|
कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने मोदीखोलाको निर्माणाधीन पुल।

पर्वत : भौतिक संरचना निर्माणमा प्रयोग गरिने क्रसर उद्योगहरुबाट उत्पादित सामग्रीहरुको अभाव भएपछि कास्की, पर्वत बागलुङमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको काम प्रभावित भएको छ। नदीजन्य पदार्थको उत्खनन नहुँदा आयोजनाहरुका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा, कंक्रिट लगायतका सामग्रीहरु अपुग भएका कारण द्रुत गतिमा निर्माणाधीन आयोजनाहरुमा असर परेको हो।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा कार्यरत इन्जिनियर अनिल सिलवालका अनुसार क्रसर उद्योगबाट आयोजनाका लागि खरिद गरिने सामग्री अभावका साथै सिमेन्ट, रड लगायतका सामग्रीमा चरम मूल्य वृद्धि भएका कारण आयोजनाहरुमा ठूलो असर परेको छ। सरकारले चुरे क्षेत्रको संरक्षणको लागि भन्दै नदीजन्य पदार्थको उत्खननमा स्काभेटरको प्रयोग नगरी मानिसले नै निकाल्नुपर्ने प्रावधान राखेको छ।

 तर, यसरी कामदार लगाएर सबै आयोजनाका लागि आवश्यक कच्चा पदार्थ पूरा गर्न नसकिने क्रसर व्यवसायीहरुको गुनासो छ। श्री दक्षिणामकाली क्रसर उद्योग, पर्वतका प्रबन्ध निर्देशक विप्लव हमालका अनुसार आयोजनाबाहेक जिल्लामा निर्माणाधीन सरकारीदेखि निजी भवन निर्माणमा पनि सामग्री पुर्‍याउन सकिएको छैन। यदि वातावरणीय रुपमा गलत प्रभाव नपर्ने गरी उत्खनन गर्ने व्यवस्था भएमा निर्माण सामग्री पुर्‍याउन सहज बनाउन सकिन्छ।

उनले भने, ‘वर्षा याममा नदीबाट उत्खनन गरेको सामग्री विक्री भइसकेको र हिउँदमा पानीको सतह घटेपछि स्काभेटर प्रयोग गरेर निकाल्न नसकिएका कारण यस्तो समस्या आएको छ।’ यस्तै, इन्जिनियर सिलवाल भन्छन्, ‘चुरे र पहाडी क्षेत्रको लागि एउटै मापदण्ड बनाएर कसरी काम गर्न सकिन्छ? त्यसमाथि मूल्य वृद्धि अनि दोहोरो तेहेरो करले काम गर्नै नसकिने अवस्था सिर्जना हुन लागेको छ।’

सामग्री अभावका कारण तीब्बत र भारतलाई जोड्ने कालीगण्डकी करिडोर, मध्य पहाडी लोकमार्ग, राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको कालीगण्डकी प्रसारण करिडोर, मध्य मोदी जलविद्युत्, तल्लो मोदी जलविद्युत्, राहुघाट जलविद्युत् लगायतका थुप्रै आयोजनामा समस्या उत्पन्न भएको आयोजना प्रमुख तथा इन्जिनियरहरुको भनाइ छ।

सामग्रीकै अभावमा यस क्षेत्रमा सञ्चालित आयोजनामा समस्या भएको भन्दै उक्त आयोजनाहरुले सम्बन्धित निकायमा कच्चा पदार्थको व्यवस्थापनको लागि आवश्यक सहयोग गरिदिन भन्दै निवेदनसमेत पेस गरेका छन्। कालीगण्डकी करिडोरमा मोटरेबल पुल निर्माण गरिरहेको मुक्तिनाथ निर्माण सेवाका प्रोपाइटर ओम गौचन भन्छन्, ‘पुल ढलानका लागि बालुवा र गिट्टी नपाएपछि सोचेअनुसार काम गर्न नै सकिएको छैन।

अब पुलको काम कसरी गर्ने? भन्नेमा नै अन्योल भएको छ।’ निर्माणको अन्तिम चरणमा रहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाका अनुसार सामग्रीकै अभावमा सुरुङ निर्माण कार्य प्रभावित बनेको छ।

यता, जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर पौडेलले कतिपय कानुनी अड्चनका कारण नै यस्तो समस्या आएको बताएका छन्। एक हप्ता भित्रमा सामान अभाव हुन नदिन आवश्यक प्रक्रिया पूरा गरिने बताउँदै उनले भने, ‘हामीलाई धेरै गुनासो आएको छ। चुरे क्षेत्र संरक्षणको कानुनको प्रभाव यहाँ पनि परेको हो।

एक हप्ता भित्रमा हामीले केही न केही निर्णय गरेर सामग्रीको अभावलाई टार्ने योजनाको तयारी भइरहेको छ। नदीमा इन्जिनियर राखेर प्रत्यक्ष निगरानीमा कच्चा पदार्थ निकाल्ने हो भने प्रकृतिमा असर पनि हुने छैन, अभाव पनि टर्नेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.