड्ताल आवहन गरेका थिए। सरकारले माग सम्बोधनमा चासो देखाए आन्दोलन फिर्ता हुने र माग सम्बोधनमा ध्यान नदिए आन्दोलन अझै चर्किने आन्दोलन परिचालन समितिका संयोजक श्रेष्ठले बताए।

राणाकालमा प्रशासनिक गौंडा हुँदै पछि आएर पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार, प्रदेशको केन्द्र भाग, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यवस्था, सामर्थ्य, पहिचान रहेको धनकुटालाई छोडेर अन्यत्र प्रादेशिक राजधानी नस्वीकार्ने अडान राख्दै आएका जिल्लाबासीले धनकुटालाई प्रादेशिक राजधानी घोषणाका लागि जस्तोसुकै मुल्य चुकाउँन पनि पछि नपर्ने चेतावनी दिदै आएका छन्।

प्रादेशिक राजधानी घोषणाका लागि पटकपटक दबाब दिदै आएका धनकुटाबासीले करिब एक महिना यता निरन्तर आन्दोलन गरेर प्रादेशिक राजधानी घोषणाको माग गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.