|

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीलाई पक्राउ गरेको विरोधमा मंगलबार बिहानै काठमाडौंमा प्रदर्शन गरिएको छ। माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, नेपाली कांग्रेसका नेता गगन थापा लगायतका नेताहरू पनि सहभागी भए। 

माइतीघर मण्डलामा उपस्थित नागरिक समाजका प्रवुद्ध व्यक्ति र सर्वसाधारणले केसी पक्राउको विरोध गर्दै नाराबाजी गरे। 

पक्राउबारे कसले के भने ?

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले डा. केसीलाई पक्राउ गर्नुको पछाडि ठूलो षड्यन्त्र भएको बताए। उनले केसी जस्ता सामाजिक अभियन्तालाई यसरी पक्राउ गर्नु नहुने र केसीको मागलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने बताए।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ठूला राजनीतिक दलले न्यायालयमा राजनीति गर्दाको परिणामस्वरुप यस घटना भएको भन्दै यस्तो प्रवृत्तिको आफूहरुले विरोध गरिराख्ने बताए। केसीले न्यायालयमाथि लगाएको आरोपको छानबिन हुनुपर्ने उनको माग छ। 

नेपाली कांग्रेसका नेता गगन थापाले राजाको शासनकालमा जस्तो तरिकाले केसीलाई पक्राउ गरेको भन्दै केसीलाई अदालतको मानहानी मुद्दा लागाइन्छ भने आफूलाई पनि लगाउन चुनौती दिए। 

अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतको आदेशमा प्रहरीले सोमबार डा. केसीलाई त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो। सर्वोच्च अदालतले आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा. शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसी त्यस आदेशको विरोधमा सोमबारदेखि अनशन बसेका थिए।

उनले प्रधानन्यायाधीश भ्रष्ट रहेको लगायतका आरोप लगाएपछि सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै मंगलबार ९ बजे अदालत पेस गर्न आदेश दिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.